७ वैशाख २०८१ शुक्रबार
अर्थ

दसैंमा उक्लिएको सेयर बजार तिहारमा ओर्लियो

काठमाडौं- दसैंअघि माथि उक्लिएको सेयर बजार तिहारमा तल ओर्लिएको छ। दसैं बिदा सुरु हुने अघिल्लो दिनभन्दा सेयर बजार मापक नेप्से ६६ बिन्दुले ओर्र्लिएको छ। दसैंअघि निरन्तर उकालो लागेको नेप्सेमा दसैंपछि निरन्तर गिरावट आएको छ। दसैंअघिको अन्तिम कारोबारका दिन नेप्से १८१९.८८ बिन्दुमा पुगेको थियो। तर, तिहारको बिदा हुनुभन्दा दुई दिनअघि नेप्से परिसूचक ६६.४२ बिन्दुले ओर्लिएर १७५३.४६ अंकमा आइपुगेको छ।

दसैंमा सेयर बजारले लगानीकर्तालाई सुखद उपहार दिएको थियो। तर, तिहारमा सुखद अनुभूति गराउने छाँट देखाएको छैन। नेप्सेमा भारी गिरावट आएपछि लगानीकर्ता निराश देखिएका हुन्।

दसैंअघिको अन्तिम दिन भएको कारोबारभन्दा तिहार बिदा हुनुभन्दा एक दिनअघि भएको कारोबारमा करिब २० करोड रुपैयाँले कमी आएको छ। बुधबार करिब ८२ करोड रुपैयाँको मात्र सेयर कारोबार भयो।

दसैंअघि सेयर बजार बढ्दा लगानीकर्तामा खुसियाली छाएको थियो। दसैंअघिको अन्तिम कारोबारमा नेप्से १३ बिन्दुले उकालो लागेको थियो। दसैंअघि लगानीकर्तामा तुलनात्मक रुपमा किन्ने प्रवृत्ति देखिएको थियो। दसैं मनाएर बजार फर्केका लगानीकर्ता सेयर बेचेरै बस्ने मुडमा देखिएका छन्।

दसैंपछि खुलेको सेयर बजारका सबै सूचक ओरालो लागेपछि लगानीकर्तामा उत्साह हरायो। कारोबार रकमले समेत लगानीकर्तालाई खुसी तुल्याउन सकेन।

दसैंअघिको अन्तिम दिन १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो। दसैंपछि खुलेको सेयर बजारमा कारोबार रकममा पनि कमी आएको छ।

दसैंअघिको अन्तिम दिन भएको कारोबारभन्दा तिहार बिदा हुनुभन्दा एक दिनअघि भएको कारोबारमा करिब २० करोड रुपैयाँले कमी आएको छ। बुधबार करिब ८२ करोड रुपैयाँको मात्र सेयर कारोबार भयो।

बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज बढाएका र कर्जाको ब्याज पनि बढेकाले सेयर बजार प्रभावित भएको विश्लेषकको भनाइ छ। तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले सेयर बजारतर्फ आइरहेको कर्जालाई कसिलो बनाउन थालेकाले पनि सेयर बजारमा गिरावट आएको उनीहरुको तर्क छ।

साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से घटेर १७५३.४६ मा आइपुगेेको छ।  करिब तीन महिना अवधिमा नेप्सेमा १२८ बिन्दुले गिरावट आएको छ।

असोज सुरु भएपछि दैनिक घट्न थालेको बजारको गिरावट अब कुन बिन्दुमा पुगेर रोकिएला? यसको उत्तर लगानीकर्ता र विश्लेषकले समेत दिइरहेका छैनन्।

नयाँ रेकर्ड बनाउँदै अघि बढेको सेयर बजार मापक नेप्से घट्दै जानुलाई लगानीकर्ताहरु 'करेक्सन' भएको भन्छन्।

तिहार खर्च, हकप्रद भर्ने रकम, नाफा सुरक्षित गर्ने प्रवृत्ति, बजारमा थपिँदो सेयर संख्या लगायत कारणले बिक्रीमा चाप पर्दा नेप्से र कारोबार रकम केही दिनयता लगातार घटिरहेको छ। कात्तिकको पहिलो साता सेयर किनबेचमा लगानीकर्ताको खासै उत्साह नदेखिनुमा मनोविज्ञानले पनि काम गरेको हुन सक्ने आँकलन गरिएको छ।

बजारमा निश्चित नाफा गरिसकेकाले तत्काल सेयर बेचेर नाफा सुरक्षित गर्न थालेका छन्। यसले बजार घटाउन बल दिएको छ।

घटबढ भइरहने नेप्से पछिल्लो समय निरन्तर घटिरहेको छ। निरन्तर घट्न थालेपछि मनोवैज्ञानिक रुपमा लगानीकर्तामा त्रास पैदा भएको छ। उनीहरुमा नेप्सेमा अझै ठूलो गिरावट आउने हो कि भन्ने आशंका देखिएको छ।

केही विश्लेषक चाहिँ लगानीकर्ताले तिहारको पूर्वसन्ध्यामा खर्चको जोहो गर्न सेयर बिक्री गर्दा सामान्य गिरावट आएको तर्क गर्दैछन्। केहीले भने सेयर बजारमा 'अफ सिजन' सुरु भएको भन्न थालेका छन्।

पछिल्लो १४ वर्षको तथ्यांकलाई हेर्ने हो भने उक्त अवधिमध्ये १२ वर्ष वैशाखदेखि भदौसम्म उच्चतम रेकर्ड बनाएको देखिन्छ। सेयर बजारका खेलाडी वैशाखदेखि खरिद गर्न थाल्ने र असोेज–कात्तिकमा निस्कने गरेेको ब्रोकर बताउँछन्।

असोजको तेस्रो सातादेखि नै सेयर बजारमा गिरावट आउनुलाई पनि सिजनल सेयर खेलाडी बाहिर निस्कन थालेको संकेतको रुपमा लिन थालिएको केहीको भनाइ छ। उनीहरुले सेयर बिक्री गरेर घरजग्गा, सुन लगायत वस्तुमा लगानी बढाउन थालेपछि बजार करेक्सन हुन थालेको बताइन्छ।

दसैंअघि (असोज २० गते) देखि निरन्तर घटेको सेयर बजारमा बुधबार भने २.४६ बिन्दुले सुधार भएको छ। बुधबार कारोबार बन्द हुनु केहीअघि मात्र नेप्सेमा झिनो सुधार आएको छ।

दोहोरो अंकले झरेको सेयर बजार पछि सम्हालिएर साढे २ अंक माथि उक्लिएको छ। सुरुमा केही हरियो भए पनि बजार लामो समयसम्म रातो भएको थियो।

बिमा र अन्य समूहका सूचकले बजारलाई हरियो बनाउन सहयोग गरेको थियो। बिमा समूहको सूचक सबैभन्दा बढी १०५.०८ बिन्दुले बढेको छ। फाइनान्स समूहको १.१७,  अन्य समूहको १.१६, होटल समूहको २.०१ बिन्दुले बढेको छ। बैंकिङ समूहको नगन्य ०.२ बिन्दुले झरेको छ। जलविद्युत समूहको ०.५१ र विकास बैंक समूहको ६.३९ बिन्दुले ओर्लिएको छ।

दिनभरिमा १ सय ३० कम्पनीको ८१ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। माछापुच्छ्रे बैंकको सबैभन्दा बढी ६ करोड ३७ लाखको किनबेच भयो। शिखर इन्स्योरेन्सको ६ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

बजारमा जनउत्थान सामुदायिक लघुवित्त र सिभिल बैंकको १० प्रतिशत हाराहारी किनबेच भएको छ। धेरै मूल्य बढ्नेमा मेगा बैंकको सेयर पनि छ। राप्ति भेरी विकास बैंक सेयर मूल्य ५ प्रतिशतले तल झरेको छ। एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य पनि झरेको छ।

प्रकाशित: ११ कार्तिक २०७३ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App