काठमाडौं- तिहारमा विभिन्न परिकार पाक्ने खानेतेलमा विदेशकै भर पर्नुपर्दा हरेक वर्ष २१ अर्बभन्दा धेरै रुपैयाँ बाहिरिने गरेको छ। चाडपर्वमा धेरै खपत हुने विभिन्न प्रकारको तेल भारत लगायत विश्वको कैयौं देशबाट आयात हुने गरेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत वर्ष विभिन्न देशबाट २१ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरैको विभिन्न किसिमको तेल आयात भएको छ। पोहोर भारतको नाकाबन्दी हँुदा झन्डै यही परिणाममा खानेतेल आयात भएको थियो।
नेपालमा खानेतेलको उत्पादन खासै हुदैन। नेपालमा आउने धेरै जसो तेल तेस्रो देशबाट आयात भएको तथ्यांकले देखाउँछ। केन्द्रको तथ्यांक अनुसार खानेतेलको आयात तेस्रो देशबाट धेरै भएको देखिन्छ। नेपालमा विभिन्न सोयबिन, सनफ्लावर, जैतुन, पाम, कोकोनट, तोरी लगायत धेरै प्रकारका खानेतेल आयात भएको छ।
कच्चा सोयबिन तेल १२ अर्ब ३६ करोड ६० लाख २० हजार रुपैयाँको आयात भएको छ। यो तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इटाली, नेदरल्यान्ड र युक्रेनबाट आएको छ। तीमध्ये सबैभन्दा धेरै अर्जेन्टिनाबाट आएको छ। अर्जेन्टिनाबाट ७ अर्ब ३ करोड ४१ लाख रुपैयाँको आयात भएको छ। ब्राजिलबाट ३ अर्ब र पाराग्वेबाट १ अर्ब रुपैयाँको आयात भएको छ।
त्यस्तै, धेरै प्रयोग हुने सोयाबिन तेल झन्डै ४० करोड रुपैयाँको आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ। सोयाबिन तेल मलेसिया, भारत र इन्डोनेसियाबाट आएको छ। सबैभन्दा धेरै भारतबाट ३५ करोड रुपैयाँको आएको छ।
जैतुनको तेल 'भर्जिन ओलिभ आयल' शीर्षकमा ३३ हजार ३ सय ५३ केजी ल्याइएको छ। जसको मूल्य १ करोड ७० लाख ६७ हजार रुपैयाँ परेको छ। यो तेल भारत, चीन, इटाली, स्पेन, टर्की र अस्ट्रेलियाबाट आएको देखिन्छ। सबैभन्दा धेरै स्पेनबाट २१ हजार ७ सय ७७ केजी आयात गर्दा १ करोड १५ लाख रुपैयाँ बाहिरिएको छ।
जैतुनको तेल शीर्षकमा ५९ हजार ४ सय ७ केजी आयात गर्दा ३ करोड ११ लाख १७ हजार रुपैयाँ बाहिरिएको छ। यो तेल पनि सबैभन्दा धेरै स्पेनबाट २ करोड ४३ लाखको आयात भएको छ। जैतुनको तेल ल्याइने अन्य देशमा भारत, इटाली, स्पेन र टर्की छन्।
क्रुड पाम आयल शीर्षकमा २ अर्ब ८५ करोड २७ लाख ९५ हजार रुपैयाँको आयात भएको छ। यो इन्डोनेसिया, मलेसिया, भारत, युक्रेन र अर्जेन्टिनाबाट आएको छ। यो तेल सबैभन्दा धेरै इन्डोनेसियाबाट २ अर्ब ६६ करोड ८७ लाख रुपैयाँभन्दा धेरैको आएको छ।
९२ करोड ५ लाख १८ हजार रुपैयाँको पाम आयल चीन, इन्डोनेसिया, मलेसिया, हङकङ, सिंगापुर, थाइल्यान्ड र भारतबाट आएको छ। यो तेल मेलेसियाबाट सबैभन्दा धेरै ७१ करोड ६४ लाखभन्दा बढीको आयात भएको देखिन्छ।
खानेतेलका रुपमा सबैभन्दा धेरै प्रयोग हुने सनफ्लावर तेल ४५ करोड ११ लाख ८७ हजारको आयात भएको छ। यसमध्ये मलेसियाबाट २६ करोड, भारतबाट ११ करोड, स्पेनबाट २ करोडको आयात भएको छ। सनफ्लावर ल्याइने मुलुकमा चीन, युएई, मलेसिया, स्पेन, रसिया र टर्की छन्।
यसबाहेक कोकोनट आयल, क्रुड कटन आयल चीन र मलेसियाबाट आएको छ। कोकोनट सिड आयल मलेसियाबाट ल्याइएको छ। मेज कर्न आयल, पाम केरनेल आयल पनि मलेसिया र भारतबाट आएको छ। यी शीर्षकका तेल करोड रुपैयाँ हाराहारीको आयात गरिएको छ।
पोहोर साल भारतको नाकाबन्दीले चाडपर्वको बेला उपभोक्ताले तेलको लागि चर्को मूल्य तिर्नुपरेको थियो। भारतले नाकाबन्दी लगाउँदा तेस्रो देशबाट आउने तेलमा समेत अवरोध पुगेको थियो।
प्रकाशित: ११ कार्तिक २०७३ ०४:०१ बिहीबार