पोखरा - प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडवडी काण्डमा तत्कालीन पर्यटन, नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी निर्दोष रहेको दाबी गरेका छन्। रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको शनिबार पोखरामा उद्घाटन गर्दै उनले केहि भुईंफुट्टा व्यक्ति तथा संस्थाले अधिकारीको बद्नाम गर्ने उद्देश्यले संलग्नता नै नभएको वाइडवडी काण्डमा नाम मुछेको बताएका हुन्। अधिकारी मन्त्री हुनुभन्दा अघिको प्रसंग ल्याएर उनको बद्नाम गर्न प्रयास भएको उनको भनाइ थियो।
‘कुनै अदालतले फैसला नगरेको कुरामा दोषी छ भन्न पाइन्छ ?,’ उनले प्रश्न गर्दै भने, ‘केही असभ्य र पूर्वाग्रही मान्छेले बद्नाम गर्ने उद्देश्यले उहाँको नाम लिएका हुन्। स्वर्गीय अधिकारी स्वच्छ आचरण भएको, स्वच्छ छवी भएको, कर्मठ, क्रियाशील व्यक्ति हुनुहुन्थ्यो।’ प्रधानमन्त्री ओलीले केही भुईंफुट्टा व्यक्ति र संस्थाले आफूलाई रवीन्द्र अधिकारी निर्दोष रहेको भन्नसमेत नदिएको बताए। ‘केही भुईंफुट्टा व्यक्ति मिलेर एउटा तथाकथित संस्था गठन ग¥यो अनि निर्दोष छ भन्न पाइन्छ ? प्रधानमन्त्रीले त्यस्तो भन्न पाउँछ भन्यो। निर्दोषलाई निर्दोष भन्न किन पाईंदैन ?,’ उनले थपे, ‘निर्दोषलाई निर्दोष भन्न नदिने को हुन् ती न्यायाधीश हुने ?’
प्रधानमन्त्री ओलीले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारी र पुष्पलाल सबैभन्दा माथि भएको बताए। पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेको र मदनले छिन्नभिन्न भएको पार्टीलाई एकताबद्ध बनाएकाले उनीहरूसँग अन्य नेताको तुलना नै हुन नसक्ने बताए। मदन भण्डारीले विश्वभरिनै कम्युनिस्ट आन्दोलन धरासायी भइरहेको तथा अत्यन्तै रक्षात्मक स्थितिमा पुगेका बेलामा नेपालको कम्युनिस्ट आन्दोलनको रक्षा गर्न ठूलो भूमिको खेलेको उनले बताए। प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई नेकपामा सबैले स्वीकारेको दाबीसमेत गरे। नेकपाले अहिले दुईतिहाइ ल्याउने स्थिति बन्नुमा पनि भण्डारी र जबजको महŒवपूर्ण योगदान रहेको उनको भनाइ थियो। ‘भण्डारी र उनले लिएको विचार अंगाल्न नसक्ने कम्युनिस्ट हुन सक्दैन,’ उनले भने, ‘मदन भण्डारीको कामसँग, विचारसँग, भण्डारीले बोकेको जवजको विचारलाई लिएर कुनामा बस्ने अनि कुरा काट्ने, फाल्तु गफ चुटेर विद्वान् पल्टिने कम्युनिस्ट हुन सक्दैन।’
प्रधानमन्त्री ओलीले विरोधीले उचाल्नका लागि र आन्दोलनमा समस्या खडा गर्नका लागि उकासेकै भरमा नफस्न नेताहरूलाई आग्रह गरे। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति व्यंग्य गर्दै उनले भने, ‘कम्युनिस्ट नेताहरू देश, जनता र पार्टीप्रति इमान्दार हुनुपर्दछ, त्यसलाई केन्द्रमा राखेर पद, प्रतिष्ठालाई ध्यान दिन थाल्यौं भने आन्दोलन नउठ्न सक्छ, मेरा ५४ वर्षे सक्रिय राजनीतिका आदर्श यिनै हुन्।’ केही दिनअघि दाहालले १५ महिनापछि ओलीले सत्ता हस्तान्तरण गर्नेमा विश्वस्त छु भनेर भनेकोबारे सांकेतिक जबाफ फर्काउँदै उनले देश र जनताप्रति निष्ठाका साथ अगाडि बढे मात्र सफलता हात पर्ने अन्यथा फेरि दाउपेच गर्न थाल्यौं भने उद्देश्य पूरा नहुने र सफलता हात नपर्ने बताए।
प्रधानमन्त्री ओलीले स्वर्गीय रवीन्द्र अधिकारीप्रति कास्कीले गर्व गर्नुपर्ने बताए। अधिकारी देश र जनतालाई सर्वोपरि मानेर विकास र समृद्धिका लागि इमान्दारीपूर्वक लागिराख्ने एक अथक कम्युनिस्ट योद्धा भएको बताए। ‘अधिकारी पार्टीविरुद्ध, नेतृत्वविरुद्ध जथाभावी बोलेर बहादुरी भइन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो,’ उनले भने, ‘कतिपयलाई लाग्नसक्छ पार्टीको निर्णयविरुद्ध बोल्यो भने, नेतृत्वविरुद्ध बोल्यो भने विरोधीले उचालिदिन्छन, फुकेर बेलुन बनाइदिन्छन्, वाह ! विद्वान त यस्तो हुन्छ भनिदिन्छन्, हो क्यार भन्दै कुद्ने त्यो रोग र भ्रम रवीन्द्रमा थिएन।’ उनले रवीन्द्रलाई २०३९ सालदेखि चिनेको तर कहिल्यै नमुस्काराएको नदेखेको बताए।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान घोषणा
तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको नाममा प्रतिष्ठान गठन भएको छ। शनिबार पोखरामा आयोजित एक भव्य कार्यक्रमकाबीच ‘रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान’ घोषणा गरिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको स्मृतिपत्र सार्वजनिक गर्दै प्रतिष्ठान घोषणा गरेका हुन्।
प्रतिष्ठानको अध्यक्षमा अधिकारी पत्नी विद्या भट्टराई रहेकी छन्। उपाध्यक्षमा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, महासचिवमा रवीन्द्रका बालसखा तथा हितैसी मित्र धनराज आचार्य रहेका छन् भने उपमहासचिवमा दीपेन्द्र अधिकारी, सचिवमा पुष्पज्योति ढुंगाना र विमला पहारी रहेका छन्। ३५ सदस्यीय समितिमा राजनीतिक, सामाजिक, उद्योगी, व्यवसायीदेखि पत्रकारसम्मलाई सदस्यमा राखिएको छ। त्यस्तै ४१ सदस्यीय सल्लाहकारमा रवीन्द्रका सहकर्मी नेता योगेश भट्टराईदेखि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङसम्म रहेका छन्।
प्रतिष्ठानका लागि सरकारले एक करोड दिने भएको छ। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई एक करोड दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक विवादको थलो नबनाउन सुझाव दिए। प्रतिष्ठानलाई नाम मात्रैको प्रतिष्ठान नबनाई जीवन्त बनाउन सुझाव दिँदै उनले भने, ‘राजनीतिक विवाद गर्ने थलो पनि नबनाउनुस्, बरु विवाद गर्न रुचाउनेहरू प्रतिष्ठानमा बस्दै नबस्नुस्।’
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रतिष्ठानले समृद्धिको यात्रामा सघाउने बताउँदै प्रतिष्ठानका लागि प्रदेश सरकार र नेकपा गण्डकीले सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा अधिकारी पत्नी विद्या भट्टराईले प्रतिष्ठानले उद्यमशीलता र विकासका क्षेत्रमा काम गर्ने बताइन्। उनले समृद्धि र विकाससँगै प्रतिष्ठानले अनुसन्धानको क्षेत्रमा पनि काम गर्ने स्पष्ट पारिन्। सरकार, संघ संस्था, उद्योगी, व्यवसायी, विभिन्न व्यक्ति तथा परिवारका सदस्यबाट संकलन गरेर कोष निर्माण गर्ने तयारी गरिएको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानमा हालसम्म कोष जम्मा भइसकेको छैन।
प्रकाशित: १९ जेष्ठ २०७६ ०१:३६ आइतबार