८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपामा रस्साकस्सी

काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरूमा महाधिवेशनको रन्को देखिन थालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टीको महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन्। सार्वजनिक कार्यक्रममै उनले जिल्ला अधिवेशन एक वर्षभित्र हुनुपर्ने र त्यसका लागि कार्यकर्तालाई वैचारिक बहस गर्नसमेत निर्देशन दिएका छन्।

पार्टी एकता गर्दा तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद (जबज)’ र माओवादी केन्द्रको ‘एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा’ दुवैलाई महाधिवेशनमा मात्र बहस गरेर टुंगोमा पुग्ने सहमति गरिएको थियो। महाधिवेशनमा गर्नुपर्ने बहसलाई नेताहरूले नै अहिले सतहमा ल्याएका छन्। पार्टीका दुई अध्यक्षमध्ये एक दाहालले कार्यकर्तालाई ‘जनताको बहुदलीय जनवाद’ र ‘एक्काइसौं शताब्दीको जनवादको कार्यदिशा’मा वैचारिक बहस गर्न निर्देशन दिएपछि नेकपा हाइकमान्ड सचिवालयका सदस्य ईश्वर पोखरेल जबजलाई प्राथमिकता दिएर आगामी नेतृत्वमा आफ्नो अवस्था सुदृढ गर्न लागिपरेका छन्। पार्टी एकीकरण हुनुअघि पोखरेल तत्कालीन एमालेका महासचिव थिए।

सचिवालय सदस्य पोखरेलले अध्यक्ष दाहालको धारणाप्रति सार्वजनिक रूपमै असहमति राख्दै जबजलाई अघि बढाउने र त्यसको जगमा कम्युनिस्ट पार्टीलाई अझ समृद्ध बनाउनुपर्ने बताएका छन्।

पार्टीको कार्यदिशामा रहेको अस्पष्टताका कारण कार्यकर्ता अलमलमा परेका बेला विभिन्न कोणबाट शीर्ष नेताहरू वैचारिक बहसमा उत्रन थालेका छन्। पार्टी जिल्ला तहका संगठनात्मक काम सकेपछि एकताको सबैभन्दा जटिल प्रक्रिया सकिएको र अबको एक वर्षभित्र जिल्ला अधिवेशन सकेर केन्द्रीय महाधिवेशनमा केन्द्रित हुने अध्यक्ष दाहालको धारणा र पार्टी अध्यक्षलाई कार्यकारी बनाउने विषय उठ्न थालेपछि शीर्ष तहका नेताहरु महाधिवेशनमा आफ्नो अवस्था वैचारिक÷राजनीतिक रूपमा सुदृढ बनाउन लागिपरेका छन्। सचिवालय सदस्य पोखरेलले अध्यक्ष दाहालको धारणासँग असहमति राख्दै आएका छन्। उनले सार्वजनिक रूपमै जबजलाई अघि बढाउने र त्यसको जगमा कम्युनिस्ट पार्टीलाई अझ समृद्ध बनाउनुपर्ने धारणा राखेका छन्।

पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा जानुअघि नै अध्यक्ष दाहालले एउटा अध्यक्षले पार्टी सञ्चालन गर्ने र अर्को अध्यक्षले सरकार सञ्चालन गर्ने कुरा उठाएपछि पोखरेलले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै दाहालको सो अभिव्यक्तिप्रति घुमाउरो पाराले असहमति प्रकट गरेका छन्। बिहीबार भारत गएका ओली शुक्रबार फर्केका छन्।
विचारलाई समयअनुसार विकसित गरेर जान सक्ने मात्र माक्र्सवादी हुनसक्ने दाहालको धारणाप्रति पोखरेलले बहुदलीय जनवादबारे केही कुरा भन्दै लेखेका छन्– यो

सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन। न त यो अत्यन्त आदर गरिएका दिवंगत नेताको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामकरण नै हो। नेपाली विशिष्टतामा माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो, जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशा निर्देश गर्ने विचार पनि हो। यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्बन्धमा सैद्धान्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ। उनले अगाडि लेखेका छन्– जबजको जन्म जडतामा जकडिएर भएको होइन। नेपालको कम्युनिस्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका नकारात्मक अनुभवहरूको निर्मम समीक्षा गरेर तथा माक्र्सवादी दर्शन र सिद्धान्तबाट निर्देशित हुँदै यो विचार विकसित भएको हो।

पार्टी एकताका बेला दुई अध्यक्षबीच भएको लिखित समझदारीलाई स्मरण मात्रै गराएको भन्ने दाहालको अभिव्यक्तिलाई पोखरेलले सामाजिक सञ्जालमार्फत वैचारिक रुपमा चुनौती दिएका छन्। स्टाटसमा जबजबारे पोखरेलले लेखेका छन्– विगतमा राजाको शासन भएका बेला ज्यान जोगाउन छड्के हान्दै अघि सारिएको औसरवादी विचार होइन वा कुनै धारलाई क्रमभंग गरिदिउँ भनेर अघि सारिएको मौसमी विचार पनि होइन। यो गतिमै जन्म्यो, गतिमै विकसित हुँदै गतिमै अघि बढ्छ पनि। जडताकै विरोधमा यो अघि बढ्छ र बढ्दै जान्छ पनि। जनताको बहुदलीय जनवादले जनवादी राज्यसत्ताको लोकतान्त्रीकरण, आन्दोलनको लोकतान्त्रीकरण, पार्टीको लोकतान्त्रीकरण र समग्र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणसम्बन्धी मान्यतालाई सशक्त ढंगले अघि सारेको छ।।

पोखरेलले सेवा, संघर्ष, प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीति अंगीकार गरी संगठनात्मक जीवनलाई व्यवस्थित गर्नुपर्छ भन्ने मान्यता जनताको बहुदलीय जनवादले राख्ने उल्लेख गरेका छन्। ‘अहिलेको अवस्थामा केही न केही नयाँ विचार बनाऔं’ भन्दै विकसित र स्थापित विचारका विरुद्धमा अन्यथा नबुझ्नू (नबोल्नू राम्रो !) भन्दै उनले आफ्नो स्टाटस टुंग्याएका छन्।

जेठ १ गते युवा संघले आयोजना गरेको पोखरेलसमेत सहभागी कार्यक्रममा दाहालले कम्य्ुनिस्टहरूमा दुई खालको अतिवाद रहेको भन्दै जबज पुरानो र यथास्थितिवादको जडता भएको बताएका थिए। सो कार्यक्रममा पोखरेलले बहुदलीय जनवाद नै श्रेष्ठ रहेको बताएका थिए। उनको भनाइप्रति असहमति राख्दै दाहाले जबज यथास्थितिवादको जडता भएको टिप्पणी गरेका थिए। ‘कम्युनिस्ट आन्दोलनमा दुईखाले अतिवाद छन्। विचार शुद्धताका नाममा, सिद्धान्त शुद्धताका नाममा माक्र्सवादलाई धर्मशास्त्रजस्तै बुझ्ने समस्या कम्युनिस्ट आन्दोलनमा छ। माक्र्सले लेनिनले, माओले, होची मिन्हले, फिडेल क्यास्ट्रोले जे–जे भने, जे–जे लेखे, त्यही मात्र माक्र्सवाद हो, अरू होइन भन्ने अतिवाद पनि कम्युनिस्टमा छ। जनताको आवश्यकता, देशको आवश्यकता, हजारौं कार्यकर्ताको भावना र आकांक्षा नबुझ्नेहरू माक्र्सवादी र द्वन्द्ववादी हुन सक्दैनन्। विचारको शुद्धताका नाममा गति नबुझ्नेहरू अलपत्र पर्छन्,’ दाहालले पोखरेलको जबज ब्युँताउने र यो नै श्रेष्ठ भएको धारणाको जवाफ जेठ १ मा यसरी दिएका थिए। त्यसको जवाफ दिने उपयुक्त मौकाको खोजीमा पोखरेल थिए। केही दिनअघि दाहालले पार्टीमा आलोपालो प्रधानमन्त्रीको कुरा उठाएपछि पोखरेलले दाहाललाई लक्षित गर्दै सामाजिक सञ्जालमा उक्त स्टाटस लेखेर चुनौती दिएका हुन्।

जेठ ३ गते मदन–आश्रित स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले जबज धर्मशास्त्र नभएको बताएका थिए। ‘विचार सिद्धान्त कुनै धर्मशास्त्र होइन, यो अपरिवर्तनीय भन्ने हुँदैन। समयअनुकूल परिवर्तन हुँदै जान्छ,’ त्यतिबेला प्रधानमन्त्री ओलीले भनेका थिए।

प्रकाशित: १९ जेष्ठ २०७६ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App