७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘अबको प्रधानमन्त्री प्रचण्ड’

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् सांसद हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोपालो रुपमा पार्टी र सरकार चलाउने कुरा पुरानो सहमति भएको स्पष्ट पारेका छन्। 

गजुरेलले भने, ‘उहाँहरु दुवैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ। आलोपालोमा सहमति भैसकेको छ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्ने घोषणा गरे। 

उनले दुई पार्टी एकता गराउन दुवै अध्यक्षको अहम भूमिका रहेको भन्दै धन्यवाद दिए। ‘अब पार्टीभित्र कार्यविभाजनपनि छिट्टै टुँगो लाग्छ, हामीलाई अध्यक्षमाथि विश्वास छ’, उनले थपे। 

नेपालको कम्युनिस्ट आन्दोलनलाई संकटबाट जोगाउनको लागि पनि एकता महत्वपूर्ण भएको उनको भनाई छ। उनले नेपालका नेताहरुले अब बोल्ने तरिका बदल्नुपर्नेमा पनि जोड दिए। उनले भने,‘नेताहरुले आफ्नो व्यवहार बदल्नुपर्छ। मुलुकको विकास र समृद्धिको लागि सत्तापक्ष र प्रतिपक्ष दुवैबीच सहकार्य गर्नुपर्छ।’ 

यस वर्षको बजेट राम्रो आएको उनको प्रतिक्रिया छ। तर, बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएकोमा भने उनले असन्तुष्टि पोखे। उनले भने, ‘नारामा त कृषि क्षेत्रको बारेमा धेरै कुरा बोलियो तर, व्यवहारमा त्यस्तो देखिएन। कृषि क्षेत्र प्राथमिकतामा नै परेन।’ 

त्यस्तै, सहीद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी थियो। उनले भने, ‘के सहिद परिवारलाई दश लाख दिँदैमा अब दायित्व पूरा भएको हो त?’

प्रकाशित: १८ जेष्ठ २०७६ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App