coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मार्सी धान राेप्न सिडिओ खेतमा

जुम्ला–  प्रायजसो प्रशासनिक काममा व्यस्त जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे मार्सीधान रोप्न चन्दननाथ मन्दिरको सेरा ज्युलोमा पुगिन्।  रोप्नेरीको पहिरनमा खेतमा धान रोप्न पुगेपछि स्थानीय दंग थिए। अहिले सम्म न प्रमुख जिल्ला अधिकारी रोप्ने खेतमा पुग्थ्ये, नत मार्सीधान रोप्न चासो नै दिन्थे। बरु औपचारिक कार्यक्रम उद्घाटन र शिलान्यासमै केन्द्रित हुन्थ्ये। तर, अहिले ज्युलोमा प्रजिअ बञ्जाडे आफै धान रोप्न पुगेपछि स्थानीयले निकै गहिरो गरि नियाले।

उनले खेतमा धान मात्रै रोपिनन्। धान रोप्नको लागि स्थानीयलाई समेत हौस्याइन्। मार्सीधानको महत्व बताइन्। मार्सीधान रोप्ने संस्कार र संस्कृतिको उच्च प्रसंसा समेत गरिन्। स्थानीय महिला संग लामबद्ध भएर खेतको हिलोमै लतपतिदा सबैको नजर उनी माथि नै थियो। 

‘जीवनमै पहिलो पटक धान रोप्ने मौका मिल्यो।’ उनले भनिन्,‘त्यो पनि कालीमार्सी धान। म निकै गौरवान्वित छु। पहिलो चोटी ख्याति प्राप्त मार्सीधान रोप्दैछु। ’ प्रमुख जिल्ला अधिकारी बञ्जाडेले जुम्ली किसानलाई मार्सीधानको उत्पादन बढाउन आग्रह गरिन्। उनले भनिन्,‘मार्सीधानका कारण जुम्ला लोकप्रिय बनिरहेको छ। अब जुम्लाले मार्सीधानको महत्व बुझ्दै संरक्षण अभियानमा होमिनुपर्छ।’

रोपाइमा चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल पनि सहभागी थिइन्। सधैँ रोपाइमा संलग्न उनी प्रमुख जिल्ला अधिकारी पनि रोपाइमा सहभागी हुँदा खुशि भइन्। उनले भनिन्,‘यो पटक मन्दिरको खेतको रोपाई ऐतिहासिक बन्यो। मार्सीधान प्रति किसान जागरुक बन्न लागि गतिलो सन्देश छर्न सक्यो।’

चन्दननाथ बहुद्धेशिय सहकारी संस्थाको आयोजनामा मन्दिरको जग्गामा धान रोपाइ गरिएको थियो। पहिले गुठी समितिले आफै रोप्ने गर्दथ्यो। अहिले सहकारीको जिम्मा लगाउदै रोपाइ गरिएको हो। रोपाइमा कर्णाली प्रदेशका कृषिमन्त्री बिमला केसी सहभागी हुने भनिए पनि कार्य व्यस्तताका कारण आउन सकिनन्।

पछिल्लो समयमा कालीमार्सी चामलको माग बढ्दो छ । जिल्ला भर १३ सय हेक्टरमा मार्सी धान लगाइन्छ ।

 

प्रकाशित: १८ जेष्ठ २०७६ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App