७ वैशाख २०८१ शुक्रबार
अन्य

आयो बदाम

निर्मलकुमार आचार्य
ठूलो मेघगर्जनसहित मुसलधारे वर्षा भई भर्खर थामिएजस्तो परिवेश थियो। केही बेरको मौनतापछि आमाको भक्कानो फेरि फुट्न पुग्यो। नजिकै भतभतिरहेको छोरो पनि फतफताउन थाल्यो, ‘कतै काम पाउँदिनँ त म के गरुँ, मरुँ ! एमए पढ्या छु भनेर हुन्छ ? सोर्सफोर्सबिना कतै काम पाइँदैन, कि नेताको मान्छे हुनुप¥यो कि घुस खुवाउन सक्नुप¥यो, सबैलाई थाहा छ, के करकर गरिरहनु भएको। त्यो टुक्रो जग्गा बेच्दिनू विदेश जान्छु भन्दा पनि मान्ने होइन। यहाँ काम नपाउने, बाहिर पनि जान नदिने भएपछि मैले के गर्ने ! मेरो इच्छाले बेरोजगार बस्या हुँ र ? बिनसित्ति कराउनु भएको छ, रुनुभएको छ, नचाहिँदो टेन्सन...।’

‘खाने मुखलाई जुँगाले छेक्छ ?’ आमाको एकोहोरो आलाप थालियो, ‘विदेश गएको बाउको म¥या–बाँच्या ठेगान छैन, साहुको ऋण उस्तै छ, पढ्या–लेख्या भनेको छोरो हुतिहारा कुरो गर्छ, विदेशमा पैसाको रुख छ र त्याँ गएर तैंले टिपेर ल्याउने ? कि तलाई पनि बाउजस्तै उतै कतै हराउने मन छ। जागिर नपाए अरू कुनै इलमसिलम गर्न सकिँदैन र !’

‘के इलम गर्ने ? बिजनेस ? पूँजी कहाँबाट ल्याउने ? भन्न सजिलो छ,’ छोरो च्याँट्ठिन थाल्यो। दुनियाँको उदाहरण दिएर आमाले भन्नु÷नभन्नु भनिन्। छोरोले पनि दुर्गतिका अनेक कारक तŒव केलाउन बाँकी राखेन। ‘जुन जोगी आए पनि कानै चिरिएको’ उखान हाल्दै देश साँच्चै सतिले सरापेकै रै’छ क्यारे, तब त लाखौं युवा बेरोजगार बस्न विवश भएको निचोड पनि उसले निकाल्यो। यो, ऊ फलानो–ढिस्कानो कसैलाई उसले बाँकी राखेन। नातावाद, कृपावाद, कार्यकर्तावाद र घूसवादको क्रूर पञ्जाबाट देशले मुक्ति नपाउन्जेल आफूजस्तो सोझो र इमानदार युवाले कहिल्यै कुनै जागिर पाउन नसक्ने अत्यन्त निराशाजनक भविष्यवाणी गर्दै विरक्तिको सागरमा ऊ डुबुल्किन थाल्यो।

उनले यसोभन्दा सबैलाई रमाइलो लाग्नु स्वाभाविक हो– ‘नकिने पनि हाँस्न, बोल्नचाहिँ नछाड्नु होला है, हाँसे मुहार उज्यालो हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ, हाँस्न मन नलागे फिस्स गर्नुहोला, त्यो पनि मन नलागे दाँत देखाउनु होला, दाँत नभए गिजा मात्रै भए पनि देखाउनु होला है ! अब गिजै नभए त के गर्नु र हजुर !

छोराको ओइलाएको अनुहारले आमाको मन झन् विह्वल बनायो। बिहानै हिँडेको छोरो कति भोकायो होला, बाहिरबाट आउँदा–आउँदै मैले पनि उसलाई के सुनाएकी होली, पछि बिस्तारै सम्झाउँदा पनि हुन्थ्यो नि। व्याकुलताबीच आमाको आँखाबाट पश्चातापका आँसु चुहिन थाले।

दिनहुँको उही चाला देखी वाक्क भएकी आमाले ‘अगुल्टो पनि नठोसी बल्दैन’ भन्ने सम्झिई केही गरिखाला कि भनेर कठोर बोली बोलेकी हुन्। छोरामाथि त्यसको के कति प्रभाव प¥यो, त्यो त थाहा भएन। तर, आमालाई यही बोली पीडा थप्ने माध्यम बन्न पुग्यो। ‘घरमा बाउ नभएपछि अल्लारे छोराको भविष्यका लागि म नकड्किए को कड्किने ? दुनियाँ त आफ्ना सन्तान मात्रै फस्टाएको देख्न चाहन्छ, अरू नसप्रेकै बेस नि,’ मनमनै कल्पिइन्। अनि आफूलाई सान्त्वना दिँदै भान्छामा पसी खाजा ल्याइन्। ‘खुरुक्क खा। अब, कराउने होइन, बिहान उतिबेला खाएर गएको,’ आमाको मायालु बोली कानमा परेको के थियो। ऊ कड्किहाल्यो।
‘खान्न, म काम न काजको बेइलमीले किन खानु !’

छोरो जन्मजात स्वभाव निकाल्दै मुन्टो बटारी घुर्काउन थाल्यो। आमाले जबर्जस्ती हातैमा थाल राखिदिइन्। भोकले छोराको पेट ज्यादै उमठेको हुनुपर्छ, तैपनि खान स्थितिअनुकूल बनाउन उसले नानीदेखिको बानी प्रयोगमा ल्याएरै छाड्यो। ‘अब त्यसरी कहिल्यै नरुने भए मात्रै खान्छु’ भन्दै जवाफ समेत नपर्खिई निहुरेर धमाधम गुमुक्र्याउन थाल्यो। नदेखेझैं गरिरहेकी आमाले मुस्काउँदै खूब सन्तोष मानिन्। बाटोछेउको घर, बाहिरका कल्याङमल्याङ सुनिन थाले।

प्वाँप्वाँ, टिःटिः सँगै किरिङकिरिङका आवाज अनि स्कुल छुटेर घर फर्किएका केटाकेटीको स्वर, बसबाट भर्खर ओर्लिएका यात्रुहरूको हस्याङफस्याङ र बाटाका खाल्टाखुल्टी सबै उस्तै हिजो, अस्ति जस्तै। नजिकिँदै आइरहेको सुपरिचित लयात्मक स्वर पनि टड्कारो हुँदै गयो।

आयो बदाम आयो
आयो बदाम आयो।
हजुरहरू कता हो ?
मिठो बदाम यता हो
आयो बदाम आयो
आयो बदाम आयो।
हाँस्न पनि पाउने
नाच्न पनि पाउने
बिक्री भयो भने
पैसो पनि आउने
आयो बदाम आयो
आयो बदाम आयो।
सोलुखुम्बू घर, राई मेरो थर
बदाम बेची खानलाई केको लाज, डर
हाँसेको, नाचेको पैसा लाग्दैन है...
खुट्टा दुखेको, घाँटी दुखेको मात्रै लाग्छ
आयो बदाम आयो
आयो बदाम आयो।

काँधमा डालो बोकी एक युवक मुस्काउँदै, गाउँदै, नाच्दै बाटामा बदाम बेच्दै हिँडेको देख्दा उनलाई नबोलाउने कमै हुन्छन्। उनी यहाँ देखिन थालेको धेरै भएको छैन। वर्ष दिन जति भयो होला। गर्मीताका कुल्फी बेच्थे, अहिले बदाम। त्यतिखेर ‘आयो कुल्फी आयो, मिठो कुल्फी आयो’ भन्थे।

लयालु स्वर सुन्नासाथ तीन तलामाथि भएका बच्चाहरू समेत खुरुर्र भ¥याङ ओर्लिइ तिनका वरपर झुम्मिन पुग्छन्। उनको तरिकै फरक हाँस्ने, गाउने, नाच्ने र व्यपार गर्ने। अनि उनले यसो भन्दा सबैलाई रमाइलो लाग्नु स्वाभाविक हो–‘नकिने पनि हाँस्न, बोल्नचाहिँ नछाड्नु होला है, हाँसे मुहार उज्यालो हुन्छ, स्वास्थ्य पनि राम्रो हुन्छ, हाँस्न मन नलागे, फिस्स गर्नुहोला, त्यो पनि मन नलागे दाँत देखाउनु होला, दाँत नभए गिजा मात्रै भए पनि देखाउनु होला है ! अब गिजै नभए त के गर्नु र हजुर !
हाँस्न पैसा लाग्दैन, बदाम खाएको चाहिँ लाग्छ। पैसै नलिई बदाम दिनुहुन्थ्यो। तर, के गर्नु, यो पापी संसारमा पैसो नभई नचल्ने रहेछ, ल है, आयो बदाम।’
कसैले सिकाएर उनले यसरी रमाइलो गर्दै बेच्न थालेका हुन् वा आफै जुक्ति निकालेका अथवा के हो ? थाहा छैन। भन्छन्, उनलाई ठूलै रोग लागेको छ रे।  घरको अवस्था पनि राम्रो छैन रे ! जस्तासुकै प्रतिकूल परिस्थितिमा पनि अरूको बोझ बनेर बाँच्नुभन्दा आफ्नै खुट्टामा उभिनु उचित लागेर उनले स्वावलम्बनको यात्रा थालेका हुनसक्छन्। कारण जेसुकै होस्, काम तारिफलाग्दो छ– चोक, गल्ली, दोबाटातिर बुजु्रकहरू उनको प्रशंसा गरिरहेका भेटिन्छन्।

तरकारी बजारमा उनको सिको गर्दै कोही लय हाली भट्याइरहेका देखिन्छन्–
‘आयो मुला आयो, मिठो मुला आयो। जीउ उसकै राम्रो, जसले मुला खायो।’     

खड्का बा चोकमा मकै बेच्न बसेका एक वृद्धलाई सम्झाइरहेका देखिए– ‘हेत्, तपाईंलाई व्यापार गर्न आउँदैन रै’छ। ठेला राखेर मात्रै कहीँ व्यापार हुन्छ ?’ ठाउँमा पुगेका छोराछोरीले बेवास्ता गरेपछि दिक्क मानी घरबार छाडेका यिनलाई खाली पेट बस्नुभन्दा हरियो मकैको व्यापार गर्न एक युवकले प्रेरणा दिएका रहेछन्।
गोटाको पाँच रूपैयाँमा किनी दस रूपैयाँमा बेच्दा दोब्बर फाइदा हुने देखेर उनले समय कट्ने र पेटपालो पनि हुने ठानी जीवनमा कहिले नगरेको व्यापार थालेका हुन्।
‘अनि व्यापार गर्न के गर्नुपर्छ त ?’

सोध्न मात्रै के लागेका थिए, खड्का बा दुवै हातले लौरी समात्दै बडो उत्साह निकाली हँसिलो मुहार लगाएर भने, ‘आयो मकै आयो, मिठो मकै आयो, रसिलो मकै आयो, पोषिलो मकै आयो’ कराउँदै, हाँस्दै, गाउँदै पो बेच्नुपर्छ, क्या।’ अघिदेखि झ्यालबाट एकपटक बाहिर उही युवकलाई हेरिरहेकी आमाले भरखरै खाजा खाएर टेलिभिजन अगाडि बसेको छोरातिर फर्कंदै भनिन्–

‘सिक बाबु, त्यो केटोसँग, हेर त उमेर पनि तँभन्दा बढी छैन, काम गरेर खाएको छ, खाएको मात्रै छैन, घरपरिवार पनि पालेको छ रे। सबैभन्दा ठूलो कुरो ऊ दंग छ, जे काम गरेको छ, मनले गरेको छ, भित्रैदेखिको उत्साहले गरेको छ। अधम जागिर, उत्तम व्यापार भनेको ठीकै रहेछ। उसको आमदानी सुन्या’छस्, बदाम बेचेरै सचिवको भन्दा धेरै कमाउँछ रे !’

‘कुन सचिवको ? गाउँपालिकाको सचिव कि हाम्रो टोले उपभोक्ता समितिको सचिव ?, अर्थसचिव हो कि मुख्यसचिव हो ?’ छोरो हाँस्दै जिस्किन थाल्यो।
गम्भीर विषयमा ठट्टा गरेको आमालाई पटक्कै मन परेन। निधार खुम्च्याउँदै आमाले रिस पोखिन्,  ‘तलाई थाहा छ सबै कुरो, जाँगर न साँगर, खाने बेलाँ आँ गर, कुरोको भकारी काहीँको, कुरैले विकास हुने भए, काँ’को काँ भइसक्थ्यो। नाथे, व्यापार गर्न पूँजी खोइ ? भन्छ– त्यो बदामको व्यापार गर्न कति पूँजी चाहिन्छ ? मसँग पाँच सय रूपैयाँ लिएर मिलन चोकमा रायोको साग बेच्न थालेकी साइँलीले वर्षदिनमै कत्ति प्रगति गरिसकी। ऊ त्यो, चम्पारणको केटोले चटपटे र पानीपुरी बेचेर महिनामा ८० हजार त घरमा पठाउँछ रे। विदेसमा जे पनि गर्न तयार हुने, आफ्नो देशमा चाहिँ यस्तो काम, उस्तो काम भनेर नाक खुम्च्याउने ? आफूले सक्ने काम जुनसुकै गरे पनि हुन्छ। कामले कोही सानो, ठूलो हुँदैन बुझिस्। मान्छेमा मिहिनेत, लगन र इमानदारी हुनुपर्छ, त्यत्ति हुने हो भने उसले कुनै पनि काममा चाँडै उन्नति गर्छ। त्यत्रो पढेको तैंले, यत्ति कुरो थाहा छैन ?’

‘थाहा छ, थाहा छ।’     झर्कंदै ऊ बोलेको मात्र के थियो, आमाको पारा तात्तिइहाल्यो। ‘थाहा छ भन्छ मोरो, थाहा हुनेको यस्तै मति हुन्छ, यही गति हुन्छ ? अरूलाई दोष दिएर तँ उम्कन पाउँछस् ? तेरो कुनै कर्तव्य छैन, आँट छैन ? तँ केही गरेर देखा, अनि तैंले थाहा पाएको अर्थ हुन्छ, केही गर्न नसक्नेले थाहा पाएको के, थाहा नपाएको के...!’     

लप्किरहेका यस्ता अनेक भावनाका लप्काले आमाको मन ज्यादै सन्तप्त बनायो। यतिखेर उनले तिनलाई मुखबाट पटक्कै प्रकट गरिनन्। तर, भित्रभित्रै दन्किरहेको ज्वालामुखीले निकास अवश्य खोज्नु थियो। अलिबेरमै आँखाबाट अविरल बग्न थाले।

मनमा भएका अथाह वेदना खन्याएर छोरालाई अति दुःखी बनाउन नचाहनुको पछाडि कारण छ– कतै ऊ पनि बाउजस्तै फन्किएर परदेशियो र बेपत्तियो भने उमेरले नेटो काट्दै गएकी आमाले कहाँ खोज्न जाने ? आमालाई आफू एक्ली परुँली भन्ने चिन्ता होइन, विदेशिँदा र बेपत्तिँदा हुने तिनका कथा, व्यथा सम्झेर असह्य कष्टतापमा पर्नु उनको दैनन्दिती बनेको छ।

जस्तो बाउ, उस्तै छोरो। दुवैको लाटो रिस। मन परे ज्यानै फाल्न तयार, चित्त नबुझे मरे मान्ने होइन। घरको फिक्री ठ्याम्मै नलिने। ‘शोक न सुर्ता भोक न भकारी’ जस्ता। केही भन्यो भने ‘पख न, तिमी खाली घर–परिवारको कुरो गर्छाै, संकीर्ण कुरो गर्छाै, म देशको रूपान्तरणको कुरो गरिरहेको छु, महान काम गरिरहेको छु, नयाँ नेपाल बनेपछि हामी जस्ता सबैको दिन फेरिनेछ’ भन्थे। उनले चासो नलिएकैले मुखमा माड लगाउन पनि आमाको सहारा सिलाइ मेसिन बनेको थियो। बिहानैदेखि बेलुकीसम्म गाउँघरका नयाँ–पुराना लुगा सिएर उनले घर मात्रै चलाइनन्,  छोरालाई एमएसम्म पढाइन् पनि।

‘तिम्रा श्रीमान झन्डै सेनाको गोली लागेर मरेका रे’ सुन्दा उनलाई आकाशबाट भुइँमा खसेझैं भएको थियो। महिनौ घर नआउने श्रीमान्को बारेमा उनलाई के थाहा ? धादिङमा सेना र माओवादीबीच भिडन्त हुँदा धन्न उनी बाँचेका रहेछन्।

केही महिनापछि घर फर्किएका श्रीमान्ले बेलीविस्तार लगाउँदा डाको छाडेर बिताएको त्यो रात उनी अहिले पनि झलझल्ती सम्झिन्छिन्।
‘अब देशमा अन्याय, अत्याचार, शोषण हुँदैन, नातावाद, कृपावाद चल्दैन, भ्रष्टाचार हुँदैन, कसैमाथि भेदभाव हुँदैन, विकास हुन्छ, सबै राम्रो हुन्छ, चिन्ता नगर !’
श्रीमान्का मुखबाट यस्ता कुरा सुन्न पाउँदा उनलाई असाध्यै रमाइलो लाग्थ्यो।

०४६ सालको आन्दोलनमा पनि उनी मरिमेटेर लागेका थिए। ठूलठूला कुरा गर्थे, आमा केही बुझ्थिन्, केही बुझ्दिनथिन्, जति बुझ्थिन्, उनलाई राम्रै लाग्थ्यो। तर, घरको गर्जो पनि यसो टरिदिए हुन्थ्यो, मधुरो स्वरमा गहिरो आग्रह सधैं रहन्थ्यो उनको। श्रीमान् मुस्काउँदै भन्थे– ‘पख न समय फेरिंदैछ, दुःखका दिन जाँदैछन्।’
खै, किन हो, दुई–चार वर्षपछि उनी बेखुशी देखिए। थोरै बोल्थे। महिनौ हराउँथे। केही सोधेको पनि मन पराउँदैनथे। झर्कन थालेका थिए। नबुझिने खालका के कस्ता कुरा गर्थे। नेपालका ठूला पार्टी र माओवादी आपसमा मिलेर दोस्रो जनआन्दोलन गर्दा उत्साहित देखिए।

आन्दोलनमा लाठी बर्सिंदा टाउको फुटेर रगताम्मै भई अस्पताल लगेको थाहा पाई आमा पनि त्यहाँ पुगेकी थिइन्। होशहवासै गुमेजस्तो भएकी आमालाई देखेर उनले हँसिलो मुद्रामा भनेको सम्झना आउँछ, ‘के निन्याउरेकी,  मान्छेले देशका लागि प्राण आहूति दिन्छन्, यो त के हो र ! मलाई केही हुँदैन, आन्दोलन सफल भएरै छाड्छ, बुझ्यौ ?’

श्रीमान्को बोलीले ढाडस दियो, सबै कुरो बुझेझैं उनले अनुहार उज्यालो बनाउने प्रयास गर्दै सगौरव मुन्टो हल्लाइन्। नभन्दै आन्दोलन सफल भयो। श्रीमान्ले त्यो दिन घर आउँदा मिठाई किनी ल्याएका थिए, निकै हर्षबढाइ भएको थियो। बाहिरफेर श्रीमान् के गर्थे ? सोधपुछ गर्न छाडेकै जुग भइसक्यो। उनको दिन, रातको चिन्ता भन्नु नै जसोतसो घर चलाउनु र छोरालाई पढाएर ठूलो मान्छे बनाउनु थियो।

श्रीमान् बेलाबखत आउँथे, कहिले युद्धविराम भयो भन्थे, कहिले अन्तरिम संविधान बन्यो भन्थे, कहिले संविधानसभाको कुरो गर्थे, नयाँ संविधान र चुनावका कुरा पनि गरे। उनको अपूर्व उत्साह समयको क्रमसँगै प्रवाही बन्न सकेन। ज्यादै बढी सपना देखेकाले पो हो कि उनका आँखामा निराशाका रेखा तरंगिन थाले। प्रष्टताका लागि लगाइएको चश्माले सुदूर अस्पष्टता चिर्न सकिरहेको थिएन।

केही वर्षयताको कुरो हो, उनी राति बर्बराउँथे, दिउँसो मुरमुरिइरहेका भेटिन्थे।
एकपटक आमाले आँट गरेर सोधिन्, ‘के भयो ?’
रुन्चे स्वरमा उनले ‘लक्षण राम्रो छैन, के सोचेको, के भयो’ छोटो तर भावुक उत्तर दिएका थिए। बाहिरतिर जान पनि छाडे, एकोहोरिन थाले।
‘कुनै काम गरे हुने नि ?’

श्रीमतीको भनाइलाई नसुने झैं गर्ने त उनको पुरानै बानी हो। यही चाला रहने हो भने मान्छे बौलाउन के बेर भन्ने ठानी श्रीमान्लाई कडा वचन बोलेरै भए पनि उनले ठेगानमा राख्ने सुर कसिन्।     

मनलाई रुवाएर भए पनि उनले रुखो शब्द प्रयोग गर्न नथालेकी होइनन्। तर विरक्तिएका श्रीमान्लाई आशाको सञ्जीवनी दिन उनी कदापि समर्थ बन्न सकिनन्।
एक दिन अचानक श्रीमान्को मलिन मुखबाट ‘मलाई माफ गर, मैले घर, परिवारका लागि केही गर्न सकिनँ, म अब विदेश लागें’ कण्ठावरुद्ध स्वर सुन्दा आमाको मन च्यार्र च्यातिन पुग्यो।

रोक्न सकिनन्, गह भरिए। श्रीमान्को फेरिएको रूप, रंग देख्दा बरु विदेशै गए राम्रो होला कि भन्ने उनलाई पनि लाग्यो। शिर निहुराई सहमति दिएकी मात्र के थिइन्, मुन्टो उठाउँदा निकै पर पुगिसकेका रहेछन्। त्यसपछि छुटेको उनको भक्कानो रातभर थामिएन। विदेश गएका श्रीमान्को कुनै खबर छैन। गएका ठाउँको समेत पत्तो छैन। उनका साथीसँगीसँग सोध्दा पनि कुनै जानकारी पाइएन। सम्झियो कि मन, मुटु निचोरिएर आउँछ।

अज्ञात भयले संसारै अन्धकारमय प्रतीत भए तापनि आशावादिताको दियो बाल्न उनले छाडेकी छैनन्।
कतै छोरो पनि बाउजस्तै हुने हो कि आमाको पिरलो यही हो। सुँक्कसुँक्क गरिरहेकी आमाका आँखाबाट बलिन्द्र धारा छुटिरहेका छन्।  रोइरहेकी आमाको द्रवित मनोभाव छोराको आँखाले देख्यो कि देखेन, देखेको भए, मनले बुझ्यो कि बुझेन, मनले बुझेको भए बुद्धिले गम्यो कि गमेन, खै ! तर ऊ एकतमासले झ्यालतिर टोहलाइरहेको थियो।

डेरातिर फर्किरहेको उही बदाम बेच्ने युवकको टाढिँदो स्वर परबाट अझै सुनिंदै थियो–
गयो बदाम गयो
मिठो बदाम गयो।  
सोलुखुम्बु घर, राई मेरो थर
बदाम बेची खानलाई केको लाज, डर
गयो बदाम गयो
गयो...।

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App