८ वैशाख २०८१ शनिबार
अन्य

शक्ति

सुशीला देउजा                                                                      
‘ढिलै भए पनि ल बाबु छोरा नै भयो बधाई छ’ भन्दै सु“डिनी भाउजूले लुगामा गुटुमुटु पारिएको सुन्दर बच्चा देखाउनु भयो। बल्लतल्ल सन्तानको मुख देख्न पाएको हर्कबहादुरको खुसीको सीमा थिएन। आफ्नो सपना साकार भएको महसुस गर्दै भविष्यका मीठामीठा कल्पनामा डुब्दै थियो। इलामको दुर्गम गाउँको एउटा किसान परिवार हर्कबहादुर एक्लैलाई कामले भ्याईनभ्याई भइरहेछ। छोराको बाबु बनेदेखि उसलाई पहिलेभन्दा बढी जाँगर चलेको छ। खेतमा काम गर्दा पनि कहिले घर पुगूँ जस्तो हुन्छ। कामबाट आउँदा बाहिरबाट नै ‘ए बाबूकी आमा छोरा के गर्दै छ’ भन्दै रमाउँदै भित्र पस्छ। छोरासँग खेल्दाहाँस्दा उसको पूरै थकाइ हराउँछ। अझ  उत्साह बढेर आउँछ। बलवान् होस् भनी माया गरेर छोराको नाम ‘शक्ति’ राखे। छोरा शुक्ल पक्षको चन्द्रमा जस्तै बढ्दै थियो।

बामे सर्ने बेला भएको छोराको कताकता एउटा खुट्टा लुलो हो कि जस्तो आमालाई लाग्यो। उनलाई सिंगो आकाशले थिचेजस्तै भयो । श्रीमान्लाई देख्ना साथ रुँदै ‘लौन हेर्नुस् न बाबूको त एउटा खुट्टा लुलो जस्तो लाग्यो’ भनी। ‘के भन्छे यो’ भन्दै हर्क आत्तियो। हतारहतार गाउँको स्वास्थ्यचौकीमा पु-याए। सबै कुरा जाँचे र भने ‘तपाईहरूले शंका गरे जस्तै यो बाबूको जन्मँदादेखि नै खुट्टा लुलो रहेछ’। ‘यसको उपचार यहाँ हुन सक्दैन। सहरको ठूलो अस्पतालमा लगे राम्रो हुन सक्छ कि’ भने।

खेतीपातीमा निर्भर हर्कको परिवारलाई वर्ष दिनसम्म मुस्किलले खान पुग्छ। अरू केही आयस्रोत छैन। चिन्तित बाबुआमाले गाउँमै झारफुक गराए। भगवान् भाके। गाउँमा हुन सक्ने जति सबै उपाय गरे। अहँ, कुनै सुधार भएन। उनीहरू गरीब थिए। ठूलो अस्पतालमा लैजाने इच्छा हुँदाहँुदै मन कुडाउँदै बसे। शक्ति ठूलो हुँदै गयो। ऊ जता पनि खुट्टा लछार्दै हिँडेर पुग्छ। बच्चाहरू उसको नकल गर्दै ‘ऊ लुले आयो।  हामीलाई भेट्टाउला है’ भन्दै हाँस्दै टाढा भाग्छन्। उसका कोही साथी छैनन्। खिन्न मनले सोच्छ ‘किन मलाई सबैले हेला गरेका। किन कोही पनि मेरो छेउमा पर्न मन पराउँदैनन’। उसले आमालाई पनि सोध्यो ‘आमा किन मलाई कसैले पनि मन पराउँदैन’? आमाले ‘मेरो राजा, मेरो प्यारो छोरा। अरूले किन मन पराउनु प-यो। हामी छँदै छौ नि’ भनी माया गर्नु भयो।

शक्ति आठ वर्षको भइसक्यो। केटाकेटी किताब च्यापेर खेल्दै रमाउँदै उसको घर छेउबाट स्कुल जान्छन। खुट्टा लछार्दै आँगनमा आएर उनीहरू गएको टुलुटुलु हेर्छ। उसमा पढ्नु पर्छ भन्ने चेतना आइसक्यो। स्कुल जान रहर लाग्न थालेको छ। आफू पनि त्यस्तै गरी रमाउँदै स्कुल गएको कल्पना गर्छ। बाबुआमा उसलाई स्कुल पठाउने कुरै गर्दैनन्। एक दिन खाना खाने बेला ‘आमा, म कहिलेदेखि स्कुल जाने’ भनी प्रश्न गर्छ। बुबा खोई के कुराले हो चिढिनु भएको ‘यसले यस्तो खुट्टाले कसरी स्कुल जाऊँला भनेर सोचेको होला’ भन्दै रिसाउँछन्। शक्ति निन्याउरो मुख लगाएर सोचमा डुब्छ। आमा छेउमा आएर सुमसुम्याउँदै ‘किन जाँदैन मेरो छोरा। स्कुल जान्छ। धेरै पढेर सबैलाई जितेर देखाइदिन्छ। हकि बाबू’ भन्दै माया गर्नु भयो।  

बुबाको कुराले दुःखी भएकी आमाले भोलिपल्ट छोरालाई पिठ्यूँमा बोकेर स्कुल पुग्नु भयो। प्रधानाध्यापकको कोठामा पुगेर शक्ति र आमाले एकैसाथ ‘नमस्ते मास्टर साब’ भने। ‘नमस्ते के कामले आउनु भयो’ ? ‘मेरो छोराले पढ्न सा¥है रहर गरेको छ। यसलाई भर्ना गर्न ल्याएको’ ‘हो बाबू पढने हो’ भनी माया गरेर सोध्नु भयो। शक्तिले ‘हो’ भनी टाउको हल्लायो। ल त भनी भर्ना गर्ने सबै कुरा मिलाइदिनु भयो। ‘भोलिदेखि स्कुल आउने है’ भन्नु भयो। आमाछोरा खुसी हुँदै घर फर्किए।

भोलिपल्ट आमा छोरालाई लिएर ठिक समयमा स्कुल पुग्नु भयो। छोरालाई उसको क्लासमा पु¥याएर घर फर्कनु भयो। शक्ति खुसी हुँदै एउटा बेन्चमा गएर बस्यो। उसलाई देखेर त्यो बेन्चमा कोही केटाकेटी पनि बस्न आएनन्। उसलाई उल्याउँदै टाढाटाढा बसे। मास्टर साबले उसलाई माया गर्दै राम्रोसँग सम्झाएर पढाए। बेलुका फेरि आमा लिन आउनु भयो। स्कुलमा पढ्न पाएर खुसी भएको शक्तिलाई यस्ता सानातिना कुराले कुनै असर गरेन। यस्तै तरिकाले केही समय चल्दै गयो। अब शक्तिले स्कूल आफैँ जाने सोच बनायो। त्यसको लागि काठको पाङग्रा भएको गुड्ने पिर्का जस्तो र हातमा लगाउने रबरको बाक्लो प्याड जस्तो बनायो। अनि आमालाई भन्यो ‘आमा अब म आफैँ जान सक्छु।  तपाई पीर नगर्नुस्’। एक्लै छोड्न भर नलागेर केही दिनसम्म आमा सँगसँगै जानु भयो। साथीहरू उसलाई छेउमै पर्न दिँदैनन्। एक्लो परेको शक्तिले आफ्नो पूरा ध्यान पढाइमा लगायो।

अब साथीहरूसँग फाल्तू कुरा गरेर समय खेर फाल्दिन भन्ने सोच बनायो। एकाग्र भई नयाँनयाँ कुरा सिक्न थाल्यो। उसको अनुशासन र लगनशीलता देखेर मास्टर साबहरू खुसी हुनु भयो। उसको प्रशंसा गर्न थाल्नु भयो। असल विद्यार्थीको नाम लिनु परे उनकै लिन थाले। उसको यस्तो असल गुण देखेर साथीहरू लज्जित भए। उसको नजिक भई साथी बनाउन तँछाडमछाड गर्न थाले। उसको भित्री शक्ति र गुणले यसपल्ट ऊ क्लास टप भयो। उसको असल बानीलाई सबैले पछाउन थाले। शक्ति अब ज्यादै खुसी छ। ऊ अझ बढी पढाइमा मन लगाउँदै छ। आफ्नो सपना पूरा गर्दै छ।   

 

प्रकाशित: १८ जेष्ठ २०७६ ०४:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App