coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

आँखीझ्यालबाहिर १३ महारथीहरू

आँखीझ्याल नेपाली संस्कृतिको यौटा अनुपम दृष्टान्त हो। गीतकार र गद्य सर्जक रमण घिमिरेले आफ्नो नवीन पुस्तकको नाम ‘आँखीझ्याल’ रोजे। यो रोज्नुमा राम्रै मष्तिष्क मन्थन गरेको हुनुपर्छ। आँखीझ्याल त्यस्तो झ्याल हो, जसबाट संसार त चियाउन सकिन्छ। तर, त्यसभित्र दृष्टिगोचर गर्न सकिन्न। यो वडो अर्थपूर्ण मिथक हो। पुस्तकमा १३ थान गद्य रचना छन्, जसलाई व्यक्ति–निबन्ध नाम दिइएको छ। हुन पनि यी १३ निबन्ध नेपाली वाङ्मयका साधकहरू, गायक, संगीतकार, कलाकारको जीवनमा आधारित छन्। अन्तर्वार्ता, जीवनी र संगतको अन्तरघुलनले बनेको गद्य भएकाले यसमा जीवनीको स्वाद, अन्तर्वार्ताको मिठास र लेखक र तिनका बीचको अन्तरंगताले उजागर भएका नयाँ र आश्चर्य लाग्दा प्रसंगका सुवास पाउन सकिन्छ। लेखकको मूल्यांकन र धारणाको पनि जलप महसुस गर्न सकिन्छ।

विविध समय र प्रसंगमा यस्ता निबन्धहरू लेख्ने गरेका हुन् रमणले। उनका यस प्रकारका पुस्तक यसअघि पनि प्रकाशित भइसकेका हुन्। यसमा समेटिएका प्रतिभाहरूमा रामशरण दर्नाल, क्षेत्रप्रताप अधिकारी, ईश्वरवल्लभ, डायमण्डशमशेर राणा, अम्बर गुरुङ, फत्तेमान, कमल दीक्षित, माणिकरत्न, भीमविराग, भीमवहादुर थापा, राममान तृषित, जगदीश घिमिरे तथा पेमाला गुरुवाचार्य छन्।

आँखीझ्यालबाट हेर्दा ठूलो संसार त देखिन्छ तर सानासाना प्वालबाट। सानो झ्यालको टुक्राटुक्राबाट हेर्दा जसरी खण्डित देखिन्छ, त्यस्तै यी व्यक्ति–निबन्ध पनि खण्डित छन्– जीवनी, संस्मरण, अनुभूति, अन्तरवार्ता र निजी जीवनका पटाक्षेप नभएका तथ्यहरूमा। त्यो सबको घुलन भएकाले यी निबन्धहरू रोचक, कतै सस्पेन्स जस्तो त कतै आश्चर्यलाग्दो बन्न पुगेका छन्।

रमणले आफैँले खोतलेर होस्, कतै सुनेकोबाट होस् वा समकालीनहरूको अनुभव र स्मरणबाट पनि किन नहोस्, तत्तत् व्यक्तिका जीवनका ओझेलमा परेका कथा र प्रसंग पाठकमाझ प्रस्तुत गर्ने जमर्काे गरेका छन्।

अम्बर गुरुङको निबन्धमा जीवनका अत्यन्त रोचक घटनाक्रम छन्। आफूले कुनै बेला मन पराएकी युवती वर्षाैंपछि दलाई लामाको धर्मशालामा अचानक आनीको भेषमा भेटिनु र आँखाले मात्र बात मार्नु कुनै रोचक उपन्यासको अंशजस्तो लाग्छ। त्यस्तै, तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सङ्गीत विभाग प्रमुख रहेका बेला सदस्य–सचिव सत्यमोहन जोशीले आफ्नो एउटा गीत अरूणा लामाले उनको संगीतमा गाएको राजेन्द्र थापाको लोकप्रिय गीत–‘पोहोर साल खुसी फाट्दा...’ जस्तो रेडियोमा बज्ने गरी संगीत होस् भन्ने आग्रह गर्दा घुमाउरो पाराले अस्वीकार गरेको प्रसंग पनि उल्लेखनीय छ।

रमणले आफैँले खोतलेर होस्, कतै सुनेकोबाट होस् वा समकालीनहरूको अनुभव र स्मरणबाट पनि किन नहोस्, तत्तत् व्यक्तिका जीवनका ओझेलमा परेका कथा र प्रसंग पाठकमाझ प्रस्तुत गर्ने जमर्काे गरेका छन्। उनले प्रत्येक व्यक्तिलाई एउटा–एउटा उपमा दिएका छन्, जस्तै ः अम्बर गुरुङलाई ‘एक साधक प्रेमी’, ईश्वरवल्लभलाई ‘विद्रोही कवि’, कमल दीक्षितलाई ‘लोटस जेम’, क्षेत्रप्रताप अधिकारीलाई ‘जमिनदेखि आकाशसम्म’, जगदीश घिमिरेलाई ‘ऊर्जाशील व्यक्ति’, डायमण्डशमशेर राणालाई ‘दुर्घटनाले जन्मिएका लेखक’, पेमाला गुरुवाचार्यलाई ‘नारायण गोपालकै लागि जन्मिएकी’, फत्तेमानलाई ‘झूटलाई घृणा गर्ने तर सधैं एउटा झूट बोल्ने’, भीम विरागलाई ‘आकाश देख्न नपाएका आकाश’, भीमबहादुर थापालाई ‘बन्दुकदेखि अभिनयसम्म’, माणिकरत्नलाई ‘नारायण गोपालका गुरु’, रामशरण दर्नाललाई ‘नेपाली संगीतका पाठशाला’, राममान तृषितलाई ‘उनी आफ्नो गीतजस्तै भएर गए’ उपमा दिएका छन्।

यी रचनाहरू व्यक्तिपरक भएर पनि जीवनी भने होइनन्। तर, जीवनका पाटाहरू प्रशस्त खुलेका छन्। औपचारिक र अनौपचारिक दुवै पाटाहरूको सम्मिश्रणले यिनलाई रोचक बनाएको छ। नेपालका नामी गायकहरू कुनै वेला भजन गाएर उठेका हुन् भन्ने फत्तेमानको कथन रोचक लाग्छ– ‘फत्तेमान मलाई औँला भाँचेर गन्ती गराउँथे– नाति दाइ गुह्येश्वरीमा भजन गाएर, शिवशंकर कालिमाटीमा भजन गाएर, नारायणगोपाल सेतो मच्छिन्द्रनाथमा भजन गाएर, फलानो ढिस्कानो फलानो ढिस्कानो मन्दिरमा भजन गाएर गायक भएका हुन्।’

यी निबन्धहरूको अर्काे विशेषता के हो भने १३ प्रतिभाहरूको निबन्धभित्र अरू प्रतिभाहरू पनि टड्कारो रूपमा आएका छन्, जस्तो– नारायणगोपाल। रमणले यस पुस्तकमा नारायणगोपालको व्यक्ति–निबन्ध लेखेका छैनन्। तर, पेमाला गुरुवाचार्य, भीम विराग, माणिकरत्न लगायतका व्यक्ति–निबन्धहरूमा नारायणगोपालको अनौपचारिक व्यक्ति–निबन्धको सिर्जना भएको छ। वास्तवमा यी व्यक्ति–निबन्धहरूले ती व्यक्तिहरूको जीवन र परिवेश मात्र होइन, तिनले बाँचेको कालखण्ड पनि  समेटेको छ। एउटा युग र युगीन घटना र परिवेशलाई उजागर गरेको छ।

ईश्वरवल्लभको जीवन एउटा उपन्यासजस्तै थियो। रमणले त्यसलाई उपन्यासको पारामै प्रस्तुत गरेका छन्। दार्जिलिङमा कविगोष्ठीको निम्तो गर्दा ईश्वरवल्लभले लेखेको निम्तोपत्रको व्यहोरा यस्तो थियो, ‘कविगोष्ठीमा बुद्धि भएका र कविता बुझ्नेले मात्र आउनू। नबुुझ्नेले नआए हुन्छ, हामीलाई बुझ्ने स्रोता चाहिन्छ, भीड होइन। भीडतन्त्रको हामी विरोधी छौं।’ यसले दार्जिलिङमा तरंग ल्याएको प्रसंग रोचक छ। ईश्वरवल्लभको यो प्रसंगका स्रोतव्यक्ति भने वैरागी काइँला हुन्।

यस पुस्तकमा आयामेली साहित्यकार त्रयमध्ये विद्रोही कविका रूपमा ईश्वरवल्लभको मात्र व्यक्ति–निबन्ध भए पनि सिंगो आयामेली आन्दोलनको कथा भने विभिन्न व्यक्ति–निबन्धबाट आएको छ। यस हिसाबले यी व्यक्ति–निबन्धहरू तत्कालीन समयको दस्तावेज पनि हो। तर, ईश्वरवल्लभको व्यक्ति–निबन्धमा रमण एक ठाउँमा चुकेका छन्। रमणले लेखेका छन्, ‘...उनी जगदीश घिमिरेको आग्रहमा परिवार नियोजन हेर्ने संस्था सिआरएस प्रोजेक्टमा आवद्ध भए। विभागीय प्रमुख भएर दुई वर्ष काम गरे।’ ‘...त्यहाँ अझै काम गर्थें होला। तर, एक जना दरबारिया हाकिमसँग कुरा मिलेन र छोडिदिएँ।’

यो प्रसंगमा त्रुटि छ। ईश्वरवल्लभले सिआरएस प्रोजेक्टमा कहिल्यै काम गरेनन्। उनले परिवार नियोजन संघमा काम गरेका हुन्। त्यतिबेला त्यसको कार्यालय राष्ट्रिय नाचघरको उत्तरतिर अहिले एडुकेसनल बुकको सो रुम भए छेउछाउमा थियो, जहाँ मैले उनलाई पहिलोपल्ट भेटेको थिएँ ०३७ सालमा। त्यहीँ कोही शाह खान्दानका होचो कदका हाकिमसँग उनको ¥याङठ्याङ नमिलेको हो। ती हाकिमलाई उनले ‘फुच्चे’ उपमा दिएका थिए। कथाकार पद्मावती सिंह पनि त्यहीँ काम गर्थिन् ईश्वरवल्लभले काम गर्ने बेलामा।

मान्छेका जीवनका पाटाहरू पत्ता लाउन गाह्रो हुन्छ। सहयात्रामा धेरै कुरा उजागर हुनसक्छ। तर, वैयक्तिक घटना र परिवेशलाई उधिन्नका लागि विश्वासका आधारशिलाको निर्माणबिना त सम्भवै छैन। तर, आफ्नो पेसाको प्रकृतिका कारण रमणले विश्वास जित्ने अवसरहरू पाए, त्यो अवसरलाई मर्यादित ढंगले उपयोग गर्ने क्रममा यी व्यक्ति–निबन्धहरूको सुन्दर फूलबारीको निर्माण भएको हो। त्यो फूलबारीको अर्काे सुन्दर नाम ‘आँखीझ्याल’ हो।
आँखीझ्याल
लेखक : रमण घिमिरे
प्रकाशक : मञ्जरी पब्लिकेसन
मूल्य :रू. २३५।–

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App