८ वैशाख २०८१ शनिबार
अन्य

दलचोकी कलिङ

नेपाली समाजमा एउटा उखान छ –‘न्याय नपाए गोर्खा जानु’ । पछिल्लो समय ‘स्वास्थ्य नपाए दलचोकी जानु’ भन्न सकिने अबस्था आएको छ। ललितपुरको दलचोकी स्वास्थ्य पर्यटनधाम बन्दै छ। त्यहाँको निरोग आनन्दधामले स्वस्थ र निरोगी रहने व्यावहारिक ज्ञान बाँड्दै आएको छ।

हरियाली जंगल बीचमा छ तीन तले आनन्दधाम। त्यहाँ (२,१६५ मिटर)बाट चारैतिर सुन्दर दृश्य देखिन्छ। प्रकृतिप्रेमी समूहले ‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ लिन व्यवहारिक अभ्यास गर्ने थलोका रुपमा आनन्दधाम बनाएको हो। सात रोपनीमा फैलेको आनन्दधाममा ठूलो डाइनिङ हल र योग हल छन् जहाँ एकैपटक सय जनाले आवासिय ध्यान, योग र उचित आहार, विहार र विचार (उआविवि)को अभ्यास गर्न पाउँछन्।  

आजकल मानिस व्यस्त जिवनशैली, अनुचित आहार, बिहार र विचारका कारण रोग र दुःखको भुमरीमा छन्। आनन्दधाममा स्वस्थ रहन प्रकृतिमै रहेको सरल विधि उचित आहार विहार र विहार (उआविवि) को अभ्यास गराइन्छ। कतिपय मानिस निरोगी रहन खोज्दाखोज्दै पनि घरमा उचित वातावरण नहुनाले उआविविको अभ्यास गर्र्न सक्दैनन्। त्यस्ता व्यक्तिले आनन्दधाममा उआविवि अभ्यास गर्न पाउँछन्।

हाम्रो स्वास्थ्यको जिम्मेवारी हाम्रो आफ्नै हो। स्वास्थ्य आफ्नै हातमा लिए सधैं निरोगी र आनन्दित रहन सकिन्छ। यसका लागि आनन्दधामले एक दिनदेखि ३ दिने र सात दिने शिविर, ध्यान शिविर आदि चलाउँछ। सात दिने शिविरमा जिर्ण, दीर्घ रोग सुगर, प्रेसर लगायत मोटोपन भएकाहरुले बसेर लाभ लिइरहेका छन्। शिविरमा बस्दा अचम्मको परिवर्तन हुन्छ। सय युनिटसम्म इन्सुलिन लिएकाहरु शिविरको खानपानले तीन दिनमै विस्तारै इन्सुलिन घटाउँदै र लिनै नपर्ने अवस्थामा पुगेका उदाहरण छन्। त्यसैगरी बाथले घुँडा, खुट्टा दुखेर हिँड्न नसक्नेहरु तीन दिनमै विस्तारै हिँड्न सक्ने भएका छन्। मोटोपन त सात दिनमा सातै किलो घटेको रेकर्ड छ।

शिविरमा निरोगी कसरी रहने, दुःखबाट मुक्त कसरी हुने, योग र ध्यानको साँचो ज्ञान दिइन्छ। जबसम्म मानिसले आफ्नो स्वस्थ्यको जिम्मेवारी आफैं लिँदैन तबसम्म स्वस्थ रहन सक्दैन। यही व्यावहारिक ज्ञान आनन्दधाममा दिइन्छ।   हामीमा आउने स्वास्थ्य समस्या हामीले गरेको खानपान र विचार नमिलेर आउँछ। स्वस्थ रहन यी तीन चिज मिलाए पुग्छ। यही अभियान अघि बढाउन ललितपुरको सातदोबाटोमा रहेको प्रकृतिप्रेमी समूह क्रियाशील छ। समूहले विगत १८ बर्ष देखि ‘आस्वा आहा’ भन्ने मुल मन्त्र बोकेर निरोगी रहन प्रेरित र सहयोग गर्दै आएको छ।

स्वस्थ रहने मापदण्ड उचाई अनुुसार तौल कायम राख्नु हो। सबै रोगको मुल कारण कब्जियत र मोटोपन हो। त्यसैल उचाई अनुसार तौल कायम राखेर स्वस्थ हुनु पर्छ। स्वस्थ रहने यही नियमलाई अनुशासित रुपमा पालन गरेमा हामी सदा स्वस्थ रहन सक्छौं। यसरी हामी आफ्नो डाक्टर डाक्टर आफैं बन्नु पर्छ। राजधानिसंग कुम जोडेर बसेको दक्षिण ललितपुरको सुन्दर गन्तव्य दलचोकीमा छ आनन्दधाम। आनन्दधामकै कारण पनि दलचोकी चिनिँदै छ।

डाँडा आफैंमा प्राकृतिक भ्यू टावर हो। दलचोकीको सबै भन्दा अग्लो ठाउँ (२,३०० मिटर)मा भ्यू टावर र पिकनिक स्पट बन्दैछ। डाँडाबाट सूर्योदय र सूर्यास्त देखिनछ। आकाश उघ्रिएका बेला हिमालको फेरो देखिन्छ अन्नपूर्ण, मनास्लु, गणेश, दोर्जे लाक्पा, लाङटाङ, गौरीशंकर लगायत। तलतल पुरा उपत्यका छर्लंग देखिन्छ। अनौठो मौसम हुन्छ दलचोकीको। छिनमै घाम लाग्छ, छिनमै बादल मडारिन्छ। छिनमै भुइँकुहिरो उठ्छ। विहानीपख दलचोकीबाट चारैतिर हेर्दा बादलको तलाउ देखिन्छ। 

त्यहाँको गोठ भन्ज्याङमा रहेको दलचोकी मन्दिरको नामले गाउँको नाम दलचोकी रहन गएको भनाई छ। उहिल्यै  नेपाल एकिकरणताका सेनाहरु यहाँ आउँदा जंगली जनावरको आक्रमणबाट तितरवितर भएछन्। त्यसपछि सबै सेनालाई एकत्रित पारेर यहाँ देवीको मूर्ति स्थापना गरेर चौकी बनाइएछ। सेनाको गणले पूजा गरेर चौकी स्थापना गरेको हुनाले देवीको नाम दलचौकीदेवी राखिएछ। त्यही देवीको नामबाट गाउँको नाम रहन गयो।

डाँडामा दलचोकी माईको मन्दिर मात्र होइन, मनकामना मन्दिर पनि छ। गाउँमा बाहुन, क्षेत्री, तामाङ, मगर, नगरकोटी र सुनुवार समुदायको बसोबास छ। गाउँले कृषिमा निर्भर छन्। गाई, बाख्रा र कुखुरा पालन गर्छन्। गाउँमा खाजा घर छन्। होटल छैन। पहिला सामुदायिक होमस्टे थियो तर १२ वैशाखको भुकम्पले त्यसमा क्षति पु-यायो। बन्द भयो। हाल होटल सञ्चालनमा छ। 

प्रकृतिप्रेमी समूहले निरोग आनन्दधाम बनाएसँगै ललितपुरको दलचोकी स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा चिनिँदै छ । समूहको १४३ औं हाइकिङ पनि दलचोकीमै भएको थियो । त्यो डाँडाको शिरानमा स्थानीय गाउँपालिकाले भ्यू टावर पनि बनाउँदै छ ।  

प्रदूषणबाट टाढा शान्त र शितल गन्तव्य  दलचोकीलाई  काठमाडौंको भेडेटार भन्न सकिन्छ। मनसुनमा भुईँकुहिरोमा डुबुल्कि मार्छिन भने अरु बेला चारैतिर बादलको तलाउ देखिन्छ। वर्षैभरि शितल हुने भएकाले गर्मी छल्न र विकेण्ड मनाउन सकिन्छ।  

दलचोकीबाट धेरैतिर पदयात्रा गर्न सकिन्छ। त्यहाँबाट ६ किमिमा नल्लु पाथीभरा पुग्न सकिन्छ भने ७ किमिमा भट्टेडाँडा। त्यतिमात्र होइन दलचोकी भएर शंखु, भारदेऊ, गोटीखेल, माझखण्ड, गिम्दि, कालेश्वर आदि ठाउँमा पदयात्रा गर्न मिल्छ। 

दलचोकी क्षेत्रका हरियाली, मठ मन्दिर र गाउँले मुस्कानलाई जोडेर पर्यटन विकास गर्न सके दक्षिण ललितपुर चाँडै सुन्दर पश्चिम जस्तै चम्किन सक्छ। तर अहिले पर्यटन मन्त्रालय, पर्यटन बोर्ड लगायत सरोकारवालाको यता ध्यान पुगेको छैन। यहाँका बस्तीमा पर्यटन र होमस्टे तालिम दिएर पर्यटनको विउ रोप्ने हो भने दक्षिण ललितपुरका गाउँलेलाई आय आर्जका लागि सजिलो हुनेछ। 

यहि दक्षिण ललितपुरलाई पर्यटकीय हिसाबले प्रचार गर्न प्रकृतिप्रेमी समूहले बेलाबेलामा तीन दिनदेखि एक सातासम्मको पदयात्रा गराउँदै आएको छ। गत वैशाख २५ गते हाम्रो समूहको १४३ औं पदयात्रा त्यहीँ भएको थियो।
त्यो बिहान नल्लु भन्ज्याङ हुँदै नल्लु पाथीभरा भएर दलचोकी मनकामना जाने हाम्रो योजना थियो। त्यसैले बिहान १० वटा बसमा सातदोबाटोबाट चापागाउँ पुग्यौं। चापागाउँमा गाडीहरु रोकियो। भएछ के भने सडक चाँडै राम्रो बनाउने माग राखेर सरकारलाई दबाब दिन स्थानीयले बिहान दुई घण्टा गाडी जाम गरेका रहेछन्। विडम्बना ! हाम्रा देशका सबै गाउँको अवस्था यस्तै छ। सडक सबै विग्रेको, गाडी चल्दा धुवाँधुलो। के विकास निर्माणका लागि सधैं जनताले यस्तै आन्दोलन गर्नु पर्ने हो ? अनि यसरी बन्द गर्दा सरकारले चाँडै बनाउँछ त ?

‘अब के गर्ने’, साथीहरु सोध्न थाले। वास्तवमा पदयात्रा भनेको सप्ठेरो ठाउँमा, सजिलो अवस्थामा मात्र हिँड्नु होइन, जस्तोसुकै अवस्थामा पनि शान्त रहेर परिस्थिति अनुसार जे गर्नु पर्छ त्यो गर्दै धैर्यसाथ अप्ठेरोको सामना गर्नु हो।
पदयात्राले शरीर बलियो र स्वस्थ गराउनुका साथै आत्मबल बढाउन, अनुशासित र संयमित हुन सहयोग गर्छ। यात्राले देशको अबस्था बुझ्न त सघाउँछ नै। 

हामीले त्यहाँ केही बेर छलफल ग-यौं। अनि हाम्रो पदयात्रा चापागाउँबाटै सुरु भयो। हामी हिँडेर लेले टिकाभैरब पुग्यौं। टिकाभैरब प्रख्यात तीर्थस्थल हो। अचम्म त्यहाँ कुनै मूर्ति छैन। ठूलो ढुंगा मात्रै छ। मन्दिर नजिकैबाट नल्लु खोला छ।
हामीले केही बेर त्यहाँ आराम ग¥यौं। चापागाउँमा बाटो खुलेपछि हाम्रा गाडीहरू आइपुगे। हामी सबै जना गाडीमा बसेर मल्ल होटल, सैनिक पोष्ट हुँदै देवी डाँडासम्म गाडीमै गयौं। त्यहाँबाट ४५ मिनेट हिँडेर आनन्दधाम पुग्यौं। आनन्दधाममा हाम्रो लागि खाना पाक्दै थियो–ब्राउन राइस, दुई थरी हरियो तरकारी, चना र अचार थियो। साथमा सलाद पनि।
प्रकृतिप्रेमी समूहले आयोजना गर्दै आएको हाइकिङ कार्यक्रम १२ बर्ष पुरा भएर तेह्र वर्ष प्रवेश गरेकाले पदयात्रा पछि

विशेष कार्यक्रम राखिएको थियो। हामीले स्वास्थ्य सन्देश बाँड्दै स्वस्थ पर्यटन प्रवद्र्धन गर्न हरेक महिनाको चौंथो शनिबार काठमाडौंका डाँडापाखामा हाइकिङ गराउँदै आएका छौं। त्यसैगरी बर्षको दुई पटक काठमाडौं बाहिर बहुदिने पदयात्रा गर्छौं। हाइकिङ अभियान १३ बर्षमा टेकेको अबसरमा आयोजित कार्यक्रममा जनप्रतिनिधिहरूको पनि सहभागीता थियो। हाम्रो समूहका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले सञ्चालन गरेको कार्यक्रममा ५० पटक भन्दा बढी हाइकिङ गर्ने हाइकर्सलाई सभासद नवराज सिलवालको हातबाट प्रमाणपत्र प्रदान गरियो।

त्यो दिन हाम्रो हिँडाई कम भयो। तर, कार्यक्रम फलदायी बन्यो। हामी कार्यक्रम पछि गाडीमै फर्कियौं। ओरालो झर्ने बेला स्थानीय वडाध्यक्षले ‘हामी भ्यू टावर बनाउँदैछौं’ भनेको सम्झिएँ। साँच्चै टावर र पिकनिक स्पट बनेपछि दलचोकीमा चहलपहल बढ्ने छ।
यतिवेला दलचोकी क्षेत्रमा ऐंसेलु पहेंलपुर छ। गर्मी छल्न, ऐंसेलु खाँदै दलचोकी पुग्ने कि ! 

कसरी पुग्ने: सातदोबाटो, ललितपुरबाट २० किलोमिटर दूरीमा दलचोकी। मोटर बाटो दलचोकीसम्मै पुग्छ। हाइकिङ गर्दा लगनखेलबाट लेले जाने गाडीमा टीकाभैरवसम्म गाडीमा। टीकाभैरबबाट सानो भैंसे, मल्ल होटल, सैनिक क्याम्प हुँदै निरोग आनन्दधाम र त्यहाँबाट मनकामना मन्दिर, शिखर्पा हुँदै टिकाभैरबसम्म पदयात्रा। टिकाभेरब–दलचोकी ७ किमी। हाइकिङ दूरी १४ किलोमिटर।

भ्यू टावर
तिलक बहादुर भोम्जन
वडा अध्यक्ष, कोन्ज्योसोम गाउँपालिका  
दलचोकीबाट चारैतिर राम्रो दृश्य देखिन्छ। त्यसैले हामी तीन वर्षे योजना अन्तगर्त भ्यू टावर बनाउँदै छौं। गएको बर्ष डिपिआर बनाएर यसपालि निर्माण सुरु गरेका छौं। तीन तले भवन बनाउँछौं। एउटा तलामा ५० जनासम्म बस्न मिल्नेछ। टावर वरपर ८ वटा पिकनिक स्पट बनाई सकेका छौ। भ्यूटावर सम्मै मोटर बाटो लैजाने काम पनि भैरहेको छ। हामी गाउँमा होमस्टेलाई व्यबस्थित गर्ने छौं। साथै मनकामना मन्दिर क्षेत्रलाई व्यवस्थित गरी तीन तले मन्दिर बनाउने योजना छ।

प्रकाशित: १८ जेष्ठ २०७६ ०३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App