४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमती कार्यान्वयन हुनुपर्छः गौतम

शमशेरविक्रम जिसी
प्युठान - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति कार्वान्वय हुनुपर्ने बताएका छन्। प्युठानमा शुक्रबार आयोजित एक कार्यक्रममा नेता गौतमले भने, ‘सहमति जे भएको छ त्यो कार्यान्वयन हुनुपर्छ। सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ। सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो त्यसैअनुसार काम हुन्छ, हुनुपर्छ, कसैले उल्लंघन गर्दैन।’

सरकार सञ्चालनका लागि नेकपाले ५ वर्षको म्यान्डेट पाएकाले अध्यक्षद्वयले आलोपालो सरकार चलाउनुपर्ने वा ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा दाहालले सार्वजनिक गरेपछि यसले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। एक टेलिभिजन कार्यक्रममार्फत दाहालले एकताअघि नै पार्टी अध्यक्ष र प्रधानमन्त्रीका विषयमा भएको सहमतिअनुसार चल्नुपर्ने दाहालले बताएका थिए। गौतमले दाहालले सार्वजनिक गरेको भनाइका पक्षमा मुख खोलेपछि पार्टीभित्र यो विषयमा थप बहस हुने संकेत देखिएको छ।

गौतमले सरकारले ल्याएको बजेट जनपक्षीय भएको बताए। ‘जनताको चाहना र आकांक्षाअनुसार बजेट आएको छ,’ उनले भने,‘जनपक्षीय बजेटका कारण सरकारको प्रशंसा भइरहेको छ।’ सरकारले अगाडि सारेका कार्यक्रमहरु कार्यान्वयन भएरै छाड्ने दाबी पनि उनले गरे। वैदेशिक ऋण बढी भयो नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘ऋण लिनै पर्छ। विकासका लागि विकसित देशहरुले पनि ऋण लिएका छन्। ऋणले नै देशलाई विकसित बनाउन पहल गर्छ।’

स्वरोजगार सिर्जना गर्न देशमा भएका खानी उत्खनन गर्नुपर्नेमा गौतमले जोड दिए। सरकार तत्कालीन र दीर्घकालीन योजनाहरु छुट्याएर कार्यान्वयनमा अघि बढिरहेको पनि गौतमले बताए।

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App