८ वैशाख २०८१ शनिबार
राजनीति

उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिइने

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग शुक्रबार नयाँदिल्लीमा भेट गरेका छन्। दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री ओलीले हैदरावाद हाउसमा भेट गरेका हुन्। भेटमा दुई मुलुकबीचको सम्बन्धलाई नयाँ उचाइमा पु-याउने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटमा दुवै प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्धमा भएको प्रगतिप्रति खुसी व्यक्त गरेका थिए। उनीहरुबीच दुई मुलुकबीचको सम्बन्ध थप विस्तार गर्दै आपसी हितका सम्भावित क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने तथा उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले समकक्षी मोदी र उनको दल भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा प्राप्त गरेको सफलताका लागि नेपाल सरकार र नेपाली जनताका तर्फबाट बधाई दिएका थिए। उनले मोदीलाई दोस्रो कार्यकालको सफलताको शुभकामनासमेत दिए। उनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट समेत सुभकामना सन्देश सुनाए।
भेटमा मोदीले निम्ता स्वीकार गरी शपथग्रहण कार्यक्रममा सहभागी भएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका थिए। प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीका तर्फबाट भारतीय राष्ट्रपतिलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा दिएका छन्। ओलीले भारतीय समकक्षी मोदीलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। ओलीको निमन्त्रणालाई मोदीले सम्मानका साथ स्वीकार गरेको मन्त्रालयले जनाएको छ।

मोदीलाई ओलीको उपहार रुद्राक्षको माला
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई दोस्रो कार्यकालको शुभकामना दिँदै रुद्राक्षको माला उपहार दिएका छन्। ओलीले नेपाली जनताको तर्फबाट मोदीलाई शुभकामनासहित रुद्राक्षको माला उपहार दिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीसकुमारले ट्विट गर्दै जानकारी गराएका छन्। धार्मिक स्वभावका भारतीय प्रधानमन्त्री मोदीको मनोभावलाई बुझ्दै ओलीले हिन्दु धर्ममा निकै ठूलो अर्थ राख्ने रुद्राक्षको माला उपहार दिएका हुन्।

भारतीय प्रधानमन्त्रीको निमन्त्रणामा बिहीबार नयाँदिल्ली गएका ओली बिहीबार शपथग्रहण कार्यक्रममा सहभागी भएका थिए। उनी शुक्रबार स्वदेश फर्किएका छन्। काठमाडौं आएपछि ओलीले भारतीय समकक्षी मोदीसँगको भेट, तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणका बेला भएको सत्ता साझेदारीसहितका विषयमा कुनै प्रतिक्रिया दिएनन्।

प्रकाशित: १८ जेष्ठ २०७६ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App