coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गाडी रिजर्भ गरेर बस्ती सरे राउटे

गाडी रिर्जभ गरेर दैलेख जाँदै राउटे समुदाय । तस्बिरः नगेन्द्र/नागरिक

सुर्खेत– जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदाय सुर्खेतबाट दैलेख सरेको छ। सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ गुमीमा बस्दै आएका राउटे शुक्रबार तीन वटा बस रिर्जभ गरेर दैलेखको गुराँस गाउँपालिकाको निगालपानी पुगेका हुन्।

गुराँस गाउँपालिकाले राउटे समुदायलाई अघिल्लो वर्ष स्थायी परिचयपत्र दिएको थियो। ‘तराईमा गर्मी धेरै भयो, गर्मी छल्नका लागि यहाँ आएका हौं’ निगालपानी पुगेका राउटे मुखिया दीलबहादुर शाहीले भने, ‘यहाँ त सितल रहेछ।’
राउटे समुदाय पहिलो पटक गाडी रिजर्भ गरेर बस्ती सरेका हुन्। ‘सुर्खेतको गुर्भाकोटबाट हिँडेर दैलेखको गुराँस गाउँपालिका आउन दुई–तीन दिन लाग्थ्यो’ मुखिया शाहीले भने, ‘बस रिर्जभ गरेर आउँदा तीन घण्टामै पुग्यौं।’ गुराँस गाउँपालिकासम्म राउटेलाई बसमा ल्याउन दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) र गाउँपालिकाले सहयोग गरेका थिए।

राउटे समुदायले अब बस्ती सर्दा हिँडेर नजाने बताएको छ। ‘हामी एउटै ठाउँमा बस्दैनौं, ठाउँठाउँमा बस्ती सर्दैै गछौं’ उनले भने, ‘अव बस्ती सर्दा हिँडेर जाँदैनौं, गाडी चढेर जान्छौं।’ राउटे समुदाय सात महिनाअघि दैलेखबाट सुर्खेत झरेको थियो। सुर्खेत हुँदै सल्यान र दाङसम्म पुगेर फर्कने यो समुदाय यो पटक भने बीचैबाट गुराँस फर्किएको हो। गाउँपालिका अध्यक्ष खेमराज वलीले राउटे समुदायको हेरचाह र सामाजिक सुरक्षा भत्ता वितरणमा सहज हुने भएकाले सुर्खेतबाट गाउँपालिकामा ल्याइएको बताए।

‘तराईतिर अत्याधिक गर्मी बढेकाले उनीहरुले पनि यहाँ आउने इच्छा राखे, हामीलाई नजिकमा हुँदा हेरचाह गर्न र सामाजिक सुरक्षा भत्ता वितरण गर्न सहज हुने भएकाले गाडी रिजर्भ गरेर ल्याएका हौं’ उनले भने, ‘गुराँसमा आउन पाउँदा राउटे समुदाय खुसी छ।’

राउटे समुदायसँग काम गर्दै आएको सामाजिक सेवा केन्द्र (सोसेक) का अध्यक्ष हिरासिंह थापाले राउटे समुदाय परिवर्तनको संघारमा रहेको बताए। ‘पहिले राउटे समुदाय आफू बस्ती सर्ने ठाउँको बारेमा भन्न मान्दैनथ्यो, अहिले आफै उनीहरु जानकारी दिन आउँछन्’ उनले भने, ‘राउटे समुदायमा पछिल्लो समय उल्लेख्य परिवर्तन भएको छ।’ पछिल्लो समय राउटे समुदायका बालबालिका अभिभावसँग लुकेर भएर पनि बढ्न थालेका छन्। राउटे समुदायको संख्या एक सय ४६ छ।

 

प्रकाशित: १७ जेष्ठ २०७६ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App