७ वैशाख २०८१ शुक्रबार
समाज

महानगरले शुरु गर्‍यो ‘स्मार्ट पार्किङ’

काठमाडौँ-  काठमाडौँ महानगरपालिले ट्राफिक व्यवस्थापनका लागि ‘स्मार्ट पार्किङ’ शुरु गरेको छ। सवारी साधनको अत्यधिक चापका कारण ट्राफिक चाप हुनुका साथै शहर अस्तव्यस्त भएपछि त्यसलाई व्यवस्थापन गर्न कामपाले स्मार्ट पार्किङ योजना बिहीबारदेखि शुरु गरेको हो।    
    
नयाँ वर्षको शुरुआतसँगै नगरवासीले सवारी पार्किङ व्यवस्थापनको समस्याबाट मुक्ति दिने भने पनि आन्तरिक छलफलका कारण एक महीनापछि मात्रै उक्त सेवा शुरु गरेको हो। कामपाले नयाँ सडक आसपासका पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्थापन शुरु गरेसँगै पार्किङ समस्या कम हुने विश्वास कामपाको छ।    
    
सवारी साधनको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सामान्य जीवन पद्धति र शहरी सुविधाको उपलब्धतामा समस्या भएपछि महानगरले स्मार्ट पार्किङ योजना अघि सारेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए।    
    
कामपाले पहिलो चरणमा परीक्षणका रुपमा पार्किङ स्थान निर्धारण गरी शुरु गरेको हो। पहिलो चरणमा दरबारमार्ग, विशालबजार, इन्द्रचोक, प्युखा र खिचापोखरीमा शुरु गरिएको छ। यसको प्रभावकारिताका आधारमा अन्य स्थानमा आवश्यकता हेरी अन्य स्थानमा पनि सञ्चालन गर्ने तयारी कामपाको रहेको छ।    
    
प्रभावकारिता र आवश्यकता हेरी अन्य स्थानमा पनि सवारी साधन राख्नका लागि व्यवस्थापनको काम गर्ने कामपाको योजना रहेको छ। काठमाडौँ शहरको चरित्र, सरल उपयुक्त र दिगो तथा प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने पार्किङ व्यवस्थापनमा महानगरको प्राथमिकता रहेको प्रवक्ता डङ्गोलको भनाइ छ। “पार्किङलाई सहज बनाउन सकियो भने मात्र पनि शहरको यातायात प्रणालीमा ठूलो सुधार हुनेछ”, उनले भने।    
    
स्मार्ट पार्किङमा एक पटकमा करीब ८०० वटा दुईपाङ्ग्रे र ४० वटा चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिन्छ। सो क्षेत्रमा पार्किङ गर्दा दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा रु २० लाग्नेछ। त्यस्तै चारपाङग्रेका लागि प्रतिघण्टा रु ५० शुल्क निर्धारण गरिएको छ। पहिलोपटक सञ्चालनमा ल्याउन लागिएको स्मार्ट पार्किङ अन्य पार्किङको तुलनामा निकै फरक हुन्छन्। ती क्षेत्रमा जानुअघि सवारी चालकले मोबाइलबाटै समय र स्थानको सुनिश्चित गर्न सक्नेछन्।    
    
सेन्सरमा आधारित यस प्रणालीमा आवश्यकता हेरी प्रत्येक सवारी प्रवेश गरेको र निस्किएको तथ्याङ्क हुन्छ। प्रयोगकर्ताले मोबाइलमार्फत ‘केटिएम पार्क’ एप्लिकेशन ‘डाउनलोड’ गरी घरमै बसेर पार्किङ ‘बुकिङ’ गर्न सक्नेछन्। उहाँका अनुसार पार्किङ गर्न चाहने व्यक्तिले एप्लिकेशनमार्फत घरमै बसेर पार्किङका बारेमा सूचना लिन सक्नेछ भने १५ मिनेटअगाडि नै पार्किङ बुकिङ गर्न पाउनेछ। कामपाले ‘ब्हिल्स ट्रली योर्स प्रालि’ र ‘एड गुरु’ सँगको सहकार्यमा यो सेवा सञ्चालनमा ल्याएको हो। पाँच स्थानमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउनका लागि रु एक करोड लागत लागेको जनाइएको छ। रासस 

प्रकाशित: १७ जेष्ठ २०७६ १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App