coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘नेपाली फिल्मले मनोरोगीको गलत चित्रण गर्छन्'

काठमाडौं- जिंग्रिङ कपाल, फाटेका पोसाक, फोहर शरीर, धुस्रेफुस्रे मुहार, नबुझिने बोली र लर्बरिएर हिँडीरहेको व्यक्तिलाई केटाकेटीको समूहले ढुंगा हान्दै लखेटिरहेको। नेपाली फिल्ममा प्रस्तुत गरिने मानसिक रुपमा असन्तुलित व्यक्तिको चित्रण यही नै हो।

‘त्यसरी फिल्ममा प्रस्तुत गर्नु गलत हो,' नायक राजेश हमालले बुधबार राजधानीमा आयोजित म्युजिक फर मेन्टल हेल्थ कार्यक्रममा भने, ‘बाहिरी स्वरुपले मानसिक रोगी चित्रण गर्ने तरिका नेपाली फिल्मले सच्याउनुपर्छ।' उनले भनेजस्तै सडकमा हिँड्दै गरेका झुत्रे व्यक्तिलाई मानिसको हुलले लखेट्दै गरेको दृष्य भएका नेपाली फिल्म धेरै छन्। नेपालीमात्र हैन, विदेशी फिल्ममा पनि यस्तै चित्रण गरिएको हुन्छ मानसिक रुपमा असन्तुलित व्यक्तिको।

निकै साधारण रुपमा लिइने जस्तो मनोरोगीको अवस्था नरहेको उनले सुनाए। चलचित्रको कथा ,विषयवस्तु र नृत्य दृष्य जस्ता कुरामा जीवनको अधिकांस समय गुजारेका नायक हमालले अचानक मानिसका मनोअवस्थाका बारेमा यसरी बोलेका हुन्। शारिरीक रुपमा चोट लाग्दा र मानसिक रुपमा चोट लाग्नु उस्तै हो। तर पनि मानसिक चोटको अवस्थालाई पागल अथवा फरक अवस्थाको संज्ञा दिएर हेयको पात्र बनाइनु अमानविय भएको उनी सुनाउँछन् ।

बुबाको निधनपछि आफ्नी मुमा पनि डिप्रेसनमा परेको खुलासा उनले गरे। ‘मैले सतहमा लिए उहाँको समस्या हमालले थपे मुमा किन यस्तो गर्नुहुन्छ बिहान उठ्नुस फ्रेस हुनुस, पुर्याउन पर्ने भए हामी पुर्याइदिउँला भन्थेँ, त्यही समस्याले उहाँलाई लग्यो पनि। तर यो मेरो मनमा गडेको समस्या त्यसरी निको हुन नसक्ने आफुले अहिले बुझेको उनी बताउँछन्। मानसिक स्वास्थ्यको बारेमा सशक्तिकरण जगाउने उदेश्यले शनिबार आयोजना गरिन लागेको म्यूजिक फर मेन्टल अवार्नेस नामक कार्यक्रमका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा नायक हमाल लगायतका सरोकारवालाहरुले मानसिक स्वास्थ्य मानिसका लागि अत्यावश्यक रहेको औंल्याए।

मानसिक रोगको अवस्थाबाट गुजि्रसकेका आइसल्याण्डका चर्चित गायक होग्नी इग्लिसनले मानिसको मनोअवस्थाबारे भावनात्मक गीत गाएर सुरु गरिएको कार्यक्रममा मनोचिकित्सक डा. अरुण राज कुवँरले विश्वका १सय ५४ मिलियन मानिस मानसिक रोगबाट ग्रसित रहेको सुनाए। आत्महत्या गरेका नेपालका १८ देखि ४० वर्षभित्रका ९० प्रतिशतले मानिसक समस्याकै कारण आत्महत्या गरेको दाबी उनले गरे। नेपालमा १८.४ प्रतिशत मानिस मानसिक रोगको शिकार रहेको उनले बताए। सरकारले भने ५.३ प्रतिशत कुल आम्दानीको खर्च स्वास्थ्य क्षेत्रमा खर्चिएपनि मानसिक स्वास्थ्यमा जम्मा एकप्रतिशतमात्र खर्चिएको उनले जनाए। अझ बाल मनोस्वास्थ्यका लागि शून्य प्रतिशत लगानी सरकारको रहेको उनी सुनाउँछन्।

आयोजक मध्येको एक टाईगर टप्स होटलकी संचालिका तथा मनोरोगका बारेमा काम गरिरहेकी एक स्वयंसेवक अन्नातारा एडवार्डले नेपालमा यसकिसिमको सम्मेलन गर्ने बर्सौदेखिको आफ्नो सपना बल्ल पुरा भएको बताइन्। उनकी आमा र उनी स्वयं पनि कुनै बेला मनोरोगबाट गुजि्रनु परेकाले त्यस्तो अवस्था नेपालीले भोग्न नपरोस भन्ने चाहना राखेकी छिन्।

मनोरोगकै कारण आत्महत्यासम्म पुगेर बाँचेका कोशिश नेपालका मातृका देवकोटा यस्तो हरेकलाई आउन सक्ने भएकाले सचेत मृत्युबाट जोगिन सकिने सुनाउँछन्। मानसिक रोगीलाई परामर्श दिएर सघाउदै आएको टिपिओ नेपालका सुरज कोईरालाले हरेकको सहयोगले चेतना बढाउन सकिने दाबी गर्छन्। विश्वका हरेक चारमध्ये एकजनामा मनोसमस्या हुने भएकाले त्यसबारेमा शनिबार गरिने चेतनामुलक सांगितीक कार्यक्रममा होग्नी इग्लिसन तथा नेपालकी सुवानी मोक्तान लगायतले गीत संगित प्रस्तुत गर्नेछन्।

प्रकाशित: ११ कार्तिक २०७३ ०२:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App