८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भाजपाका चाणक्य अर्थात अमित शाह

सन् १९८२ को चुनावमा अमित शाह युवा कार्यकर्ता थिए र पार्टीका शीर्ष नेता अटल विहारी बाजपेयी तथा अन्य दिग्गज नेताका लागि पोस्टर टाँस्दै हिँड्थे। अहिले तिनै युवा परिपक्व नेतामा परिणत मात्र भएका छैनन्, चुनाव जित्ने रणनीतिकारका रुपमा परिचय थप्न सफल भएका छन्। सन् २०१४ मा भाजपालाई लोभलाग्दो जित दिलाउने शाह, २०१६ मा जसै भाजपाका अध्यक्ष बने, २०१९ सम्म आइपुग्दा २०१४ को भन्दा पनि आश्चर्यजनक विजय हासिल गराउन सफल भएका छन्। आखिर को हुन्, अमित शाह ?

कार्यकर्तादेखि नेतासम्मको यात्रा

सन् १९६४ अक्टोबर २२ मा मुम्बईको जैन व्यापारिक परिवारमा जन्मिएका शाह १४ वर्षकै उमेरमा नै राष्ट्रिय स्वयंसेवक संघको सदस्यता लिइसकेका थिए। यो भारतीय जनता पार्टीको एउटा दस्ता हो।

मुम्बईमा जन्मिएका भए पनि उनको पढाइ गुजरातको गान्धीनगरस्थित एउटा सानो शहर मनसामा भएको थियो। त्यहीँ उनी ‘तरुण स्वयंसेवक’ बने। स्कुले पढाइपछि उनी कलेज अध्ययनका लागि अहमदाबाद गए र त्यहीँ पार्टीको सदस्यता लिए। कलेजमा बायो–केमेस्ट्री अध्ययन गर्दै जाँदा कलेजमा विद्यार्थी संगठनको सचिव बने।

१९९७ सम्म आइपुग्दा उनी भारतीय जनता युवा मोर्चाको राष्ट्रिय कोषाध्यक्ष बनिसकेका थिए भने पछि भाजपा प्रदेश इकाई उपाध्यक्ष चुनिन पुगेका थिए।

पछि उनी सोहराबुद्दिन र कौसर बि काण्डका रुपमा मच्चिएको नक्कली मुठभेडमा जेल जानु पर्यो। उनको जेल यात्रालाई राजनीतिक पण्डितहरुले उनको राजनीतिक यात्राको अन्तिम अवस्था मानिरहेका थिए। पछि उनले जेलपछि नै राजनीतिक छलाङ हासिल गरे।

निराशाका दिनहरु

चर्चित ग्याङस्टर सोहराबुद्दिन शेख र उनकी पत्नी कौसर बि मारिँदा उनको भूमिका यसमा रहेको भनी चर्को आवाज उठ्यो। सोहराबुद्दिन र उनकी पत्नीको २००५ मा हत्या भएको थियो। त्यो बेला उनी गुजरातको गृहमन्त्री थिए।

यसपछि अमित शाहको नाउँ अर्को घटनामा पनि पोलियो। उनले तुलसीराम प्रजापतिलाई पनि मारेको हल्ला चल्यो। तुलसीराम सोहराबुद्दिनका साथी थिए।

सोहराबुद्दिनका परिवारले सुप्रिम कोर्टमा उनको हत्यामा शाहको संलग्नतालाई लिएर मुद्दा हाले। सन् २००५ देखि २००६ सम्म हत्याका बारेमा गम्भीरतापूर्वक जाँच भयो। जाँचका क्रममा गुजरातका गृहमन्त्री शाह र राजस्थानका गृहमन्त्री गुलाब चन्द कटारिया यो घटनामा मुछिएको भनी हल्ला चल्यो।

यस घटनामा प्रहरीका ससाना सिपाहीदेखि आइपिएस स्तरका अधिकारीसम्म यसमा संलग्न रहेको आरोप लाग्यो। वरिष्ठ प्रहरी अधिकारीहरुसँगै अमित शाह पनि सन् २०१० को २५ जुलाईमा पक्राउ परे।

शाहलाई २०१० अक्टोबरदेखि २०१२ सेप्टेम्बरसम्म गुजरात टेक्न समेत प्रतिबन्ध लाग्यो। लामो कानुनी लडाइँपछि सिबिआईको अदालतले ३० डिसेम्बर २०१४ मा यस घटनामा उनको संलग्नता नरहेको भन्दै सफाई दियो।

छोराका कारण समस्या

सन् २०१७ को अक्टोबरमा ‘द वायरडटकम’ले एउटा रिपोर्ट प्रकाशित गर्‍यो। रिपोर्टअनुसार नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि र अमित शाह भाजपा अध्यक्ष चुनिएपछि अमितका छोरा जय शाहको कम्पनीको आम्दानी १६ हजार गुणा बढ्यो।

द वायरको यो दाबी रजिस्ट्रार अफ कम्पनीजमा दाखिल गरिएको दस्तावेजको आधारमा गरिएको थियो।

वेबसाइटको भनाइ थियो, २०१४–१५ मा जय शाहको स्वामित्व भएको कम्पनी टेम्पल इन्टरप्राइज लिमिटेड कम्पनीको राजश्व ५० हजार रुपैयाँ थियो। २०१५–१६ मा भने साढे ८० करोड पुग्यो। हुन त सन् २०१६ पछि जय शाहको कम्पनीले आफ्नो व्यापारिक गतिविधि पूर्ण रुपमा बन्द गरिसकेका थिए।

रिपोर्ट प्रकाशित भएपछि जय शाहले द वायरकी सम्वाददाता रोहिणी सिंह र संस्थापक सिद्धार्थ वद्र्धराजनसमेत सात जनालाई अहमदाबादको मेट्रोपोलिटन अदालतमा आपराधिक मानहानिको आरोपमा मुद्दा हालेका थिए। अहिले यो मुद्दा उच्च अदालतमा चलिरहेको छ।

मोदीलाई सुपरस्टार बनाउने शाह

अमित शाहलाई नजिकबाट चिन्नेहरु भन्छन्, गान्धीनगरको चुनावी क्षेत्रमा जो उठ्यो, उसलाई फाइदा दिलाउने कार्य यिनै शाहले गरेका थिए। उनले पहिला अटल विहारी वाजपेयी, त्यसपछि लालकृष्ण आडवाणीलाई चुनाव जित्न ठूलो मिहिनेत गरेका थिए।

ठीक त्यस्तै मिहिनेत नरेन्द्र मोदीलाई राजनीतिकको राष्ट्रिय लहरमा ल्याउन सहयोग गरेका थिए।

‘मोदी र शाह एउटै सिक्काका दुई पाटा हुन्,’ दुवै नेतालाई चिन्ने एक नेता भन्छन्, ‘उनीहरु दशकौँदेखि एकैसाथ छन्। उनीहरु लगभग उस्तै सोच्छन्। एउटा गज्जबको टिम बनाएर काम गर्न रुचाउँछन्। यति मात्र होइन, जीवन र राजनीतिक जीवनका प्रति बेग्लाबेग्लै दृष्टिकोण राख्ने जस्तो देखिए पनि उनीहरु एकअर्कालाई सघाउन कुनै कसर बाँकी छाड्दैनन्।’

२०१४ मा चुनाव जितेपछि मोदीले शाहलाई ‘म्यान अफ दि म्याच’ घोषित गरेका थिए।

एक जना नेता त केसम्म भन्छन् भने शाह फिल्म निर्देशकजस्तै हुन्। उनले राजनीतिक स्टार निकै बनाए तर शाहले अहिलेसम्म बनाएकामध्ये सुपरस्टार चाहिँ नरेन्द्र मोदी नै हुन्।

संगठनात्मक कौशल

शाह एउटा गज्जबको व्यवस्थापक भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन्। उनको अनुशासन सेनाकै जस्तो छ, जुन भाजपाका हरेक कार्यकर्तामा पनि देखिन्छ।

उनी आफ्ना कार्यकर्तालाई आफैँ अनुशासनको पाठ पढाउँछन्। उनी दशकौँदेखि बुथ म्यानेज्मेन्टमा जोड दिइरहेका छन्। त्यसैको परिणामस्वरुप गुजरात र त्यसपछि २०१४ को लोकसभा चुनावमा देखिएको हो।

उनको रणनीति र प्रशासनिक कुशलताका कारण नै उनलाई पार्टीले २०१० मा महासचिव बनाएको थियो र उनी उत्तर प्रदेशजस्तो देशकै सबैभन्दा धेरै संसद् सिट भएको ठाउँमा जिम्मेवारी दिइएको थियो।

शाहले उत्तर प्रदेशमा भाजपाको चुनावी भाग्य नै परिवर्तन गरिदिए र पार्टीले गज्जबको जित हासिल गर्‍यो। ८० लोकसभा सिट भएको यो राज्यमा भाजपाले ७३ वटा ल्याएर सबैलाई चकित पारिदियो।

उनी उत्तर प्रदेश चुनावी प्रमुख हुँदाको दुई वर्षमै यत्रो परिवर्तन कसरी भयो त ? विज्ञहरु भन्छन्, जनसम्पर्क र नयाँ मतदातासँग जोडिने उनको खुबी, परिणाममा आधारित रणनीति बनाउने कौशलका कारण सानदार जित हासिल भएको थियो। उनको रणनीतिको सबैभन्दा ठूलो परिणाम चाहिँ ध्रुवीकरणयुक्त राजनीतिलाई बढाउनु पनि हो।

विपक्षीका सांसदहरुलाई जोड्न र तोड्न उनी विशेषज्ञ नै हुन् भनिन्छ। उनले कहिलेकाहीँ यस्तो प्रस्ताव विपक्षीलाई दिन्छन् कि त्यो अस्वीकार गर्न विपक्षीलाई निकै गाह्रो हुन्छ।

पछिल्लो समय शाहले दक्षिणी राज्यमा निकै समयदेखि चुपचाप काम गरिरहेका थिए। दक्षिण र पूर्वोत्तर राज्यमा भाजपा कार्यकर्ताका लागि नयाँ राजनीतिक मोर्चा बनाए र त्यसलाई दह्रो बनाइछाडे। यही कारण नयाँ ठाउँमा पनि भाजपाले चमत्कार देखायो।

भाजपा मात्र होइन, अन्य पार्टीका नेता पनि अमित शाहको सोसल इन्जिनियरिङको कायल छन्। एक नेता भन्छन्, ‘अमितजीले जस्तो अरु कसैले पनि जातपातको धागो उन्न सकेका छैनन्। उनी जातिगत राजनीतिकलाई भित्र र बाहिर दुवैतर्फबाट मज्जाले बुझ्छन्। उनी एक्लैको कौशलले कांग्रेसका सबै रणनीतिज्ञलाई हरबर खेलाइहेको छ।’

अमित शाहलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘उनी खाली फूल मात्र स्वीकार गर्दैनन्, आलोचनाका लागि पनि उत्तिकै तयार हुन्छन्।’

शुक्रबार साप्ताहिकबाट

 

 

प्रकाशित: १७ जेष्ठ २०७६ ११:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App