१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सम्बन्ध विच्छेद थरिथरिका कथा

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठलाई एकजना महिलाको चैत १३ गते दिउँसो १ बजेतिर टेलिफोन आयो। उनले आफ्नो पतिको नाम र घटनासमेत खुलाएर भनिन् त्यो मुद्दा कुन प्रक्रियामा छ। आश्चर्यमा परे पनि स्रेस्तेदार श्रेष्ठले भने अब केही दिनमा पेशी तोकिँदै छ। घटना थियो साता दिन अघि उनको पतिले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको। स्रेस्तेदार श्रेष्ठले आफैँ गुनगुनाउँदै भने पतिले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्छ, पत्नीले खुसीसाथ सबै कुरा सोध्छिन्, यो नाटकीय रुपको सम्बन्ध विच्छेद हुनुपर्छ। यो मात्र होइन काठमाडौं जिल्ला अदालतमा विवाह भएको १० दिनभित्रै सम्बन्ध विच्छेदको मुद्दा आयो। जिल्ला अदालत काठमाडौंले चैत १० गते मुद्दा दर्ता ग-यो। 

काठमाडौं ८ का रमेश श्रेष्ठ (नाम परिवर्तन) ले अस्ट्रेलियमा जान भनेर काभ्रेकी मीरा बस्नेत (नाम परिवर्तन) सँग फागुनमा वैवाहिक सम्बन्ध कायम गरे पनि पारिवारिक खटपट भएको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे। उनले मुलुकी संहिता २०७४ को दफा ९४ को (ग) बमोजिम मुद्दा दर्ता गरे। दफा ९४ (ग) मा   पत्नीले पतिको अंग, भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा पत्नीको मञ्जुरीविना पनि सम्बन्ध विच्छेद गर्न सकिने छ भन्ने उल्लेख छ। घटना हेर्दा गम्भीर देखिए पनि यो घटना काल्पनिक हुनसक्ने अनुमान छ। जिल्ला अदालतमा दर्ता विवाह गरेर वैवाहिक सम्बन्ध कायम गर्ने र विदेश जानका लागि सम्बन्धित ठाउँमा कागजपत्र पु-याउने पछि भीसा लागेपछि विदेश जानु अघि सम्बन्ध विच्छेद गरेर जाने गर्नेको संख्या बढ्दै गएकाले यो घटनालाई पनि नाटकीय विवाहको रुपमा लिन सकिन्छ।

उता काठमाडौं टोखा निवासी विक्रम खड्का (नाम परिवर्तन) ले हालै जिल्ला अदालत काठमाडौंमा विवाह भएको एकवर्ष भित्रै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे। विदेश जाने विषयमा मनमुटाव भएपछि उनकी पत्नी सरिता पाण्डे (नाम परिवर्तन) माइतमा नै बस्दै आएको बताउँदै उनले सम्बन्ध विच्छेदको निवेदन दिएका छन्।  २०७४ साल माघमा दुवैको सामाजिक विवाह भएको थियो। विक्रमले पटक–पटक टेलिफोन गर्दा पनि उनी नफर्केको भन्दै यही चैतमा उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन्। उनले मुलुकी संहिता को दफा ९४ र ९९ बमोजिम मुद्दा दर्ता गरेका हुन्।  दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ भने दफा ९९ मा सम्बन्ध विच्छेद गर्नुअघि अंशबण्डा गर्नुपर्ने व्यवस्था छ। सम्बन्ध विच्छेद भएमा विक्रमले आफ्नो घडेरीको टुक्रा सरितालाई दिनुपर्ने अवस्थामा पुगेका छन्।

यसैगरी, दक्षिणकाली ९ की २२ वर्षीया ऋचा लामिछाने (नाम परिवर्तन) ले विवाह भएको दुई वर्ष नपुग्दै यही चैतमा जिल्ला अदालत काठमाडौंमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिन्। उनले सम्बन्ध विच्छेद गर्नुको कारण थियो आफ्नो श्रीमान् विनोद पौडेल (नामपरिवर्तन) बाट विभिन्न आरोप लगाउँदै रक्सी खाएर बारम्बार कुटपिट गर्नु। उनीहरुको २०७३ सालमा प्रेम विवाह भएको थियो।

इटलीमा बस्दै आएका ललितपुर गोदावरी ७ बस्ने ४६ वर्षीय रमेश न्यौपाने (नाम परिवर्तन) ले काठमाडौं दक्षिणकाली ८ घर भएकाले इटालीमै बस्ने ४१ वर्षीया विनिता न्यौपानेले विवाह भएको १५ वर्षपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन्।  विनिताले रमेशको ६० लाख रुपैयाँ लगेर सुनिल महर्जनसँग विवाह गरेको भन्दै उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका छन्। मुलुकी देवानी संहिता ऐन ०७४ को  दफा १०४,  देवानी संहिताको दफा ८२ (ग) र दफा ९४ (घ) बमोजिम सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए।  यसैगरी, पुख्र्यौली घर म्याग्दी रहेकी हाल काठमाडौं टोखा बस्ने मनमाया घर्तीले प्रेम विवाह भएको ८ वर्षपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरिन्। साथमा एउटा छ वर्षीय छोरा र चार वर्षीया छोरी छन्। उनलाई श्रीमान्ले घरनिकाला गरेपछि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी छन्। यसैगरी, काठमाडौं १४ कलंकी बस्ने निर्मला तामाङले पनि विवाह भएको तीन वर्ष नपुग्दै आफ्नो श्रीमान् सुरेश अधिकारीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन्। रक्सी सेवनगरी कुटपिट गर्ने गरेको उल्लेख गर्दै उनले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी छन्।

समाजमा सम्बन्ध विच्छेदको घटना पुरुष र महिलाबाट बराबर मात्रामा दर्ता हुँदै गएको छ। कतिपयले सम्बन्ध विच्छेद अधिकारको रुपमा नभई अवसरको रुपमा प्रयोग गर्ने गरेका छन्। कसैसँग ऋण लिएर तिर्न नसक्ने देखाउन आफ्नो सम्पत्ति पत्नीको नाममा दर्ता गरी पतिपत्नीबीच सम्बन्ध विच्छेदको मुद्दा दर्ता हुने गरेका छन्। कतिपयले सम्पत्तिको लोभमा विवाह गर्ने र सम्बन्ध विच्छेद गरेर सम्पत्तिको केही भाग आफ्नो पोल्टामा पार्ने गरेका छन्। विदेशमा काम गर्न जानेले फर्केर आउँदा पत्नी अर्को विवाह गर्ने गरेका कारण पनि सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्ने गरेको पाइन्छ। पति र पत्नीबीच परस्त्रीगमन र परपुरुषगमनको आशंकाले पनि विश्वासको संकट पैदा हुन पुग्दा सम्बन्ध विच्छेद हुने गरेको छ।  कतिपय काँचो उमेर भएका युवायुवतीले प्रेम गरेर विवाह गर्ने र पछि सामान्य खटपट हुँदा पनि सम्बन्ध विच्छेद गर्ने गरेका छन्।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठ भन्छन् सम्बन्ध विच्छेदमा थरिथरिका घटना भए पनि मुद्दा दर्ता गर्दा मुलुकी संहिता ऐन २०७४ मा उल्लेख भएका विषयहरू खुलेनन् भने मुद्दा दर्ता नहुने बताए।

आजको आधुनिक युगमा वैवाहिक करार समय समाप्त भई वा विभिन्न कारणले वैवाहिक स्थितिबाट पतिपत्नीबाट अलग हुने पश्चिमी संस्कृतिको प्रभाव नेपाली समाजमा पर्न थालेको छ।

नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्य अधिवक्ता लक्ष्मण आचार्य भन्छन्। पहिला मुलुकी ऐन विवाहवारीको महलले केटीले मात्र जिल्ला अदालतमा मुद्दा दर्ता गर्न पाउने व्यवस्था थियो। अहिले पुरुषलाई पनि सिधै अदालतमा गएर मुद्दा दर्ता गर्ने अधिकार दिएका कारण पनि सम्बन्ध विच्छेदको संंख्या बढेको हुन सक्ने उनले बताए। अहिले संचार प्रविधिको विकासका कारणले गर्दा पनि सम्बन्ध विच्छेदका घटना बढेका छन् उनले भने। चिन्दै नचिनेको मान्छे पनि फेसबुकबाट नजिकको हुनपुग्दा र महिला पुरुष र पुरुष महिला बनेर फेसवुक चलाउने गर्दा पनि सम्बन्ध विच्छेदमा वृद्धि भएको उनको भनाइ छ। उनले अहिलेको मुलुकी ऐनले बहुविवाहको परिकल्पना गरेको छैन। बहुविवाह गरेमा २ देखि पाँच वर्षसम्म कैदको व्यवस्था राखेको छ। पुरुषले बहुविवाह गर्न नपाउने व्यवस्थाका कारण पनि सम्बन्ध विच्छेद बढेको हुनसक्ने देखिन्छ उनले भने। ‘लिभिङ् टुगेदरका घटना समाजमा बढि रहेको भन्दै उनले यो पनि सम्बन्ध विच्छेदको कारण बन्न पुगेको बताए छ। पहिला धर्म र संस्कृतिका कारण पनि सम्बन्ध विच्छेदका कमै मात्रामा मुद्दा दर्ता हुने उनले बताए।  विगत १० वर्षको तुलनामा अहिले २० प्रतिशतले सम्बन्ध विच्छेदको मुद्दामा वृद्धि भएको उनको भनाइ छ। यसको नियन्त्रण गर्नका लागि अनुसन्धान वेशमा कानुन बनाउनुपर्ने उनले बताए। गाउँपालिका र नगरपालिकामा न्यायिक समितिको गठन गर्ने कुराले केही समेट्न खोजेको छ उनले भने, ‘महिलाको सम्पत्ति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, दाइजो प्रथालाई नियन्त्रण गर्न सकेमा पनि सम्बन्ध विच्छेदको घटना बढ्न पाउँदैन।’

समाजशास्त्रीहरूले ‘बदलिँदो परिस्थिति, विश्वव्यापीकरण, सामाजिक, पारिवारिक र सांस्कृतिक परिवर्तनसँगै सम्बन्ध विच्छेदमा पनि वृद्धि भएको बताउँछन्। पहिले–पहिले महिलाहरू पुरुषको भरमा आश्रित थिए। अहिले महिलाहरू हरेक दृष्टिकोणबाट आत्मनिर्भरतामा वृद्धि भएको छ। निर्णय गर्न सक्षम भएका छन् भन्ने उनीहरूको धारणा छ। 

समाजशास्त्री परशुराम घिमिरेले भने विश्वव्यापीकरणसँगै दबिएर रहेको भावना माथि उठ्ने क्रममा सम्बन्ध विच्छेद हुन पुगेको बताउँछन्।  उनले भने, ‘अन्तर्राष्ट्रिय श्रम बजारको ढोका खुला सँगै सामाजिक सन्तुलनमा उथलपुथल हुन पुगेको छ’। अहिले सम्बन्ध विच्छेदले परिवारमा विचलन, संस्कृतिमा विचलन ल्याएको छ, यसलाई सहजरुपमा नियन्त्रण गर्न सम्भव छैन’ उनले भने। परिवर्तनकारीले यसलाई मूल्यको रुपमा लिएको छ भने अर्को पक्षले यसलाई अवरोधका रुपमा लिएको उनको भनाइ छ। माओवादी सशस्त्र द्वन्द्वकालमा विजातीय विवाह भएको भए पनि अहिले सम्बन्ध विच्छेद हुन पुगेको छ उनले भने यसलाई किन रोक्न सकेनन् किन भने यो भन्दा समाज बलियो थियो। सम्बन्धलाई नयाँ किसिमले परिवर्तन ल्याउने काम पनि सम्बन्ध विच्छेदले गरेको उनले बताउँछन्। समाजमा रुपान्तरण हुने स्वतन्त्र हुने क्रममा सम्बन्ध विच्छेद पनि बढ्दै गएको उनले बताए।

प्रसिद्ध दार्शनिक कार्ल माक्र्सले समाजको निर्धारण मार्केटले गर्ने बताएका छन्। मार्केटमा हुने परिवर्तनले समाजको परिवर्तन हुने उनको भनाइ छ। ‘मोड अफ प्रोडक्सन’ समाजको आधार हो यो समाजको अर्थतन्त्र हो र ‘मोड आफ प्रोडक्सन’ जस्तो छ त्यस्तै सुपरस्टकचर निर्धारण हुन्छ भन्ने कार्ल माक्र्सको भनाइ छ। माक्र्सको सिद्धान्तलाई आधार मान्ने हो भने समाजमा महिलाको आर्थिक प्रगतिमा सुधार आउँदा उनीहरुको विचारमा परिवर्तन आएपछि सम्बन्ध विच्छेदको घटना बढेको हुनुपर्दछ।

समाजशास्त्री इमालइ दुर्खिमको समाजपरक प्रकार्यवादलाई आधार मान्ने हो भने सामाजिक संरचनामा जस्तो छ त्यहाँ मनोविज्ञान पनि त्यस्तै निर्धारण हुन्छ। समाजमा दबिएर रहेका महिलामाथि उठ्न थालेपछि उनीहरुको मनोविज्ञानमा पनि परिवर्तन आएको हुनुपर्छ जसले सम्बन्ध विच्छेदमा वृद्धि भएको हुनसक्छ।

जिल्ला अदालत काठमाडौंमा विगत १० वर्षको तुलनामा करिब ३० प्रतिशतले सम्बन्ध विच्छेदका घटनामा वृद्धि भएको पाइएको छ। आर्थिक वर्ष ०६४/०६५ मा करिब–करिब ९ सयको हाराहारीमा सम्बन्ध विच्छेद हुने गरेको जिल्ला अदालत काठमाडाैंले जनाएको छ। विगत पाँच वर्षको प्रत्येक आर्थिक वर्षलाई ध्यानमा राख्ने हो भने सम्बन्ध विच्छेद वर्षेनी करिब ३ प्रतिशतले वृद्धि हुने गरेको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७०/०७१ मा २१ सय ८ मा १६ सय ६७ मुद्दा फछ्र्योट भएका छन् भने फछ्र्योट हुन बाँकी ४ सय ४१ छन्। २०७१/२०७२ मा २२ सय ५६ मुद्दामा १८ सय १८ फछ्र्योट भएका छन् भने ४ सय ३८ फछ्र्योट हुन बाँकी छन्। २०७२/२०७३ मा २४ सय ५१ मा १९ सय ४३ मुद्दा फछ्र्योट भएका छन् भने ५ सय ८ फछ्र्योट हुन बाँकी छन्। २०७३/२०७४ मा २८ सय ९५ मुद्दा दर्ता भएकोमा २४ सय ३१ फछ्र्योट हुन बाँकी छन्। २०७४/२०७५ मा  ३५ सय २ मुद्दा दर्ता भएकोमा २८ सय ७३ फछ्र्योट भएका छन् भने ६ सय २९ फछ्र्योट हुन बाँकी छन्। अंशबण्डाको विषयमा कुरा नमिलेका विषयहरु फछ्र्योट हुन बाँकी रहेको जिल्ला अदालत काठमाडौंले जनाएको छ।  चालु आर्थिक वर्ष सुरु भएपछि गत  साउन महिनामा ४ सय ६३ मुद्दा दर्ता भएका छन् भने भदौ महिनामा पुरुषबाट ९६, महिलाबाट ८७, असोजमा पुरुषबाट ३९, महिलाबाट १८७, कात्तिकमा पुरुषबाट  ८५, महिलाबाट ११०, मंसिरमा पुरुषबाट ८६, महिलाबाट १७०, पुसमा पुरुषबाट ७३, महिलाबाट १८९, माघमा पुरुषबाट ८१, महिलाबाट १३०, फागुन २१ सम्म पुरुषबाट ७१ महिलाबाट ११२ गरी १९ सय ७९ मुद्दा दर्ता भएका छन् भने २०७५ भदौ १ देखि २०७५ माघ २९ सम्म ७ सय ८१ मुद्दा फछ्र्योट भएका छन्।

आवेगमा आएर सम्बन्ध विच्छेदको निवेदन दिए पनि कतिपयले भने फैसला हुनु अगावै मिलापत्रसमेत गर्ने गरेका छन्। सामाजिक परम्पराबमोजिम २०७४ साउन ३० गते सामाजिक परम्पराबमोजिम विवाह बन्धनमा बाँधिएका काभ्रेका विना बजगार्इं र काठमाडांै ८ का विकास थापा गुरुङबीच २०७५ फागुन २३ गते सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको थियो। विना बजगार्इंले अंशसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेपछि त्यसलाई मिलाउन विकास थापालाई निकै हम्मे परेको थियो। अस्ट्रेलियाको मेलवर्न शहरमा गएका दुवैबीच खटपट भएपछि विनाले जिल्ला अदालत काठमाडांैमा मुद्दा दायर गरेकी थिइन्।

नेपालमा विसं १९१० को मुलुकी ऐनलाई १०९२ सालमा सम्बन्ध विच्छेदसम्बन्धी कानुनमा थप सुधार ल्याई पत्नीको मञ्जुरीले पतिले पत्नीसँग  सम्बन्ध विच्छेद गर्न सकिने व्यवस्था गरिएको थियो। पछि २०२० सालमा बनेको मुलुकी ऐनले घरसारमा तथा जातिगत रुपमा हुने सम्बन्ध विच्छेदलाई मान्यता नदिई कानुनबमोजिम मात्र सम्बन्ध विच्छेद गर्नुपर्ने व्यवस्था गरेको पाइन्छ। नयाँ मुलुकी संहिता ऐनको दफा ९३ ले पतिपत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पतिपत्नीको सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था राखेको छ।

मुलुकी संहिता ऐन २०७४ को दफा ९४ मा पतिले देहायका कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ। (क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, (ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा, (ग) पत्नीले पतिको अंग भंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा, (घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।

मुलुकी संहिता ऐन २०७४ को दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ। पत्नीले देहायका कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था छ। (क) कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा (ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा (ग) पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा (घ) पतिले अर्को विवाह गरेमा,(ङ) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा,(च) पतिले पत्नीलाई जबरजस्तीकरणी गरेको ठहरेमा। दफा ९७ मा पति र पत्नीबीच मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले सम्बन्ध विच्छेद गराई दिन पर्ने व्यवस्था छ। सम्बन्ध विच्छेद भएपश्चात् बालबालिकाको संरक्षण कसले गर्ने कसको दायित्व कति हुने सम्पूर्ण कुरा सम्बन्ध विच्छेदमा खुलाउनु पर्ने हुन्छ।  

 

 

प्रकाशित: १७ जेष्ठ २०७६ १०:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App