७ वैशाख २०८१ शुक्रबार
समाज

ट्राफिक नियम उल्लंघन घट्दो, जरिवाना रकम बढ्दो

काठमाडौं- काठमाडौं उपत्यकामा पाँच वर्षयता ट्राफिक नियम उल्लंघनका घटनामा कमी भए पनि ट्राफिक कारबाहीबाट हुने जरिवाना रकम भने बढेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा कार्यालयले ट्राफिक नियम उल्लंघन घट्दै गए पनि जरिवाना रकम बैंकमा जम्मा गर्नुपर्ने भएकाले राजस्व संकलन वृद्धि भएको जनाएका छ। महाशाखाका प्रवक्ता एसपी लोकेन्द्रबहादुर मल्लका अनुसार ०७३ वैशाखदेखि जरिवाना रकम बढेकाले कारवाही घटे पनि राजस्व संकलन बढेको छ। उनले भने, 'बैंकमा जरिवानावापत्को रकम जम्मा गर्नुपर्ने भएपछि राजस्व संकलन बढेको हो।'

चालु आव २०७३/०७४ मा कारबाहीमा परेका १ लाख १ हजार ४ सय १३ सवारीसाधनबाट जरिवानावापत् ५ करोड ३० लाख ९ हजार ७ सय ४० रुपैयाँ राजस्व संकलन भएको छ।

महाशाखाका अनुसार आव २०७२/०७३ मा काठमाडौं उपत्यकामा ५ लाख ४८ हजार ५ सय ४० सवारीसाधनले ट्राफिक नियम उल्लंघन गरेका थिए। ती सवारीसाधनबाट जरिवानावापत् १५ करोड ८२ लाख ९१ हजार २ सय ७५ रुपैयाँ राजस्व संकलन भएको महाशाखाले जानकारी दियो।

आव २०७१/०७२ मा ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परेका ५ लाख ६९ हजार ६ सय ४० सवारीसाधनले जरिवानावापत् १४ करोड ४९ लाख ९७ हजार ५ सय ८५ रुपैयाँ बुझाएका थिए। कारबाहीमा पर्ने सवारीसाधनको संख्या औसतमा घट्दै गए पनि जरिवाना रकम भने बढेको छ।

महाशाखा प्रमुख डिआइजी प्रकाश अर्यालका अनुसार २०६९ सालयता बैंक खातामा जरिवाना रकम दाखिला गर्न सुरु भएपश्चात् ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको छ भने राजस्व वृद्धि भएको छ। आव २०६८/०६९ देखि २०७२/०७३ सम्म वर्षेनी ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनको संख्या घट्दै गएको र जरिवानावापत् राजस्व रकम बढ्दै गएको महाशाखाको तथ्यांकले देखाएको छ।

उपत्यकामा दैनिक औसतमा १४–१६ सवारीसाधनले ट्राफिक नियम उल्लंघन गर्ने महाशाखाले जनायो। महाशाखाका अनुसार वार्षीक ५ लाख ५० हजार भन्दा बढी सवारीसाधनले ट्राफिक नियम मिच्छन् र कारबाहीमा पर्छन्।

यस वर्ष वैशाखमा जरिवाना रकम उल्लेख्य वृद्धि भएपछि ट्राफिक नियम उल्लंघन दरमा कमी आए पनि चाडबाडका बेला नियम उल्लंघनका घटना बढेको महाशाखाले जनाएको छ। गत असोजमा मात्र महाशाखाले २ हजार ३ सय ७५ जनालाई मापसे गरी सवारी हाँकेको भन्दै कारबाही गरेको थियो।

सोही अवधिमा १० हजार १२ सवारीले सडक लेन मिचेको भन्दै महाशाखाले जरिवाना गरेको थियो। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमध्ये सबैभन्दा बढी संख्या मोटरसाइकलको रहेको महाशाखाले बतायो। लेन मिच्ने, मापसे गरेर सवारी चलाउने, सिटबेल्ट नलगाउने, सार्वजनिक यातायातमा बढी भाडा असुल्ने, छतमा यात्रा गराउनेलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरू कारबाहीमा परेको प्रवक्ता मल्लले बताए।

राजधानींको थापाथली, कोटेश्वर, दरबारमार्ग, ललितपुरको सातदोबाटोलगायत स्थानमा ट्राफिक उल्लंघनका घटना तुलनात्मक रूपमा धेरै हुने गरेको महाशाखा बताउँछ।

यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा दैनिक साढे ६ लाख सवारीसाधन गुड्छन्। बागमती अञ्चलमा मात्र हालसम्म ९ लाख २३ हजार सवारीसाधन दर्ता रहेको विभाग बताउँछ।

महाशाखाका सहप्रवक्ता राजेन्›प्रसाद भट्टले सवारीचालकको हेलचेक्र्‍र्याइँले ट्राफिक नियम उल्लंघनका घटना बढेको बताए। 'अझै पनि सवारीचालक ट्राफिक नियमप्रति सचेत छैनन्,' उनले भने। उपत्यकामा सडकले धान्ने क्षमताभन्दा सवारीसाधनको संख्या अत्यन्त बढी भएकाले ट्राफिक नियम उल्लंघ बढेको उनी बताउँछन्।

 

प्रकाशित: ११ कार्तिक २०७३ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App