१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

परिवार परिचालन

परिवारहरुको सभ्यताले असल समाज बनाउँछ र सामाजिक असल सभ्यताले देश। जहिले पनि असल समाजले नराम्रा र त्याज्य पक्षलाई त्याग्छ भने राम्रा कार्यलाई अँगाल्दै अघि बढ्छ। ‘नागरिक परिवार’को यो पृष्ठमा मैले हरेक महिना समाजका दबिएका मुद्दा र विषयलाई उजागर गर्दै आउँदा दिनमा कसरी सकारात्मक तरिकाले अघि बढ्ने भनी विचार पस्कने गरेकी छु।

यस पटक पनि मलाई यस्तै केही राख्ने प्रयत्न गरेकी छु।

गएको महिना आमाको मुख हेर्ने दिन छोराले एउटा ताजा फूल ल्याएर भाषमा राख्यो र ‘ह्यापी मदर्स डे आमा’ भनेर ऊ गयो। म त्यो क्रिस्टलको भाष हेरिरहेकी थिएँ। मनै प्रफुल्ल भयो र सोचेँ, कति राम्रोसँग फूल सजिएको छ ! यसले कोठा नै उज्यालो र सबैलाई स्वागत गरेजस्तो देखिएको छ।

तर यो भाष खसेर फुट्यो भने? यो सुन्दरता, उज्यालोपन टुक्रा–टुक्रामा विभाजित हुन्छ। जति प्रयास गरे पनि पहिलेकै अवस्थामा ल्याउन सकिँदैन। केही दिनअघिदेखि एउटा घटना मेरो दिलमा टिसजस्तै पसेको छ। र, यो भाष देखेर मलाई त्यही कुरा दोहोरिएर एउटा सम्झना भइरहेको छ।

त्यो कथा अलि पछि सुनाउँछु।

अहिले भन्न मन लागेको कुरा चाहिँ घरको मुलीले राम्ररी विवेक पु-याएर आफ्ना सन्तानलाई आ–आफ्नो ठाउँमा मिलाएर उचित समयमा उचित सल्लाह दिएर व्यवहार गर्न सकेन भने पूरै खानदानले नै दुःख पाउँदोरहेछ।

घरको मुलीले घर–परिवारका सबै सदस्यलाई उत्तिकै महत्त्व दिएर लानुपर्छ। कसैलाई काखा, कसैलाई पाखा गर्दा नतिजा क्रिस्टलको ग्लासजस्तै लाखौँ टुक्रामा विभाजित हुन जान्छ।

आज बिहान मात्र एक जना दिदी आएर एउटा दुःख पोख्नु भयो। उनकी बहिनी काठमाडौँको प्रतिष्ठित परिवारमा वैवाहिक जीवन बिताइरहेकी छन् तर पढेलेखेका बुहारी भइकन पनि परिवारका सदस्यजस्तो मानिदैन। जुन परिवारमा उनकी बहिनी बुहारी बनेर पुगिन्, त्यो राजतन्त्रको बेलाका सचिवको घर थियो। उनका ससुरा अर्थ र गृहमन्त्री भइसकेका छन्।

हाम्रो समाजको पारिवारिक संरचना एउटा क्रिस्टल ग्लासजस्तै हो। एक पटक परिवार टुक्रियो भने कहिले जोड्न नसकिने गरी यो छिन्नभिन्न भएर जाँदोरहेछ।

यिनले छोरीहरुलाई काखा र बुहारीहरुलाई पाखा गरेछन्। म देशकै प्रतिष्ठित व्यक्ति हुँ भन्ने अहम्का कारण घरव्यवहार गरिरहेका छोरीहरुलाई काख च्याप्न थाले। जसका कारण ज्वाइँहरुको काम पनि चौपट हुन थाल्यो। घरभन्दा बढी माइतमा समय दिने, माइतमा भाउजूहरुको बिजोग हुने तर आफू फिट्टो नसघाउने। सीमित कमाई तर असीमित खर्चका कारण गर्दा सबै परिवार बिग्रेर अहिले फुटपाथमा आइसकेको छ। घर राम्ररी व्यवस्थापन नगरेर बोक्रेपनका पछाडि लागेर सबै भताभुङ्ग भइसकेको छ। यस्तोसम्म स्थिति देखियो कि घरको कामकाज सघाउनेलाई बक्सिसको रुपमा दिइएको एउटा सानो घरमा बस्नु परेको छ। यसरी परिवार बाँध्ने कुरामा ध्यान नदिइँदा यस्तो अवस्था आएको छ।

घरका हरेक कुराको छलफलमा छोरा, छोरी र ज्वाइँसित मात्र बसेर छलफल गर्ने तर बुहारीलाई कुनै स्थान नदिने प्रवृत्तिले पक्कै पनि राम्रो परिणाम ल्याउँदैनथ्यो। खासमा आवश्यक परेका बेला छोरी–ज्वाइँलाई सहयोग गर्नु ठीक हुन्छ तर उनीहरुको घरमै असर पर्ने गरी व्यवहार गरिदिनु हुँदैन। छोरीको जिम्मेवारी ज्वाइँको घरमा छ भन्ने बिर्सनु हुँदैन। उनीहरुलाई तिनकै घरमा रम्न दिनुपर्छ। छोरीज्वाइँकै घरमा हस्तक्षेप गरेर उनीहरुको घरको कार्यविधि र वातावरण नै बिगार्ने काम गर्नुहुन्न।

आफ्नो घर राम्रोसँग नसम्हाल्ने, घर झगडा चर्काउने र माइतमा ढसमस्स बस्नेहरु पनि यही समाजमा देखिन्छन्। गम्भीर प्रकृतिको समस्यामा यस्तो व्यवहार स्वाभाविक देखिए पनि सानोतिनो व्यवस्थापनले नै हुने कुरालाई ससुरालीले ज्वाइँलाई समस्या र तनाथ थोपर्ने मौका दिनु हुँदैन। बुहारीको अधिकार खोसेर छोरीलाई पनि दिनु हुँदैन। अनि, छोराको अधिकार खोसेर ज्वाइँलाई पोस्ने बानी पनि राम्रो होइन। घरको मुलीले चाहे आफ्ना सन्तान होऊन् या नयाँ थपिएका सदस्य हुन्, सबैलाई बराबर माया दिनुपर्छ। कसैलाई कम, कसैलाई बढी गर्नुहुँदैन। जीवन सधैँ एउटै हुँदैन। आफूले भने जसरी जीवन चलाउँदै गयो भने पछि आफू पनि त्यसरी नै भोग्नुपर्ने हुन्छ। त्यसैले बेलैमा घरको मुलीले विवेक पु¥याएर सम्बन्ध सम्हाल्नु पर्ने हुन्छ।

परिवार र सम्बन्धलाई राम्रोसँग व्यवस्थापन गर्न नसक्दा कमाएको धन–सम्पत्ति सकिएको छ, सम्बन्ध र नाताहरु तोडिएका छन् र कहिल्यै कल्पना नगरेका सास्ती र दुःख भोग्नु परेको छ। त्यसैले अहिले भएको ओखाइपोखाईको सम्पत्तिमा कसैले पनि गर्व गर्नु हुन्न न त त्यसको घमण्डमा सम्बन्ध र नाताहरु नै बिर्सनु हुन्छ। करकाप, अदब र लोभले माया र परिवार किन्न सकिँदैन। किनिए पनि त्यो दिगो रहन सक्तैन।

हाम्रो समाजको पारिवारिक संरचना एउटा क्रिस्टल ग्लासजस्तै हो। एक पटक परिवार टुक्रियो भने कहिले जोड्न नसकिने गरी यो छिन्नभिन्न भएर जाँदोरहेछ। मैले त्यो प्रतिष्ठित परिवारको कथा सुनेपछि अझ विश्वस्त भएँ, परिवार एकअर्कासँगको सम्वाद, सम्मान र सम्झौताले एकढिक्का हुन्छ। सम्वाद, सम्मान र सम्झौतामा टिकेको परिवारमा प्रेमले बढी नै स्थान पाएको हुन्छ। र, यसैले हामीलाई लामो समयसम्म बाँधेर राख्छ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App