coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

कञ्चनजंघामा वार्षिक १० हजार पर्यटक भित्र्याउने लक्ष्य

ताप्लेजुङ –विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको पदमार्ग आधाले छोटिने गरी नयाँ पर्यटकीय रुटको प्रस्ताव अघि सारिएको छ। यो प्रस्तावअनुसार यसअघि २२ दिन लाग्ने पदमार्ग ११ दिनमा झर्ने छ।

उत्तरी ताप्लेजुङको आधाभन्दा बढी भूगोललाई कार्यक्षेत्र बनाई कार्यरत कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनाको पर्यटन क्षेत्रअन्तर्गतको पाइलट प्रोजेक्टले यो पदमार्गको अवधारणा अघि सारेको हो। नयाँ पदमार्गको पर्यटकीय सर्किटअनुसार सदरमुकाम फुङ्लिङबाट पहिलो दिन लेलेप वा तापेथोक, दोस्रो दिन यासाङ, तेस्रो दिन तोरोङ्देन, चौथो दिन चेराम, पाँचौं दिन रामजेर, छैटौं दिन ओङ्ताकबाट पुनः रामजेरमा फिर्ता भई यहीं रुटबाट सदरमुकाम फर्कन सकिन्छ।

‘पछिल्लो समय छोटो अवधिको पर्यटकीय रुटको माग बढी आएको र यातायातसमेतको सुविधा उपलब्ध भएको अवस्थामा ११ दिनको अवधिलाई छोटो अवधिको पर्यटकीय मार्ग बनाउन सकिने उद्देश्यका साथ नयाँ पदमार्गको योजना अघि सारिएको हो’,समृद्ध पहाड परियोजनाको पर्यटन क्षेत्र हेर्ने सुदीप श्रेष्ठले भने। उनका अनुसार कञ्चनजंघा बेस क्याम्पसम्मको पदमार्गका लागि यसअघि कायम रहेको २२ दिनको पर्यटकीय रुट लामो भएको भन्दै यो मार्ग पर्यटकको रोजाइ कम प्राथमिकतामा पर्दै आइरहेको थियो।

छोटो अवधिको पर्यटकीय रुट प्रस्तावले पर्यटकको संख्या विद्यमानभन्दा बढी हुने अनुमान समृद्ध पहाड परियोजनाले लिएको छ। श्रेष्ठका अनुसार चालु वर्षको यो अवधिसम्ममा करिब १ हजार विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आएका छन्। यो संख्या अघिल्लो वर्षसम्ममा ६ देखि ७ सयसम्ममा मात्र हुने गरेको उनले जानकारी दिए।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र समृद्ध पहाड परियोजनाले सन् २०२० देखि उत्तरी ताप्लेजुङमा पर्यटन क्षेत्रमा काम गर्नेगरी परियोजनाको तयारी गरिरहेका छन्। डब्लुडब्लु एफ, समृद्ध पहाड परियोजना, इसिमोड र स्वीस डेभलपमेन्ट एसोसिएसनले पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमको स्वरुप तयार गरिरहेको तर यसको अन्तिम संरचना र प्रकृया भने आउन बाँकी रहेको समृद्ध पहाडमा कार्यरत श्रेष्ठले जानकारी दिए।

यो अभियानअन्तर्गत सन् २०२५ देखि उताका वर्षमा कञ्चजनजंघामा वार्षिक १० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहितको कार्यक्रम बनाइने छ। यसका लागि यो क्षेत्रमा चाहिने आवश्यक जनशक्ति र पूर्वाधार तथा पर्यटन क्षेत्रमा अहिले संलग्न रहेका समुदायका सदस्यको सीप तथा दक्षता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने परियोजनाको गृहकार्य अघि बढिरहेको समेत श्रेष्ठले बताए।

लुम्बासुम्बा हुँदै सगरमाथा बेसक्याम्पसम्मको पर्यटकीय रुटका लागि पनि अर्को योजना अघि बढाइने सम्भावना रहेको उनले औंल्याए। वार्षिक १० हजार विदेशी पर्यटक भित्र्याउने लक्ष्यसँगै त्यही जनशक्तिलाई धान्नेगरी पर्यटक सहयोगी(भरिया) जिल्लाभित्रै व्यवस्थापन गर्न आगामी परियोजनाले सघाउने समृद्ध पहाडको बुझाइ छ।

कञ्चनजंघा समूहगत रुपमा मात्र विदेशी पर्यटकका लागि खुला गरिएको क्षेत्र हो। यसको अर्थ यो क्षेत्र आउन २ वा सोभन्दा बढी विदेशी पर्यटक दल चाहिन्छ। पर्यटन व्यवसायीका अनुसार कञ्चनजंघा क्षेत्रमा आउने २ जना पर्यटकका लागि कम्तीमा ६ जना पर्यटक सहयोगीको आवश्यकता हुन्छ।

पथप्रदर्शक(गाइड) र अन्य सहयोगीसहित बढीमा २ जनाको विदेशी पर्यटक टोलीलाई १० जनाको जनशक्ति तयार हुनुपर्छ। यस्तो अवस्थामा लोनाक, खम्बाछेन, राजमेर र चेराममा भने पर्यटक सहयोगीलाई पनि टेन्टमा बस्ने व्यवस्था गर्न अनिवार्य रहेको कञ्चनजंघा पर्यटन सहयोग केन्द्रका अध्यक्ष नवीन अन्छङ्बोले बताए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App