coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जिपी संग्रहालय निर्माण हुने

गिरिजाप्रसाद कोइराला संग्रहालय शिलान्यास गर्दै जिपी पाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालालगायत। तस्बिरः नागरिक

विराटनगर– नेपाली राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको छ। विराटनगर–७ स्थित कोइराला निवासमा बन्ने संग्रहालयको बिहीबार शिलान्यास गरिएको छ।

संग्रहालयको जिपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले शिलान्यास गरिन्। स्वर्गीय कोइरालाको जीवनीमा आधारित वस्तुहरू संग्रहालयमा राखिने अध्यक्ष कोइरालाले बताइन्। प्रदेश सरकारको ४० लाख, सामाजिक विकास मन्त्रालयको २० लाख र विराटनगर महानगरको १५ लाख रुपैयाँको प्रारम्भिक सहयोगमा भवन निर्माण सुरू गर्न लागिएको कोइरालाले जानकारी दिइन्। कुल ४ करोड खर्च गरेर निर्माण हुने संग्रहालय ४ तल्लाको हुनेछ।

स्वर्गीय कोइरालाले सुत्ने ओछ्यानदेखि निजी जीवनमा प्रयोग गर्ने सबै सामग्री संग्रहालयमा राखिने छ। त्यस्तै विदेशी राष्ट्राध्यक्षसँग खिचेका फोटो, लत्ताकपडालगायतका सामग्री पनि राखिने छ। संग्रहालयमा पिता कृष्णप्रसाद कोइरालाका ५ छोरा मातृका, बिपी, केशव, गिरिजा र तारणीप्रसादका सबै सामग्री प्रदर्शनीमा राखिने फाउण्डेशनले जनाएको छ। प्रदेशकै पर्यटकीय गन्तव्य हुने यो संग्रहालय अवलोकन गर्न विदेशीहरू पनि आउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रदेशसभा सांसद केदार कार्की, विराटनगरका मेयर भीम पराजुलीले संग्रहालयको निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्याम लालदास, फाउन्डेशनकी प्रदेश १ अध्यक्ष इन्दिरा थापालगायतले गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए।


 

प्रकाशित: १७ जेष्ठ २०७६ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App