coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नयाँ विद्यालय भवन पाउँदा फुरुंग

तस्बिर ः भूकम्पपछि पुनर्निर्मित जयगणेश आधारभूत विद्यालय भवन। तस्बिर: ध्रुव/नागरिक

लिसंखुपाखर (सिन्धुपाल्चोक) - पुनर्निर्माणपछि नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुंग परेका छन्। साढे दुई वर्ष लगाएर बनाइएको भवन बिहीबार आफ्नै संरक्षणमा आएपछि उनीहरू अझ उत्साही देखिए। ‘भूकम्पपछि भवन अभावमा ठूलो कष्ट सहेर पठनपाठन सञ्चालन गरेका थियौं,’ विद्यालय समुदायको स्वामित्वमा आएपछि व्यवस्थापन समिति अध्यक्ष पेमा घिसिङले भने, ‘नयाँ भवनले भूकम्पले दिएको दुःख भुलाउँदै लगेको छ।’

३ करोड ४० लाख रुपैयाँ लागतमा बनेको विद्यालय भवन नेकपा नेता र संघीय सांसद अग्निप्रसाद सापकोटाले एक कार्यक्रमबीच उद्घाटन गरे। उनले सुविधासम्पन्न भवन पाएकाले शैक्षिक गुणस्तर सुधार्न शिक्षकहरूलाई आग्रह गरे। दाता एसियाली विकास बैंक (एडिबी) को सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत यो विद्यालय बनेको हो। नवनिर्मित दुई भवनमा सात कोठा छन्। कार्यालय एक, पुस्तकालय कक्ष एक र कक्षाकोठा पाँचवटा रहेको भवनमा शिक्षक, विद्यार्थी र अशक्तका लागि छुट्टाछुट्टै शौचालयसमेतको व्यवस्था गरिएको छ।

एकाइका आयोजना प्रमुख यमबहादुर खड्काले विद्यालय भवन समुदायलाई हस्तान्तरण गरेका थिए। साथै, उनले विद्यालयलाई निर्माण सम्पन्न प्रमाणपत्रसमेत प्रदान गरे। भूकम्पपछि ठेक्का प्रक्रिया, संघसंस्था र व्यवस्थापन समितिमार्फत शैक्षिक संस्था पुनर्निर्माण भइरहेको जानकारी दिँदै उनले सिन्धुपाल्चोकका सामुदायिक विद्यालयको पुनर्निर्माण अन्तिमतिर पुगेको जानकारी दिए। स्थानीयले ऋणधन, अन्नताप बेचेर २०४६ मा बनाएको विद्यालय भवन २०७२ वैशाख १२ को भूकम्पले भत्काएको थियो। लामो समय विद्यार्थी अस्थायी टहरोमा पढ्न बाध्य भए। खानेपानी सुविधा, आकर्षक फर्निचरले सजिएको विद्यालय भवन साजसजावटले चिटिक्क छ। कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा २६ बालबालिका अध्ययनरत छन्।

केही वर्षअघिसम्म ५०–६० विद्यार्थी रहने विद्यालयमा बालबालिका संख्या घट्दै गएकोमा व्यवस्थापन समितिका अध्यक्ष घिसिङले चिन्ता व्यक्त गरे। ‘रोजगारीका लागि अभिभावक अन्यत्र जाँदा बालबालिका पनि लैजान थाले,’ विद्यार्थी संख्या घट्नुको कारण खुलाउँदै उनले भने। सुविधायुक्त विद्यालय भवन पाएकाले गुणस्तरीय शिक्षाद्वारा उनीहरूलाई फर्काएर विद्यार्थी संख्या बढाउने योजनामा समुदाय जुटेको उनले बताए।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App