coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उत्कृष्ट उपभोक्ता समिति पुरस्कृत

विशेष सम्मान ग्रहण गर्दै पूर्व प्रशासकीय अधिकृत सुरत पोखरेल। तस्बिर: नागरिक

सोलुखुम्बु  – खुम्बुपासाङल्हामु गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ। तोकिएको समयमै गुणस्तरीय काम, जनश्रमदान र सार्वजनिक परीक्षणलगायत सूचकको आधारमा गरिएको मूल्यांकनमा राङिदङदेखि सानो गुमेला स्कुलसम्मको बाटो निर्माण उपभोक्ता समिति उत्कृष्ट बनेको हो।

१२ लाख रुपैयाँमा सम्पन्न योजना उत्कृष्ट बनेपछि उपभोक्ता समितिका अध्यक्ष कामीनुरु शेर्पाले गाउँपालिकाद्वारा प्रदान गरिएको नगद ग्रहण गरेका हुन्। उपभोक्ता समितिलाई पुरस्कृत गर्ने परिपाटीले विकास निर्माणको काममा चुस्तता ल्याउने आशा राखिएको गाउँपालिकाका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए। सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलगायतको उपस्थितिमा एक कार्यक्रमबीच उत्कृष्ट शिक्षक, स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि पुरस्कृत गरिएको छ।

रक्षामन्त्री पोखरेलले जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक चित्रकुमार बस्नेतलाई उत्कृष्ट शिक्षक पुरस्कारस्वरूप ५० हजार रुपैयाँ प्रदान गरेका छन्। त्यस्तै स्वास्थ्यकर्मीतर्फ स्वास्थ्यचौकी छिप्लुङका अहेब नवराज आरसी र कर्मचारीतर्फ योजना शाखाप्रमुख चेतनाथ कटेल उत्कृष्ट बनेका छन्। उनीहरूलाई पनि गाउँपालिकाले जनही ५० हजारका दरले पुरस्कृत गरेको छ।

गाउँपालिकाले २०७४/७५ मा प्रमुख प्रशासकीय अधिकृत रहँदा नागरिकको मन जित्न सफल भएको भन्दै तनहुँका सुरत पोखरेललाई नगद १ लाखसहित विशेष सम्मान प्रदान गरेको प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले जानकारी दिए। साथै गाउँपालिका र एक्सन फर नेपालको साझेदारीमा ११ वटा विद्यालयमा सञ्चालित साक्षरता सुधार कार्यक्रममा कार्यरत एकजना प्रधानाध्यापक र तीन कक्षा शिक्षकलाई पुरस्कृत गरिएको छ।

हिमालयन आधारभूत विद्यालयका प्रधानाध्यापक विकुमार विक र कक्षा शिक्षक पेम्बाडोमा शेर्पा, खुम्जुङ माविका शिक्षक पेम्बायाङजी शेर्पा र पेमाछिरिङ आधारभूत विद्यालयका शिक्षक छिरिङ राईलाई जनही ३० हजार रुपैयाँसहित पुरस्कृत गरिएको उनले जानकारी दिए। वर्षेनी वितरण गरिने पुरस्कारले क्षेत्रगत रूपमा कार्यसम्पादनमा आन्तरिक प्रतिस्पर्धा वृद्धि गर्ने आशा राखिएको छ।

प्रकाशित: १७ जेष्ठ २०७६ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App