coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

७ सय १३ संविधानसभा सदस्यले लिए ‘संविधानसभा पदक’

राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानसभा पदक लिदैं नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ।

काठमाडौं– लामो सङ्घर्ष, त्याग र बलिदान तथा दोस्रो जनआन्दोलनको उपलब्धिस्वरुप मुलुकमा पहिलोपटक २०६४ सालमा संविधानसभाको निर्वाचन भयो। नयाँ संविधान ल्याउन हर कोसिस भए पनि अन्तत विघटन भएपछि विसं २०७० मा अर्को संविधानसभाको निर्वाचन भयो।

राजनीतिक दलको सहकार्य र एकताले ९० प्रतिशत बढीको सहभागितामा २०७२ सालमा नयाँ संविधान जारी भई मुलुकले एउटा दिशा तय गरेको थियो। संविधानको मर्म र भावनाअनुसार अहिले देश एउटा समृद्धिको मार्गमा अघि बढेको छ।

दशकौँदेखिको वंशीय परम्पराको अन्त्य भई नेपाली जनताले चुनेको व्यक्ति नै राष्ट्रप्रमुख हुने व्यवस्था शुरु गराउनमा दुवै चरणका संविधानसभाका सदस्यले खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरी सरकारले १२ औँ गणतन्त्र दिवसको भोलिपल्ट संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’ सहित सम्मान गरेको छ।

‘नेपाली जनताले ऐतिहासिक भूमिका निर्वाह गर्ने अवसर दिनुभयो, त्यसैको प्रतिफल हो यो पदक, इतिहासको साक्षी भएकाले गर्वको महसुस गराएको छ’, पदक लिएपछि २०६४ सालको संविधानसभाका सदस्य गोविन्दराम चेपाङले भने। चितवनबाट तत्कालीन समयमा संविधानसभाका सदस्य बनेका कृष्णभक्त पोखरेल पनि पदक पाउँदा खुशी थिए। आफूले पाएको पदकसहित पोखरेलले सामाजिक सञ्जालबाटै खुशी साटे। आज राष्ट्रपति निवासमा सहभागी संविधानसभा सदस्यहरु त्यो बेलाको क्षण सम्झँदै एकापसमा तस्वीर लिएर खुशी साट्न मै व्यस्त देखिए। संविधानसभा चल्दा सदस्यहरु एकै ठाउँमा जमघट हुने अवसर मिलेको थियो तर अहिले त्यस्तो अवस्था छैन। आजको पदकले भने उहाँहरुलाई जमघटको अवसर जुराइदिएको थियो। संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी निर्वाह गरेको भन्दै पदक पाउँदा उनीहरुको अनुहारमा छुट्टै खुशी छचल्किएको देखिन्थ्यो।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान निर्माणमा महत्वपूर्ण योगदान पु-याएकोमा उच्च मूल्याङ्कन गर्दै पहिलो र अर्को संविधानसभामा निर्वाचित उनीहरुलाई राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु-याएबापत सभासद्हरुलाई सम्मान गरिएको हो। संविधानमा राष्ट्रपतिले राज्यकोतर्फबाट प्रदान गरिने उपाधि, सम्मान र विभूषण प्रदान गर्नेछ भन्ने उल्लेख छ।

पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो नम्बरमा थिइन। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरेकी थिइन्। बिहान र दिउँसो गरेर दुई चरणमा राष्ट्रपतिले पदक प्रदान गरेकी हुन्।

सभामुख कृष्णबहादुर महरा, पूर्वराष्ट्रपति रामवरण यादव, उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्रीहरु, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नामसमेत पदम पाउनेको सूचीमा राखिएको थियो।

सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र झलनाथ खनालसमेतले शीतल निवास पुगेर राष्ट्रपतिबाट पदक ग्रहण गरे। गृह मन्त्रालयले दुवै संविधानसभामा सहभागी एक हजार १ सय ९ को नाम पदक लिनेको सूचीमा राखे पनि पछिल्लो समयमा तीनजना हटाएर एक हजार १०६ लाई मात्रै पदक प्रदान गरेको जनाएको छ। आज उपस्थित भई पदक लिनेमा ७ सय १३ पूर्वसभासद मात्र थिए।

मन्त्रालयका सहसचिव महादेव पन्तले ९० जनाको नाम दोहोरिएको जानकारी दिए। आठ जनाले राजीनामा दिएको, फौजदारी मुद्दा लागेका नौ जनाको अवस्था विचाराधीन रहेको र तीन जना दोषी प्रमाणित भएकाले पदक पाउनबाट वञ्चित भएको उनले बताए।

नेपालको इतिहासमा पहिलो पटक विसं २०६४ साल चैत २८ गते प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीअनुसार संविधानसभा सदस्य निर्वचन भएको थियो। उक्त संविधानसभाले नयाँ संविधान निर्माण गर्न नसकेपछि विसं २०७० मङ्सिर ४ गते अर्को संविधानसभा निर्वाचन भएको थियो। उक्त संविधानसभाले २०७२ साल असोज ३ गते इतिहास मै पहिलो पटक ‘नेपालको संविधान २०७२’ जारी गरेको थियो। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App