१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सहकारीले रकम हिनामिना गरेपछि...

सहकारी वित्तीय संस्था लिमिटेड कार्यालय नेपालगन्ज अगाडि भेला भएका सेवाग्राही। तस्बिर : अर्जुन ओली

नेपालगन्ज- नेपालगन्ज, पुरैनाका फायद्धिन अचेल दिनहुँ सहकारी वित्तीय संस्था लिमिटेड कार्यालयमा धाईरहेका छन्। दुःख, मेहेनत गरी कमाएर बचत गरेको रकम नेपालगन्जस्थित सहकारी वित्तीय संस्था लिमिटेडले हिनामिना गरिदिएको हल्ला सुनेपछि उनी दिनहुँ कार्यालयमा धाउन थालेका हुन्। उक्त सहकारीमा आफुले ३ लाख ८५ हजार जम्मा गरेको फायद्धिनले सुनाए।

सहकारी कार्यालय अगाडि भेटिएका उनले नागरिकसँग भने, ‘यो सहकारीप्रति हाम्रो पूर्ण रुपमा विश्वास थियो, अहिलेसम्म पैसा बचत गर्ने र निकाल्ने क्रम चलिरहेकै थियो, जब सहकारी डुबेको थाहा भयो, पैसा निकाल्न आउँदा सधैं बन्द हुन्छ, कर्मचारी पनि छैनन्।’ आफुले वचत गरेको रकम पाउने आश्वासन कर्मचारीले पहिले दिएपनि अहिले कार्यालय नै बन्द भएको उनले बताए।

बाँके, हिरमिनियास्थित कालाबन्जरबाट सहकारी कार्यालयमा आएकी रामरानीको समस्या पनि एउटै हो। उनले पनि उक्त सहकारीमा १ लाख १० हजार रूपैयाँ बचत गरेकी थिईन्। राम्रो ब्याज पाईने आशाले सहकारीमा रकम जम्मा गरेकी उनी जतिबेला झस्किईन्, सहकारी संस्थाको आर्थिक कारोबार नै बन्द भएको थाहा पाईन्। उनी अचेल घरको कामकाज सबै त्यागेर भएपनि चर्को गर्मीमा सहकारी कार्यालय र जिल्ला प्रशासनमा धाउँछिन्। सहकारीमा फसेको रकम निकाल्न पाउनुपर्ने उनको एउटै माग छ। बाँकेका विभिन्न स्थानबाट आएका वचतकर्ताले अचेल दिनहुँजसो रकम फिर्ताको माग गर्दै सहकारी संस्था र जिल्ला प्रशासन कार्यालयमा धाउने गरेका छन्। वचतकर्ताहरु प्रायः ग्रामीण क्षेत्रका बढी छन्।

      उक्त सहकारीले सर्बसाधारणबाट संकलन गरेको करिव २६ करोड रकम हिनामिना गरेको घटना केहीदिन अघि सार्वजनिक भएको थियो। २०५१ सालमा स्थापना भएको सहकारीले ग्राहकबाट संकलन गरेको कुल ५२ करोड रुपैयाँ मध्ये २६ करोड हिनामिना गरेको अनुमान गरिएको छ। रकम हिनामिनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। सहकारीका सञ्चालकहरु कर्मचारीले नै रकम हिनामिना गरेको बताउँदै आएका छन्। 

      सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरीसहित प्रहरीले सञ्चालक समिति सदस्यसँग बयान लिईरहेको छ। रकम हिनामिना भएपछि सहकारीको आर्थिक कारोबार बन्द गरिएको छ, भने आरोपित कर्मचारी फरार छन्। कारोबार बन्द भएपछि आफ्नो रकम फस्ने चिन्ताले ठूलो संख्यामा उपस्थित सेवाग्राहीले सहकारीको कार्यालय र जिल्ला प्रशासनमा धर्ना दिदै आएका छन्। सेवाग्राहीले बिहीबार पनि बिहानैदेखी धर्ना दिएका थिए। सहकारीमा फसेको रकम असुल गरिदिन उनीहरुले माग गरेका छन्।

       जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अरुण पौडेलले सञ्चालकलाई बोलाएर सोधपुछ गर्ने काम भईरहेको र फरार रहेका कर्मचारीको खोजी भईरहेको बताए। उक्त संस्थाका खजुरा शाखा प्रबन्धक सुर्यबहादुर बिक, नेपालगन्ज शाखाका सहायक प्रबन्धक गंगाधर सुवेदी, मुख्य शाखा प्रबन्धक अरुणकुमार पाठक र बैजापुर शाखा प्रबन्धक लिलाधर ओलीले रकम हिनामिना गरेको सञ्चालकहरुले बयान दिएका छन्।

       ‘हिनामिना गरेको रकम कर्मचारीले आज (बिहीबार) सम्म सहकारीमा जम्मा गर्ने कुरा थियो, तर उनीहरुले जम्मा गरेका छैनन्,’ एसपी पौडेलले नागरिकसँग भने। कसले कति रकम हिनामिना गरेको छ भन्ने एकिन कुरा छानविन पश्चात मात्र पत्ता लाग्ने उनको भनाई छ। रकम हिनामिनामा संलग्न एकजना कर्मचारीले केही रकम जम्मा पनि गरेको पौडेलले सुनाए। सहकारी सञ्चालक समितिले एकवर्ष भित्र सबै वचतकर्ताको रकम फिर्ता गरिदिने निर्णय गरिसकेको छ।

      जिल्लाकै पुरानो भएकाले सहकारी वित्तीय संस्था लिमिटेडले सर्बसाधारणको विश्वास जितेको थियो। तर, सहकारीले रकम हिनामिना गरेको घटना सार्बजनिक भएपछि पछिल्लो समयमा सर्बसाधारणको विश्वसनियतामाथी प्रश्न उठेको छ। ‘सहकारीमाथी विश्वास गरेर पैसा वचत गरेका हौं, अब कसरी पैसा असुल्ने होला,’ पुरैनाकी पहलादा धोबीले भनिन्। जिल्लामा एकपछि अर्को गरी सहकारी संस्थाले रकम हिनामिना गर्न थालेपछि वचततर्फ आर्कषित भईरहेका सर्बसाधारण त्रसित भएका छन्।

 

 

 

प्रकाशित: १६ जेष्ठ २०७६ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App