७ वैशाख २०८१ शुक्रबार
समाज

भान्सामा तरकारीसँगै यसरी पाक्छ विषादी

म्याग्दी– छोटो समयमा बढी उत्पादन गरी मनग्य आम्दानी गर्ने लोभमा किसानहरुले तरकारीमा जथाभावी विषादीको प्रयोग गर्दा यसको दुष्प्रभाव उपभोक्ताहरुमा देखिन थालेको छ। किसानले कृषि प्रविधिज्ञको सल्लाह नलिई आफूखुशी विषादीको प्रयोग गर्दा उपभोक्ताको भान्सामा तरकारीसँगै विषादी पनि पाकिरहेको छ। म्याग्दी जिल्लाका ग्रामीण भेगका साथै छिमेकी जिल्ला पर्वत र तराईका विभिन्न क्षेत्रहरुबाट सदरमुकाम बेनीमा भित्रिने तरकारी र फलफूलको परीक्षण हुन नसक्दा विषादीसमेत मानिसको पेटमा पुगिरहेको सरोकारवालाहरुले बताएका छन्।

सरकारका नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा नेपालीहरुको भान्सामा विषादी र तरकारी एकैचोटि पाकिरहेको कृषि वैज्ञानिकहरु बताउँछन्। गाउँ र तराईबाट बजारमा आउने तरकारीको परीक्षण गरिँदैन। उपभोक्ताको स्वास्थ्यमा यस्ता तरकारीले कस्तो असर गरेको छ, कसैको ध्यान पुगेको छैन। यस्ता तरकारी खुलेआम बेच्न दिँदा जनस्वास्थ्यप्रति खेलबाड भइरहेको उपभोक्ताको गुनासो छ।

तरकारीमा नदेखिने विषको प्रयोग हुने कृषि विशेषज्ञहरुले बताएका छन्। विषादीको दुई किसिमबाट प्रयोग गरिने उनीहरुको भनाइ छ। पहिलो चरणमा बिरुवा रोप्दै गर्दा विषादी हालिन्छ। फल फलिसकेपछि तरकारी छिटो बजारमा पु-याउन पनि कृषकले विषादी हाल्ने गरेको अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक टीकाबहादुर कार्कीले बताए।

कृषि वैज्ञानिक कार्कीका अनुसार नेपालमा सन् १९५० देखि डिडिटी र पाइरेथ्रम नामका दुई विषादी औलो रोगको रोकथामका लागि लामखुट्टे मार्न भनेर नेपालमा ल्याउन शुरु गरिएको हो। सरकारी तवरबाट भने सन् १९५६ बाट आयात गर्न शुरु गरिएको अभिलेख छ। विस्तारै यसको खपत बढ्दै गएपछि कृषि क्षेत्रमा पनि यसको प्रयोगमा व्यापकता आउँदै गएको हो। कार्कीका अनुसार हाल नेपालमा वार्षिक रु ७४ करोड ७८ लाख मूल्यका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको छ। नेपालमा पङ्जिकृत विषादीको सङ्ख्या (व्यापारिक नाम) २ हजार ५७६ रहेको छ भने १३९ सामान्य पङ्जिकृत विषादी रहेका छन्। सरकारी तथ्याङ्क अनुसार विषादीका १२ हजार ८८७ खुद्रा विक्रेता र ११ हजार ९०८ तालीम प्राप्त बिक्रेता रहेका छन्। सरकारी तथ्याङ्क अनुसार अनुमतिपत्र लिएका संष्लेषणकर्ताको सङ्ख्या भने जम्मा ५ रहेको छ।

कृषि वैज्ञानिक कार्कीका अनुसार विषादी प्रयोग गरिएका तरकारी, फलफूल तथा खाद्यान्नले दीर्घकालीन असर निम्त्याइरहेका छन्। क्यान्सर, वंशाणुगत परिवर्तन, विकृत बच्चाको जन्म, कलेजो तथा मिर्गौला बिग्रनु, प्रजननमा विकृति, स्नायुसम्बन्धी  रोग, एजर्ली, दम, अन्धोपन लगायतका समस्याहरु बढ्दै जानाको पछाडि विषादी प्रयोग गरिएको तरकारी र फलफूलको सेवन नै प्रमुख रहेको छ।

नेपालमा वर्षेनी रु ३६ करोड ६० मूल्य बराबरको १ लाख ६९ हजार किलोग्राम कीटनाशक विषादी, रु २५ करोड ७० लाख मूल्य बराबरका ३ लाख ४८ हजार किलोग्राम रोगनाशक विषादी, रु ९ करोड ८४ लाख मूल्य बराबरका १ लाख ६ हजार किलोग्राम झारपात नाशक विषादी र रु २ करोड ३६ लाख मूल्य बराबरका १३ हजार २०९ किलोग्राम अन्य विषादी गरी कुल रु ७४ करोड ७८ लाख मूल्य बराबरका ६ लाख ३५ हजार किलोग्राम विषादी खपत हुने गरेको नार्कका अन्तर्राष्ट्रिय कृषि वैज्ञानिक कार्कीले जानकारी दिए।

यसैगरी, बेनी नगरपालिकाका कृषि संयोजक कृष्ण बानियाँले ज्ञानको अभावमा किसानहरुले कडा भन्दा कडा विषादी तरकारीमा हाल्ने गरेका बताए। बानियाँले भने ‘यस्तो विषादी हालिएको तरकारी हामी सबैको भान्सामा दिनहूँ पाकिरहेको छ र हामी तरकारीसँगै विष पनि खाइरहेका छौं।’

विषादीरहित अग्र्यानिक तरकारी खेतीका लागि कृषकहरुलाई जागरुक बनाउनुपर्ने आवश्यकता रहेको किसानी कृषि प्राविधिक शिक्षालयका संयोजक करन कँडेलले बताए। ‘किसानहरुलाई विषादीरहित तरकारी खेतीका लागि प्रोत्साहन गर्न सरकारले अग्र्यानिक उत्पादनका लागि अनुदान र उपभोक्ताले पनि उचित मूल्य दिन आवश्यक छ,’ संयोजक कँडेलले भने– ‘कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई हामीले विषादीरहित तरकारी उत्पादनका लागि आधुनिक तरीका र प्रविधिका बारेमा सिकाइरहेका छौं।’

विषादीयुक्त तरकारी  खाँदा मानिसलाई विभिन्न किसिमका रोग लाग्ने चिकित्सकहरुले बताएका छन्। मानिसको वंशाणुगत क्षमतामै असर, गर्भवतीले बढी खाएमा बच्चा अस्वस्थ जन्मिने, लुलो लङ्गडो हुने र क्यान्सरले समेत सताउने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भीम आचार्यले बताए। चिकित्सक आचार्यका अनुसार तरकारीलाई तीन÷चार पटक राम्ररी पखालेर पकाउनुपर्छ। ‘पर्याप्त जानकारी हुँदाहुँदै पनि बाध्यतावश उपभोक्ताले सेवन गरिरहेका छन्,’ उनले भने। रासस

प्रकाशित: १६ जेष्ठ २०७६ ११:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App