coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटनमा दुई अर्ब ६८ करोड

काठमाडौं – सरकारले पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि दुई अर्ब ६८ करोड विनियोजन गरेको छ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७६/७७ को बजेटमा पर्यटन क्षेत्रको विकासका लागि उक्त रकम विनियोजन गरेका हुन्।   नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गर्न र नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यको रुपमा विश्व बजारमा स्थापित गराउन जारी बजेटबाट प्रभावकारी भूमिका निर्वाह गर्ने सरकारको लक्ष्य छ।

पर्यटकीय स्थलहरुको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यस्थलको पहिचान, विकासमा जोड दिइएको छ।
जारी बजेटअनुसार प्रमुख पर्यटकीय स्थानलाई माइस पर्यटन स्थलको रुपमा विकास गर्न स्तरीय सडक, ठूला सभाहल तथा सम्मेलन केन्द्र जस्ता पूर्वाधार विकासमा सरकारको जोड रहेको छ। नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटो संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने छ।

पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्यावरण पर्यटन, धार्मिक तथा सांस्कृतिक पर्यटन, खेल पर्यटन तथा स्वास्थ्य पर्यटन जस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा सरकारको जोड छ। रारा क्षेत्रलाई राष्ट्रिय पर्यटन गन्तव्यको रुपमा जोड दिँदै दार्चुलादेखि ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग रेखांकन गरी पूर्वाधार निर्माण गर्ने र साहसिक पर्यटनमा विश्वको ध्यान तान्न प्रचार–प्रसारमा जोड दिइएको छ।

महाभारत क्षेत्रका सम्भाव्य पर्यटकीय स्थानलाई बिदा मनाउन उपयुक्त शीतल आवासको रूपमा विकास गर्न र मुख्य धार्मिकस्थलको आकृति झल्किने गरी धार्मिक पर्यटकीय स्थल निर्माणमा सरकारको ध्यान केन्द्रित भएको छ। आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै गुणस्तरीय र दिगो पर्यटन विकासमा जोड दिँदै हिमाली तथा पहाडी क्षेत्रमा पर्यटन प्रवद्र्धन, ढुवानी सेवा र यातायात साधनको रुपमा केबलकार प्रयोगलाई प्रोत्साहित गर्न जारी बजेटबाट टेवा पु¥याउने सरकारको लक्ष्य रहेको छ।
पर्यटन विकासमा आबद्धता बढाउन हरेक प्रदेशमा कम्तीमा दुई राष्ट्रिय राजमार्ग बनाउने सरकारको लक्ष्य रहेको छ।

हवाई क्षेत्रको पूर्वाधारमा जोड
हवाई पूर्वाधारको निर्माण, विकास तथा व्यवस्थापनमा सरकार र निजी क्षेत्रको साझेदारी र सहकार्यलाई प्रोत्साहन गर्दै हवाई क्षेत्रमा १५ अर्ब ८५ करोड विनियोजन भएको छ।
आन्तरिक र वाह्य पर्यटन क्षेत्रको विकास गर्न सुरक्षित, नियमित र गुणस्तरीय हवाई पूर्वाधारमा जोड दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा रूपान्तरण गरी २४सै घन्टा सञ्चालन जारी बजेटमा उल्लेख छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको कार्य सम्पन्न गरी आगामी वर्षसम्म अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न तीन अर्ब ३४ करोड विनियोजन भएको छ भने पोखरा विमानस्थलको निर्माण कार्य अघि बढाउन आठ अर्ब रकम छुट्ट्याइएको छ।  

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पूर्वतयारी कार्य अघि बढाउन उपयुक्त पहल गर्दै आन्तरिक विमानस्थलको निर्माण तथा स्तरोन्नतिमा जोड दिइएको छ। विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज, दाङ, धनगढीलगायत विमानस्थलको स्तरोन्नति गरी ठूला विमान अवतरण गराउने सरकारको लक्ष्य छ। त्यस्तै, सुर्खेत, गोकुलेश्वर, कमलबजार, स्वर्गद्वारी र चुहानडाँडा लगायत स्थानमा विमानस्थल निर्माण गरिने छ। पर्यटक उदगम हुने देशसँग थप हवाई सेवा सम्झौता गर्ने र नयाँ हवाई प्रवेश बिन्दु तथा नयाँ हवाई मार्ग प्रयोगका लागि छिमेकी राष्ट्रसँग समझदारी एवं सम्झौता गर्ने पनि सरकारको लक्ष्य रहेको छ।

रात्रिकालीन काठमाडौं र उपत्यका सम्पदा यात्रा
मुलुकको विशिष्ट संस्कृतिको संरक्षणमा ध्यान दिँदै विश्व सम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण र विकासमा विशेष जोड दिइएको छ। काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको अवलोकन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा सञ्चालन गर्ने बजेटमा जनाइएको छ। कीर्तिपुरस्थित जातीय संग्रहालयलाई राष्ट्रिय सांस्कृतिक संग्रहालयको रूपमा विकास गर्न पूर्वाधार निर्माणका लागि रकम छुट्ट्याएको छ।

तिलौराकोट, लुम्बिनी, देवदह र रामग्राम क्षेत्रलाई समेटी बृहत् लुम्बिनी एकीकृत विकास गुरुयोजनाको रुपमा विकास गरिने छ। लुम्बिनी क्षेत्रको गुरुयोजना बमोजिमको निर्माण कार्यलाई निरन्तरता दिन एक अर्ब र पशुपति क्षेत्र विकासका लागि ३५ करोड रुपैयाँ विनियोजन भएको छ। देवघाट, जनकपुरधाम, पाथिभरा, रुरु, विराटक्षेत्र, बराहक्षेत्र, खप्तडक्षेत्र, काँक्रेबिहार, हलेसी र गौरीशंकरलगायत धार्मिकस्थलको विकासका लागि गुरुयोजना तर्जुमा गरी कार्यान्वयन गरिनेछ।  आदिवासी जनजाति, अल्पसंख्यक तथा दलित समुदायको परम्परागत सीप र कलाको संरक्षण र सम्वद्र्धन गर्न पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ।
 

प्रकाशित: १६ जेष्ठ २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App