५ वैशाख २०८१ बुधबार
कला

‘सरकारको बजेट उत्साहजनक’

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसद्मा पेश गरेको बजेटमा फिल्मसँग सम्बन्धित तीन विषय समेटिएपछि सरोकारवाला निकायले बजेटलाई ‘उत्साहजनक’ भनेका छन्। सरकारले बजेटमा काठमाडौंमा अत्याधुनिक स्टुडियो बनाउने, श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने र आगामी वर्ष फिल्म छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गर्ने एजेन्डा समेटेपछि उनीहरूले ‘उत्साहजनक’ भनेका हुन्।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी सरकारको तर्फबाट बजेटमा प्रस्तुत तीनवटै एजेन्डा अत्यावश्यक भएको बताउँछन्। ‘हामीले आफ्नो निकायबाट पहल गरेको एजेन्डाले स्थान पाएका छन्। फिल्मको ‘इन्डोर’ छायांकनका लागि काठमाडौंमा अत्याधुनिक स्टुडियोको आवश्यकतालाई हामीले धेरै पहिलादेखि नै महशुस गरेको विषय हो। खास गरी सुरक्षा, पूर्वाधार, आर्थिक संरचना हरेक किसिमले पनि काठमाडौं नै उपर्युक्त थियो’, आकाशले भने, ‘फिल्मकर्मीलाई सामाजिक सुरक्षा पनि अत्यावश्यक कुरा थियो। यसपटकको बजेटले यो कुरालाई समेट्दा खुशी लागेको छ। सरकारको बजेट उत्साहजनक छ।’

नेपाल आफैंमा ओपन स्टुडियो हो। यही परिप्रेक्ष्यमा सरकारले बजेटमार्फत विदेशी फिल्मलाई लक्षित गरी ‘छायांकनका लागि नेपाल कार्यक्रम’ ल्याउनु सुखद् कुरा हो।

आकाशले नेपालमा फिल्म छायांकनका लागि आउने विदेशी फिल्मकर्मीहरूले दुःख पाइरहेको गुनासो बढीरहँदा बजेटमा ‘आगामी वर्ष फिल्म छायांकनका लागि नेपाल कार्यक्रम सञ्चालन गर्ने’ एजेन्डाले प्रवेश पाउनु दुःख बिर्साउने विषय भएको बताए। ‘फिल्मसँग सरोकार नै नराख्ने अर्थात् गैह«फिल्मी व्यक्तिहरूको सम्पर्कमा रहेर नेपालमा फिल्म छायांकन गर्न आउनेको ठूलै समूह थियो। उनीहरूले धेरै दुःख पाएको कुरा हामीले देखेका र सुनेका थियौं’, नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका केन्द्रीय सदस्यसमेत रहेका आकाशले भने, ‘फिल्म बुझेको एजेन्सीमार्फत छायांकनको व्यवस्था मिलाउन हामीले विकास बोर्ड र सरकारमा पटकपटक आवाज उठाएका थियौं। फिल्म बुझेको एजेन्सीमार्फत काम गर्दा नेपालमा धेरै प्राविधिकले रोजगारी पनि पाउँछन्।’

उनले बजेटमा छुटेका केही कुरालाई सरकारले सम्बोधन गर्नेमा आशा व्यक्त गरे। ‘हामीले बुझाएका एजेन्डामा केही कुराहरू छुटेका रहेछन्। तर ती एजेन्टालाई समेट्नेमा आशावादी छौं’, उनले भने, ‘हामीलाई ट्याक्स प्रणालीमा पनि समेटिनुपर्छ भन्ने एजेन्डा राखेका थियौं। जसले गर्दा सफल फिल्म र असफल फिल्मका निर्माताले पनि कर तिरेको आभाष हुन्थ्यो।’

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले बजेटमा समेटिएका तीनवटै एजेन्डा सही भएको बताए। उनले आफुहरूले पाँच, छ वटा एजेन्डा मन्त्रालयमा पेस गरे पनि केही कुरा समेटेकोमा खुशी व्यक्त गरे। ‘उपत्यकामा एउटा अत्याधुनिक फिल्म स्टुडियो अत्यावश्यक नै थियो। यसअघि बोर्डको पहलमा दोलखामा स्टुडियोको तयारी भइहेको थियो। त्यसको डिपिआर पनि तयार भएर त्यसलाई सच्याउने काम भइरहेको छ। दोलखाको फिल्मसिटीका लागि अर्बौको बजेट लाग्छ। त्यो प्रोजेक्टमा विकास बोर्डले खर्च गर्न सक्दैन्’, अध्यक्ष भट्टराईले भने, ‘उपत्यकामा स्टुडियो स्थापना हुने भएपछि बोर्डले पनि जग्गा खोज्ने काममा पहल गर्नेछ।’

भट्टराईले सरकारले बजेटमा ल्याएको श्रमजीवी चलचित्रकर्मीलाई सामाजिक सुरक्षा भत्ता दिने एजेन्डाले फिल्मकर्मीलाई राहत दिने बताए। ‘श्रमजीवी फिल्मकर्मीका लागि सरकारले ल्याएको सामाजिक सुरक्षा भत्ता दिने एजेन्डा जायज हो। धेरै पुराना फिल्मकर्मीहरू आर्थिक अभावकै कारण उपचार अभाव व्यहोरिरहेका छन्। मृत्यु हुने कलाकार र प्राविधिकको दाहसंस्कार गर्नकै लागि पनि पैसा उठाउनुपर्ने अवस्था छ। यो अवस्थाबाट मुक्त हुनका लागि सामाजिक सुरक्षा भत्ता दिने घोषणा स्वागतयोग्य छ’, उनले भने, ‘बजेटमा नेपाल छायांकन कार्यक्रमको कुरा पनि समेटिएको छ। नेपाल आफैंमा ओपन स्टुडियो हो। यही परिप्रेक्ष्यमा सरकारले बजेटमार्फत विदेशी फिल्मलाई लक्षित गरी ‘छायांकनका लागि नेपाल कार्यक्रम’ ल्याउनु सुखद् कुरा हो। हामी यही भएका प्राकृतिक सुन्दरतालाई राम्ररी चिनाउन सकेका छैनौं। यो अवस्थामा पर्यटनलाई ठूलो टेवा पुग्ने गरी ल्याइएको कार्यक्रम स्वागतयोग्य छ।’

अध्यक्ष भट्टराईले विकास बोर्डले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा विदेशी फिल्मलाई नेपाल पनि छायांकनका लागि उपयुक्र्त स्थल हो भन्ने थाहा दिनका लागि कार्यक्रम बनाउने तयारी भइरहेको बताए।

प्रकाशित: १६ जेष्ठ २०७६ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App