८ वैशाख २०८१ शनिबार
खेल

इङ्ल्यान्ड भारत र अस्ट्रेलियासँग सजग

लन्डन – घरेलु मैदानमा बिहीबार सुरु हुने विश्वकप क्रिकेट जित्ने लक्ष्य बनाएको इङ्ल्यान्ड उपाधिको भोको अस्ट्रेलिया र विराट कोहलीप्रेरित भारतसँग निकै सजग छ।

१२औं संस्करणको आइसिसी विश्वकप क्रिकेट बिहीबारदेखि सुरु हुँदै छ। स्न् १९७५ देखि अहिलेसम्म ११ वटा विश्वकप भइसकेका छन्। पहिलो विश्वकप इङ्ल्यान्डमा भएको थियो भने १२औं संस्करण पनि त्यहीं हुँदै छ। यसबीचमा इङ्ल्यान्ड भने उपाधिविमुख हुँदै आएको छ।
विश्वकप खेल्ने १० राष्ट्रमध्ये सबैभन्दा सफल अस्ट्रेलियाले पाँच पटक जितेको छ।

यता, सन् १९९२ को विश्वकप फाइनलमा हार बेहोरेको इङ्ल्यान्ड त्यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि जित्न असफल छ। विश्वकप सुरु भएको ४५ वर्ष बितिसक्दा उपाधि जित्न नसकेको इङ्ल्यान्ड यस पटक त्यो धैर्यता मेट्न चाहन्छ। 

विश्वस्तरीय स्टार खेलाडीले भरिएको विराट कोहलीको नेतृत्वमा रहेको भारत पनि आफूलाई अब्बल साबित गर्न चाहन्छ। पाँचौं पटक च्याम्पियन अस्ट्रेलिया पनि स्टार क्रिकेटर स्टेभन स्मिथ र डेविड वार्नरको पुनरागमनमा उच्च आत्मविश्वासी देखिएको छ। बल टेम्परिङका कारण प्रतिबन्धमा परेका दुई ब्याट्सम्यान टोलीमा फर्किएसँगै डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई पुनः बलियो टोलीको रूपमा हेरिँदै आएको छ। १० टोली सम्मिलित विश्वकपमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका पनि विश्वकप जित्ने आशाअनुरूप मैदान उत्रँदै छन्। यी दुवै टोली कयौं पटक सेमिफाइनलमा पुगी आफूलाई साबित पनि गरिसकेका छन्। सन् १९९२ को च्याम्पियन पाकिस्तानसँगै ‘युनिभर्स बोस’ क्रिस गेलको टोली वेस्ट इन्डिजले पनि कयौं चुनौती दिनेछ।

गेलका लागि अन्तिम विश्वकप भएकाले पनि सन् १९७९ पछि पहिलो पटक वेस्ट इन्डिजलाई च्याम्पियनको ताज उपहार दिन चाहन्छन्। यसपटक पनि भारतसँग निकै क्षमतावान् नेतृत्वका रूपमा स्टार ब्याट्सम्यान विराट कोहली पनि छन्। क्षमता भएर पनि विश्वकपमा असफल राष्ट्रका रूपमा परिचित दक्षिण अफ्रिका र गत संस्करणको फाइनलिस्ट न्युजिल्यान्ड पनि सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन्। न्युजिल्यान्डको सफलतामा ब्याट्सम्यानद्वय केन विलियम्सन र रोस टेलर तथा तीव्र गतिका बलरद्वय टिम साउथी र ट्रेन्ट बोल्टको प्रदर्शन निर्णायक बन्नेछ। १० टोली सहभागी हुने यस विश्वकपमा टेस्ट रास्ट्रबाहेकका टोली यस पटक छैनन्।

त्यसैले यस पटक टेस्ट राष्ट्रभन्दा बाहिरको टोलीसँग स्तब्ध हुनुपर्ने अवस्था रहँदैन। यस पटक गत संस्करणका चार टोली जिम्बाब्वेसहित आयरल्यान्ड, स्कटल्यान्ड र संयुक्त अरब इमिरेट्स(युएई) यसपटकका विश्वकपमा छैनन्। यस पटक सबै फरम्याटका स्टार क्रिकेटरसहित विश्व क्रिकेटमा हरेक समय दबदबा बनाएका राष्ट्रहरू एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्दै छन्।

प्रकाशित: १६ जेष्ठ २०७६ ०२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App