coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रतिबन्ध हटे वार्ताको सम्भावना

इरानी राष्ट्रपति हसन रौहानी।

तेहरान – वासिङ्टनले तेहरानमाथि लगाउँदै आएको प्रतिबन्ध हटे अमेरिकासँग वार्ताको सम्भावना रहेको इरानी राष्ट्रपति हसन रौहानीले बुधबार संकेत गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानको आणविक कार्यक्रमलाई लिएर सम्झौताको सम्भावना रहेको बताएको दुई दिनपछि इरानी राष्ट्रपति रौहानीको यस्तो भनाइ आएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। ‘मलाई लाग्छ इरानले सम्झौता गर्न खोजेको छ र त्यसो गर्नुमा उसको बुद्धिमानी हुने छ र त्यस्तो हुने सम्भावना पनि उत्तिकै छ,’ अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार बताएका थिए।

विश्वका छ शक्तिशाली राष्ट्र र इरानबीच उसको आणविक कार्यक्रम रोक्नेबारे सन् २०१५ मा भएको सम्झौताबाट वासिङ्टनले गत वर्ष हात झिकेको थियो। राष्ट्रपति ट्रम्पले सो सम्झौता धोका भएको भन्दै नयाँ सम्झौतामा जोड दिँदै आएका छन्। सम्झौता तोडेलगत्तै अमेरिकाले इरानको कच्चा तेलको अन्तर्राष्ट्रिय व्यापारमा प्रतिबन्ध लगाएको छ।

‘अमेरिकाले जब इरानमाथि लगाउँदै आएको अन्यायपूर्ण प्रतिबन्ध हटाउँछ र पहिलेको प्रतिबद्धता पूरा गर्दै आफूले नै छोडेको वार्ताको टेबलमा आउँछ तब वार्ताको ढोका खुलै छ,’ राज्य सञ्चालित टेलिभिजनमा प्रसारण गरिएको रौहानीको भनाइ उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ। ‘तर हाम्रा जनताले तिमीलाई तिम्रा गफका आधारमा नभई तिम्रा कामका आधारमा मूल्यांकन गर्ने गरेका छन्।’ अमेरिकाले अत्याधुनिक हतियारसहित एक हजार पाँच सय सेना मध्यपूर्वमा पठाएपछि पछिल्लो समय तेहरान र वासिङ्टनबीच तनाव बढिरहेको छ।

प्रकाशित: १६ जेष्ठ २०७६ ०१:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App