काठमाडौं– सत्तारुढ दल नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको प्रस्ताव काँग्रेसलाई थाहै नदिई आएकोले यसमा काँग्रेसले अहिले नै निर्णय नगर्ने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लबमा बोल्दै नेता भण्डारीले प्रस्ताव राम्रै उद्देश्यले आएको भए पनि यसको शैली र तरिका भने ठिक नभएको गुनासो गरे।
‘महाअभियोग प्रस्ताव भनेको सक्रिय जीवनको अन्त्य हो, मृत्यु हो, मौकामा चौका हान्ने काम भयो, त्यसैले हामी हतारमा निर्णय गर्दैनौं ।’
भण्डारीले अख्तियार प्रमुख कार्कीका केही कार्यशैली चित्त बुझ्दो नभएको बताए। ‘लोकमानजीले पोखरा विश्वविद्यालयका खगेन्द्र भट्टराईलाई कारवाही गर्नुभयो,’ उनले भने, ‘उहाँले भ्रष्टाचार त परै जाओस् कसैको एक कप चिया पनि पिउनुभएको थिएन, गोविन्द केसीजस्तो डाक्टरलाई पागलको संज्ञा दिएर विज्ञप्ती निकाल्नुभयो, उहाँका यी कामहरु मलाई भित्रैबाट चित्त बुझेका छैनन्।’ यद्धपी उनले नेताहरुले एनसेलले देशको ५२ अर्ब रुपैयाँ खाँदासमेत एक शब्द नबोलेकोमा भने कडा आपत्ति जनाए ।
संसदमा महाअभियोग प्रस्ताव दर्ता भैसकेकोले यसको निश्पक्षता र प्रभावकारिताका आधारमा आफ्नो पार्टीले निर्णय गर्ने उनको विश्वास थियो । भण्डारीले हिजो लोकमानलाई कसको दबाबमा या, पैसाको प्रलोभनमा हो कि, वा लोकमानको विकल्प नभएर उनलाई प्रमुख आयुक्त बनाइएको हो त्यसबारेमा नेताहरुले जवाफ दिनुपर्ने माग गरे।
‘नेताहरुको बारेमा पनि छानविन हुनुपर्छ, उहाँहरुले जवाफ दिनुपर्छ,’ उनले भने, ‘यो दल वा त्यो दल भन्ने कुरा होइन, राष्ट्रको अगाडि पार्टी ठूलो कुरा होइन।’
उनले संविधान संशोधन केका लागि भन्दै प्रश्न समेत गरे। ‘मधेशका जनतालाई अधिकारसम्पन्न बनाउने कुरा ठूलो हो, आर्थिक, सामाजिक, रुपमा मधेशी जनतालाई बलियो बनाउनुपर्छ, यहाँ तराई र पहाडलाई अलग बनाउने कुरा हुँदैछ, यो अहिले आवश्यक छैन्,’ उनले भने। को कहाँ बस्ने भन्ने कुराको फैसला त्यहींका जनताले गर्ने कुरा भएको उनको तर्क छ।
प्रकाशित: १० कार्तिक २०७३ १३:५४ बुधबार