coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्तारुढ सांसदले भनेः बजेट कार्यान्वयनमा चुनौती छ

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरुले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ को बजेट कार्यान्वयनमा चुनौती रहेको बताएका छन्। 

अर्थमन्त्री युवराज खतिवडाले १३ अर्बको बजेट प्रस्तुत गरेपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए। ‘कार्यान्वयन जहिले पनि चुनौतीपूर्ण छ। कार्यान्वयन पक्षप्रति सरकार सचेत रहनुपर्छ। समीक्षा गर्नुपर्छ’, उनले भने। 

नेकपामा नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट धेरैतिर छरिएर आएको बताउँदै कार्यान्वयनमा चुनौती रहेको बताए। ‘सम्पन्न हुने योजनामा बढी केन्द्रीत गरेर गयो भने लक्ष्यमा पुगिन्छ’, उनले भने। निर्वाचन क्षेत्रमा मात्रै भ्रष्टाचार सबैतिर रहेको र यसलाई नियन्त्रण गर्नुपर्ने भन्दै सांसदले ठूला ठूला योजना छनोट गरेर खर्च गर्नुपर्नेमा जोड दिए।  उनले महंगी नबढ्नेतर्फ बजेट सचेत रहेका पनि दाबी गरे। 

समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटमा नयाँ केही नभएको टिप्पणी गरे। ‘संरचनात्मक परिवर्तन, सुधारको अपेक्षा थियो, त्यो आएन’, उनले भने, ‘निरन्तरता र लोकप्रिय हुने हिसाबले आयो।’ अहिलेको आवश्यकता र रोजगारी बढाउने हिसाबले बजेट नआएको उनको भनाई छ। ‘५ लाख रोजगारी सिर्जना गर्ने भनिएको छ, म त्यस्तो अवस्था देख्दिन’, उनले भने। 

कांग्रेस नेता मीनेन्द्र रिजालले बजेट सजिलो सिरानीमा बसेर निदाउन खोजेको जस्तो भएको टिप्पणी गरे। उनले २ अंकको वृद्धिदर हासिल सम्भव नभएको पनि स्पष्ट पारे। ‘चालु खर्च बढाएर बजेट आएको छ, यो कहिले बढ्दैन। ५० प्रतिशतले पुँजीगत बढाउने कुनै पनि आधार देखिएन्। वैदेशिक ऋण प्रक्षेपण सम्भव देखिँदैन्। निजी क्षेत्रलाई कर्जा सहज हुँदैन, २ अंकको वृद्धिदर हासिल हुन सम्भव छैन। सजिलो सिरानीमा बसेर निदाउन खोजिएको छ’, उनले भने।  

कांग्रेस सांसद एवं उद्योगपति विनोद चौधरीले बजेटले निर्यातमुखी उद्योग प्रवर्द्धनका लागि विभिन्न सुविधा दिए पनि भारत र चीनसँग प्रतिस्पर्धा गर्न सानातिना कार्यक्रमले नपुग्ने बताए। त्यसले समस्याको समाधान नहुने उनको भनाई छ। 

राजपाका सांसद लक्ष्मणलाल कर्णले सबै कुरा समाते पनि बजेट व्यवस्थित नभएको बताए। समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले बजेट निबन्धजस्तो भएको बताए। उनले भने, ‘संघीयताको स्पिरिटमा बजेट आएको छैन्।’

प्रकाशित: १५ जेष्ठ २०७६ १३:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App