८ वैशाख २०८१ शनिबार
समाज

बालिका बलात्कारीलाई २२ वर्ष कैद फैसला

उदयपुर– बालिका बलात्कार गर्ने एक आरोपीलाई उदयपुर जिल्ला अदालतले २२ वर्ष कैद सजाय सुनाइएको छ। १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका जिल्लाको पूर्वी बेल्टार–बसाहा नगरपालिकाका अभियुक्त जकमान (नाम परिवर्तन) लाई २२ वर्ष कैद सजाय अदालतले सुनाएको हो। ४० वर्षीय पीडितका बाबु घट्नाका मुख्य दोषी भएको बताइएको छ ।

जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले उनलाई क्षतिपूर्तिवापत ५० हजार विगो भराउने फैसला समेत गरेको छ । सोही घटनामा संलग्न भएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अन्य दुई जनालाई पनि अदालतले दोषी ठहर गर्दै कैद र विगो भराउने फैसला गरेको प्रहरीले जनाएको छ। फैसला अनुसार २१ वर्षीय हजमलाल (नाम परिवर्तन) लाई ११ वर्ष कैद र १० हजार जरिवाना सुनाइएको छ । उनी पीडितका मामा नाता पर्ने बताइएको छ ।

अर्का अभियुक्त छिमेकी १८ वर्षीय राजकुमार राईलाई ८ वर्ष कैद र १० हजार रुपैँया जरिवानाको सजाय सुनाइएको छ। वाबुको हकमा अदालतले मुलुकी ऐन जवरजस्ती करणीको महल ३.२ वमोजिम १२ बर्ष कैद र हाडनाता करणी महल वमोजिम थप १० वर्ष गरी २२ वर्ष कैदको फैसला सुनाएको अदालतका स्रेस्तेदार रितबहादुर पुलामी मगरले बताए । सोही महल बमोजिम क्षतिपुर्तिवापत ५० हजार जरिवाना फैसला सुनाइएको उनको भनाई छ ।

त्यसैगरी मामाको हकमा सोही महल वमोजिम ८ वर्ष कैद र हाडनाता करणी अन्र्तगत थप ३ वर्ष गरी ११ वर्ष र १० हजार जरिवानाको फैसला सुनाइएको अदालतका स्रेस्तेदार मगरले जानकारी दिएका छन् । बाबु, मामा र छिमेकी युवा मिलेर बालिकामाथि बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ परी पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको तर्फबाट जिल्ला न्यायधिवक्ता धर्मअवतार कोईराला, प्रतिवादी बाबु र मामाको तर्फबाट वैतनिक कानुन व्यवसायी अधिवक्ता कृपाराम चौधरी र राजकुमार राईको तर्फबाट अभिवक्ता नीरबहादुर राईले वहस गरेका थिए । दोषी तीनैजनाको आर्थिक अबस्था कमजोर भएकाले क्षतिपुर्तिको रकम महिला तथा बालबालिका कार्यालयबाट पीडितलाई भराउन आदेश दिइएको छ ।

वैदेशिक रोजगारीको सिलसिलामा ०७२ माघ २९ गते आमा विदेशिएको मौका छोपी अभियुक्तहरुले पीडितमाथि बलात्कार गर्दै आएको आरोपमा प्रहरीले तीनैजनालाई पक्राउ गरी कारबाही अघि बढाएको थियो । उनीहरुविरुद्ध पीडितकी आमाले ०७३ वैशाख १७ गते इलाका प्रहरी कार्यालय बेल्टारमा उजुरी दिएको आधारमा प्रहरीले पक्राउ गरी कारबाही अघि बढाएको थियो । प्रहरीले बाबु र छिमेकी राजकुमारलाई घरबाटै पक्राउ गरेको थियो भने मामालाई जेठ २८ गते पक्राउ गरी कारबाही अघि बढाएको थियो ।

पीडितलाई उनीहरुले आमा नभएको मौकामा मदिरा सेवन गरी धाकधम्की दिँदै घरमै पटक पटक यौन शोषण गर्दै आएको आमाको निवेदनको आधारमा उनीहरुमाथि अदालतले उक्त फैसला गरेको हो।

प्रकाशित: १० कार्तिक २०७३ १३:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App