७ वैशाख २०८१ शुक्रबार
समाज

पञ्चायतदेखि गणतन्त्रसम्म खानेपानीकै माग

खानेपानीको लाइनमा बसेका स्थानीय । तस्बिरः नागरिक

बाजुरा– बुढीगंगा नगरपालिका–१ कुँडीका नन्दे परि उमेरले ६७ नाघे। देशमा आएका सबै व्यवस्था र शासनबारे उनी जानकारी राख्छन। पञ्चायती व्यवस्थाको दमनदेखि बहुदल हुँदै हालको गणतन्त्र भोग्ने र अनुभव गर्ने अवसर नन्दे परिले पाए। फेरिएका व्यवस्थाबारे व्याख्या गर्न नसकेपनि राम्ररी बुझेका छन्।

पञ्चायतको दमन बढी पीडादायी भएपनि शासन सञ्चालन पद्दती र सेवा सुविधा वितरणमा कुनै फरक नभएको परिको भनाई छ। उनीसहितका व्यक्तिको अगुवाईमा २०३७ सालमा खानेपानी निर्माणको माग गरेको स्मरण परिसँग छ। तर हालसम्म कसैले सुनुवाई नै गरेको छैन्।

पानीका लागि पञ्चदेखि सांसद सबैलाई माग गर्यौ, स्थानीय सरकारलाई पनि समस्या सुनायौं कसैले नसुनेको दुखेसो परिसँग छ। पानी माग्दै जीवन पार हुने गुनासो उनको छ। कुडीमा १ सय १० बढी परिवार बस्छन्। ती सबै परिवार दलित नै हुन्। गाउँ नजिकै पानीका मुहान छैनन्। अर्को गाउँपालिकासँग मिलेर पानीको व्यवस्था गर्नु पर्ने अवस्था छ। जसका कारण उनीहरु पुस्तैदेखि पानीको समस्या भोग्न बाध्य छन्। गाउँमा भएका २ वटा कुवामा पानी सुकीसकेको छ।

निर्माण गरिएको धारामा नियमित पानी आउदैन्। दलित भएर नै हेप्ने गरिएको र कसैले नसुनेको भन्छन्, स्थानीय अगुवा समेत रहेका राजेन्द्र परि। हामीले राप्रपादेखि कांग्रेस हुँदै एमाले–माओवादी सबैलाई मतदान गर्यौ, सबै व्यवस्थाका मालिकलाई दुःख सुनायौं, तर भोट बैंकमात्र बनायो, स्थानीय अगुवासमेत रहेका परिले दुःख सुनाए।

कुडी बासीले स्थानीय सरकारसँग बढी गुनासो गरेका छन्। गाउँमा सिंह दरबार आएको भन्छन्, तर हाम्रो गाउँमा समस्या बुझ्न जनप्रतिनिधि नै आएनन्, लालबहादुर परिले बताए। गाउँमा परि, ल्वार, सागर, नेपाली थरका स्थानीय बस्ने गरेका छन्। गाउँमा पानीको चरम संकट छ।

पञ्चायतदेखि बहुदलहुँदै गणतन्त्रसम्म पनि कुडीका स्थानीयको माग र समस्या उही छ। तर सुनुवाई कतैबाटै भएको छैन्। गाउँमा जो पुग्छन्। स्थानीयको पहिलो माग खानेपानी नै राख्ने गरेका छन्। सुरुमा जनसंख्या कम थियो, कुवाकै पानीले पुग्थ्यो, जनसंख्या थपिदँै गयो, मुहान सुक्दै गए, खानेपानीको समेत गाउँमा हाहाकार छ। कपडा धुन, नुहाउन स्थानीय आटीचौरको बगर खोलामा जाने गरेका छन्।

पढेलेखेका र राजनीतिक पहुँच नहुँदा पुस्तै देखि समस्या भोग्नु परेको दुखेसो उनीहरुको छ। पुर्खै देखि दबिएर जीवन बिताउँदै आएका छन्। उनीहरुसँगै जोडिएर बस्ने गैरदलित समुदायको घरघरमा पानीको सुविधा छ।

गाउँमा एउटा मात्र धारा छ। १ सय १० परिवारले लाइनमै बसेर पानी भर्नुपर्छ। त्यो पनि नियमित पानी आउँदैन्। गाउँमा रहेको विद्यालयमा पानी नै छैन्। विद्यालय दिनभर पानी प्यास बोकेर पढ्न बाध्य छन्। खुला दिसा गर्नु पर्ने बाध्यता उनीहरुसँग अर्को छ। गाउँमा सोलार सिस्टमबाट आटीचौरबाट पानी तान्ने प्रयास गरिएको छ, त्यही मर्मतको पैसासमेत नगरपालिकाबाट भुक्तानी नभएको भन्छन्, स्थानीय मानबहादुर परि।

यतिसम्मको अवस्थामा पनि नत नगर सरकारले सुनेको छ, नत प्रदेश र केन्द्र सरकारले। सबैप्रति आशा राख्छन्, तर पुरा हुँदैन्। यता नगरपालिकाबाट योजना संभव नहुने र केन्द्र सरकारकै महत्वमा योजना पारिनु पर्ने भन्छन् वडा अध्यक्ष राजेश कुमार सिंहको भनाई। करोडौंको बजेट लाग्ने हुँदा वडा र नगरपालिकाबाट संभव नभएको सिंहको भनाई छ।

योजना निर्माण गरेर भत्किएको, मर्मत गर्न ढिलाई भएको, पानीको बैकल्पिक श्रोत सञ्चालनमा रहेको भए बेखर हुनु वा बेवास्ता गर्दा नि केही फरक पर्दैन थियो होला। तर बर्षौदेखिको समस्यामा पनि वास्ता नहुनु र दलित समुदायलाई भोट बैकका रुपमा मात्र प्रयोग गर्नु अन्याय भएको स्थानीय बासीको दुखेसो छ।

उसोत नेताहरुले पनि गाउँ जाँदा पानीको समस्या समाधान गर्ने वचन दिएरै आउने गरेका छन्। तर कार्यान्वन भने कसैले गरेका छैनन्। स्थानीयले सुख्खा खडेरीको समयमा बढी समस्या भोग्ने गरेका छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ ११:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App