८ वैशाख २०८१ शनिबार
समाज

दमक क्षेत्रमा पनि डेंगुका बिरामी बढ्दै

डेंगु प्रभावित दमक क्षेत्रमा बुधबार गाडीका पुराना टायर संकलन गरिँदै ।

झापा– तीव्र सहरीकरणसँगै फोहरको अव्यवस्थित बिसर्जन नै डेंगु संक्रमण बर्सेनि दोहोरिने मुख्य कारण भएको विज्ञहरुले बताएका छन्। केही अघिसम्म चितवनमा मात्रै सीमित यसकोे संक्रमण महिना दिनयता झापामा पनि उच्च छ। पछिल्लो एक सातायता पीडितको संख्या लगातार बढिरहेको छ।

‘तीव्र सहरीकरण भएको ठाउँमा फोहर विसर्जन अव्यवस्थित हुँदै गएको छ’, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले भने, ‘त्यही फोहरबाट डेंगु सार्ने लामखुट्टे जन्मिन्छ अनि रोगको प्रकोप शुरु हुन्छ।’ उनका अनुसार एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायरलगायतमा पाँच दिनभन्दा बढी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ । त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्छ । त्यसैले जथाभावी फोहर हुने तथा पानी जम्ने भाँडा तथा यन्त्रहरु बढी प्रयोग हुने सहरी क्षेत्रमा डेंगु छिटो र बर्सेनि फैलिने गरेको हो ।

पाँच वर्षअघि पहिलोपटक झापामा संक्रमण फेला परेको डेंगु त्यसयता हरेक वर्ष देखा परिरहेको छ । सहरको रोग पनि भनिने डेंगु झापामा पहिलोपटक सन् २०१२ मा काँकडभिट्टामा फेला परेको थियो । पाँच सयभन्दा बढी होटलहरु रहेको, बसपार्क पनि भएको र अत्यधिक संख्यामा रहेका गाडीका ग्यारेजहरु रहेको सहर काँकडभिट्टामा त्यसबेला डेंगु संक्रमणले प्रकोपकै रुप लिएको थियो ।

 त्यसयता हरेक वर्ष झापाको कुनै न कुनै सहरमा डेंगु संक्रमण फेला परेकै छ । यो संख्या सन् २०१३ मा २ सय २ जनामा रोग फेला परेको थियो ।  त्यसयताको दुई वर्ष संक्रमण दर घटे पनि जोखिम घटेको छैन । सन् २०१४ मा १३ जना र  सन् २०१५ मा ८ जनालाई डेङ्गुको संक्रमण फेला परेको थियो  । सन् २०१५ मा पीडित ८ जनामध्ये २ जनाकोे मृत्यु भएको थियो । काँकडभिट्टा, विर्तामोड, धुलाबारी र दमक जस्ता सहरमा संक्रमण उच्च देखिएको छ । यसपटक चाहिँ दमकको बजार क्षेत्रमा यसको प्रकोप देखा परेको छ । बुधबार साँझसम्ममा डेंगु पीडितको संख्या  १ सय १० पुगेको छ । मंगलबार एकै दिन ४१ जना नयाँ रोगी फेला परेका थिए  ।

विज्ञहरुका अनुसार थोरै तर स्थिर पानीमा मौलाउने एडिस जातको लामखुट्टेले दिउँसो मात्रै टोक्छ । डेङ्गुको भाइरस संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । तर, उक्त पोथी लामखुट्टेले पार्ने अण्डा, त्यसबाट विकसित हुने लार्भा र लामखुट्टे चाहिँ जन्मिँदै संक्रमित भएर जन्मिने जनस्वास्थ्य प्रमुख कोइरालाले बताए । ‘त्यस्तो संक्रमित लामखुट्टेले सिधै रोग सार्छ ’, उनले भने ‘त्यसैले सहरी क्षेत्रमा हुने जथाभावी फोहरले संक्रमण उच्च पार्ने गरेको छ ।’ उनका अनुसार कोठामा राखिएको फुलदानीको पानी पनि एक सातासम्म नफेर्ने हो भने एडिस जातको लामखुट्टे उत्पादन भइहाल्ने गर्छ । त्यसैले पानी जम्ने सम्भावना भएका ठाउँमा बढी सजग हुनुपर्ने उनको भनाई छ ।

यो लामखुट्टे २० देखि ३० डिग्री सेल्सियस तापक्रममा बढी सक्रिय हुने गर्छ । एउटा लामखुट्टेले ५ जनासम्मलाई रोग सार्ने गर्छ । गाउँमा भन्दा सहरमा यो लामखुट्टे प्रशस्त पाइने गरेको  छ । डेङ्गुका विरामीमा ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ दुख्ने, शरीरमा विमिरा आउने, वाक–वाकी लाग्ने, नाकबाट रगत आउने, दिसा कालो आउने जस्ता लक्षण देखा पर्ने गर्छ ।

यसपटक एक महिना अघि दमक क्षेत्रमा पहिलोपटक दुई जनामा देखिएको डेंगु संक्रमण दसैंपछि ह्वात्तै बढेको हो । अहिले फेला परेकासंक्रमित पनि सबै दमक क्षेत्रका हुन् । उच्च ज्वरो तथा टनटनी टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्नेहरुको रगत परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले  बुधबारदेखि संक्रमण दर केही घटेको छ । ‘बुधबारदेखि संक्रमण थोरै भए पनि नियन्त्रण उन्मुख भएको छ’ जनस्वास्थ्यले भनेको छ ।

अहिले झापामा विश्व स्वास्थ्य संगठनका तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि चिकित्सकहरु झापा आएका छन् । विषेशज्ञ टोलीले प्रभाव क्षेत्रमा विरामी भेट्ने, चेतना अभियान चलाउने लगायतका काम गरिरहेको छ । टोलीले ठाउँ–ठाउँमा गएर सरकारले भन्दा पनि जनस्तरबाटै सतर्कता जरुरी भएको भन्दै सर्वसाधारणलाई सम्झाइरहेको छ ।

जनस्वास्थ्य कार्यालयले डेङ्गु रोगको उपचारमा भन्दा पनि  जनचेतनामूलक अभियानबाटै यो रोग निर्मुल पार्नु बढी प्रभावकारी हुने बताएको छ । हरेक वर्ष झापामा वर्षा सकिने बित्तिकै डेङ्गुका रोगी बढ्ने गर्छन्  । मेची अञ्चल अस्पतालका प्रमुख डा. पिताम्बर् ठाकुरका अनुसार डेंगु भाइरसको कुनै उपचार नहुने तर संक्रमितलाई लक्षण अनुसारको उपचार गर्नुपर्ने बताए । संक्रमितले चिकित्सकको सल्लाह अनुसार मात्रै औषधि लिने, प्रशस्त आराम गर्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्ने उनको सुझाव छ ।

 

प्रकाशित: १० कार्तिक २०७३ १२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App