coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चिनी उत्पादन घट्दै

बुटवल–नवलपरासीका चिनी मिलहरु बन्द भइसके। तर केही किसानका खेतमा उखु काटिएकै छैनन्। अघिल्ला वर्ष जिल्लामा उत्पादित करिब २० लाख क्विन्टल उखु खपत हुन्थ्यो। यो वर्ष करिब १३ लाख क्विन्टल उखु मात्र क्रसिङ भएको छ। विगतका वर्षभन्दा उत्पादन घट्नुका साथै करिब एक लाख क्विन्टल बढी उखु अहिले पनि किसानकै खेतमा सुकिरहेको छ।

चिनी उद्योगीका अनुसार प्रतिक्विन्टल उखु क्रसिङ गर्दा त्यसको रिकभरी सरदर नौ प्रतिशत आउछ। अर्थात प्रतिक्विन्टल उखु क्रसिङ गर्दा नौ केजी चिनी उत्पादन हुन्छ। तर यो वर्ष ढिलो गरी चिनी मिल सञ्चालन भएकाले उखु सुकेर चिनीको मात्रा कम बसेको उद्योगी बताउँछन्। यो वर्ष प्रतिक्विन्टल उखुबाट करिब सात–आठ केजी चिनी उत्पादन भएको इन्दिरा सुगर मिल नवलपरासी प्रतापपुरका बिक्री प्रमुख दुर्गा चतुर्बेदीले बताए।

नवलपरासीमा सुनवल, बाग्मती र इन्दिरा गरी तीनवटा चिनी उद्योग छन्। अघिल्ला वर्ष ६४ हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको सुनवलको लुम्बिनी चिनी कारखानाले यो वर्ष जम्मा साढे १४ हजार क्विन्टल चिनी उत्पादन ग¥यो। गत वर्षदेखि यो उद्योगको उत्पादन ह्वात्तै घटेको छ। प्रतापपुरको इन्दिरा सुगर मिलले यो वर्ष साढे २५ हजार क्विन्टल उत्पादन भएको जनाएको छ। उसको गत वर्षको उत्पादन ४५ हजार क्विन्टल बढी थियो। सुस्तामा रहेको बाग्मती खाँडसारी मिलले यो वर्ष ५४ हजार क्विन्टल उत्पादन गरेको छ। गत वर्षको उसको उत्पादन करिब ८० हजार क्विन्टलको हाराहारीमा थियो।

यो तथ्यांकअनुसार अघिल्ला वर्षको तुलनामा नवलपरासीमा यसपालि झन्डै ३५ प्रतिशतका दरले चिनी उत्पादन घटेको देखिन्छ। तर व्यापारीका अनुसार चिनीको माग बर्सेनि बढ्दो छ र यो स्वभाविक पनि हो। घट्दो उत्पादन र बढ्दो मागबीच सरकारले भारतबाट चिनीको आयात पनि रोकेको छ। जसका कारण बजारमा चिनीको माग अनुरुप आपूर्ति हुन नसकेको व्यापारीहरु बताउछन।

माग र आपूर्तिको सन्तुलन नमिल्दा यो वर्ष सिजनमै चिनीको मूल्य बढेको छ। पोहोरको तुलनामा अहिले चिनीको थोक मूल्य प्रतिकेजी १० रपैयाँ बढेको सिद्धार्थ नगर उद्योग वाणिज्य संघले जनाएको छ। चिनीको खुद्रा मूल्यको वृद्धि पनि सोही अनुपातमा देखिन्छ।

संघका महासचिव नेत्र आर्चायका अनुसार पोहोरको जेठ असारमा बुटवल भैरहवाको बजारमा चिनीको थोक मुल्य प्रतिकेजी ६२/६३ रुपैंया थियो। यो बर्ष ७२/७४ रुपैँया प्रतिकेजी छ। बजारमा खुद्रा मुल्य प्रतिकेजी ८०/८२ रुपैँया छ। पहाडमा यो मुल्य अझ बेसी छ। गत बर्ष यही समयमा खुद्रा मुल्य प्रति केजी ७२/७५ रुपैँया थियो।  चिनीको मुल्य अझ बढ्न सक्ने व्यापारीहरु बताउछन। ‘आन्तरिक उत्पादन घटेको छ।

आयातमा पनी प्रतिबन्द लगाइएको छ। यस्तो अवस्थामा मुल्य बढ्नु स्वभाविक हो’ संघका महासचिव नेत्र आर्चायले भने। सिजनमै प्रति क्विन्टल हजार÷बाह्रसय मुल्य बढ्नुले चाडपर्वका बेला चिनीको कालोबजारी मौलाउन सक्ने संकेत गरेको आर्चायको ठहर छ। स्वदेशी उद्योगको प्रबद्र्धनकालागि अनुदान, भ्याट छुट लगायतका सहुलियत दिनु  पर्नेमा सरकारले आयातमै रोक लगाउदा कालोबजारीले प्रशय पाएको आर्चायले बताए।

आयातमा रोक लगाइएपछि उद्योगी र केही ठुला व्यवसायी मिलेर चिनीमा सिण्डीकेट लगाइएको खुद्रा व्यवसायीको पनि गुनासो छ। लक्की स्टोर्स बुटवलका नारायण भुसालले बजारमा केही ठुला व्यापारीले चिनीमा एकाधिकार जमाउन खोजेको बताए। ‘पहिले भारतको पनी चिनी आउथ्यो। प्रतिश्पर्धा हुन्थ्यो अहिले त्यस्तो अवस्था छैन।  ठुला व्यापारीको मनोपली छ’ भुसालले भने। चिनीको मुल्य अझ बढाउन कसरत सुरु भइसकेको उनको दावी छ।

खुद्रा व्यवसायीले प्रयाप्त चिनी नपाएको गुनासो गरीरहदा यस क्षेत्रका चिनी उद्योगले भने उत्पादीत चिनी बिक्रिमा आनाकानी गरेका छन। लुम्बिनी चिनी उद्योग सुनवलका लेखा अधिकृत कुशप्रसाद सुवेदीले अहिलेको मुल्यमा चिनी बेचेर उखुको भुक्तानी दिन नपुग्ने बताए। मुल्य बढाउने कसरतमा लाग्नु भएको हो ? भन्ने नागरिकको प्रश्नमा सुवेदी भन्छन ‘मुल्य बढ्छ नै भन्ने छैन घटन पनि सक्छ। तर अहिलेको रेटमा चिनी बचेर सरकारले तोकेको उखुको मुल्य किसानलाइ दिन सक्दैनौ। यो कुरामा हामी क्लियर छौ’ सुवेदीले भने।

इन्दिरा सुगर मिल प्रतापपुरका बिक्रि प्रमुख दुर्गा चर्तुवेदीले पनि चिनी बिक्री खासै सुरु नभएको बताए। बाग्मती खाँडसारी चिनी मिलका उखु महाप्रबन्धक गोपाल सापकोटाले हालको मुल्यमा चिनी बेचेर उखुको सरकारी मुल्य चुक्ता गर्न नसकीने आशय व्यक्त गरे। सरकारले उखु किसान र उद्योगी दुवैलाइ संरक्षण गर्ने गरी  छुट्टै  नीति नबनाए सम्म समस्या दोहोरीरहने सापकोटाको भनाइ थियो।

चिनी मिलका अधिकारीहरुका यी भनाइले उद्योगीहरु चिनीको मुल्य अझ बढाउने दाउमा छन भन्ने कुराको संकेत गदर्छ। तर नवलपरासीका उखु किसानहरु भने गत बर्षकै भुक्तानी नदिएका उद्योगीहरुले किसानका नाममा राजनीति गरीरहेको गुनासो गर्छन। केही उद्योगी, ठुला व्यवसायी र सरकारको मिलेमतोमा भइरहेको चिनी राजनीतिले उखु किसान  र आम उपभोक्ता मारमा परीरहेको उखु उत्पादक कृषक समितिका धिरज त्रिपाठीले बताए। उपभोक्ता र उखु किसानलाइ  देखाएर फाइदा लिने रणनीतिमा उद्योगी लागेको उनको आरोप छ।

सरकार आम उपभोक्ता प्रति जनउत्तरदायि नहुँदा समस्या निम्तीएको बताउछन बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल। खुल्ला अर्थतन्त्रको नीति अंगालेको भनिएको मुलुकमा आयातमा प्रतिबन्द लगाउनु  बजारशास्त्रको नीति बिपरित हुने उनले बताए। ‘स्वदेशी उद्योगको प्रबद्र्धन गरीनु पर्छ भन्ने हाम्रो पनि माग हो। तर त्यसकालागि आयात रोकेर होइन। उद्योगी र किसानलाइ सस्टेनेबल बनाएर उत्पादन बढाउने र प्रतिश्पर्धी बजारमा टिक्न सक्ने बनाउनु पर्छ’ हमालले भने।

भारतीय चिनीको तुलनामा नेपाली चिनीको गुणस्तर राम्रो भएकाले स्वदेशी उद्योगको उत्पादन बढाएर उपभोक्ता सम्म सहुलियत मुल्यमा पुरयाउन सके  भारतीय चिनीलाइ उपभोक्ताले नै बिस्थापित गरीदिने हमालको दाबी छ।

प्रकाशित: १५ जेष्ठ २०७६ ०५:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App