८ वैशाख २०८१ शनिबार
अर्थ

यसरी सञ्चालनमा आउँदै छ नेपालको ‘लाइफ लाइन’

सिन्धुपाल्चोक–चार वर्षदेखि बन्द नेपालको लाइफलाइन (जीवनरेखा) मानिने उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। बन्द हुनुअघि वार्षिक २० अर्बको आयात–निर्यात व्यापारबाट मुलुकलाई पाँच अर्ब रुपैयाँ राजस्व योगदान गर्दै आएको यो नाका व्यापारिक कारोबारसहित पुनः सञ्चालनमा आउन लागेको हो।

उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले औपचारिक उद्घाटनसँगै नाका व्यापारिक कारोबारसहित निरन्तर सञ्चालनमा आउने दाबी गरे। ‘बुधबार औपचारिक रुपमा नाका सञ्चालनमा आएको घोषणा हुन्छ। र, त्यसपछि निरन्तर सञ्चालनमा आउँछ,’ मंगलबार उनले नागरिकसँग भने। २०७२ वैशाख १२ को विनाशकारी भूकम्पपछि नेपाल–चीन व्यापार ‘ट्रान्जिट’ सबैभन्दा पुरानो तातोपानी नाका बन्द हुँदै आएको थियो।

उद्योग तथा वाणिज्यमन्त्री मातृका यादव तथा चीनको भन्सार हेर्ने उपमन्त्री झाङ जिवेनले संयुक्त रुपमा नाका सञ्चालनको घोषणा गर्दैछन्। उनीहरुले नवनिर्मित मितेरी पुलमा रिबन काटेर त्यस (पुल) को उद्घाटनसँगै नाका खुलेको घोषणा गर्नेछन्। साथै उनीहरुले ऊन बोकेर तिब्बतको खासाबाट आउले ६ वटा मालबाहक कन्टेनरलाई नेपाल प्रवेश गराउँदै व्यापारिक कारोबार पनि सञ्चालनमा ल्याउने छन्।

‘औपचारिक सञ्चालनसँगै नेपाली व्यापारीलाई चिनियाँ सामान आयात गर्न बाटो खुल्छ,’ सहसचिव रहेका प्रवक्ता ढकालले भने, ‘व्यापारीले जति धेरै सामान ल्याउँछन्, नाका उत्ति नै व्यस्त बन्दै जानेछ।’ नेपाल–चीन जोड्ने मितेरी पुलमा विहान साढे ११ देखि दिउँसो १ बजेसम्मका लागि औपचारिक कार्यक्रम राखिएको छ। मितेरी पुलमा टाँगिने रिबन काटेर बन्द नाका खुलेको घोषणासँगै मालबाहक कन्टेनर नेपाल छिर्नेछन्।

बेइजिङबाट आउने भन्सार मामला उपमन्त्री झाङका साथमा तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष लगायत अधिकारी औपचारिक कार्यक्रममा सहभागि हुनेछन्। नेपालबाट भने उद्योगमन्त्री यादव, गृह जिल्लाका संघीय सांसदद्वय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, मन्त्रालयकै उद्योग सचिव, वाणिज्य सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव र भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गाल नाका खुलाउन तातोपानी आउने छन्। मन्त्री यादव नेतृत्वको नेपाली टोली बुधबार बिहान साढे ७ बजे काठमाडौंबाट हेलिकप्टरमा आउने कार्यक्रम छ। नेपालस्थित चिनियाँ राजदूतावासका अधिकारी मंगलबारै तातोपानी पुगिसकेका छन्।

चीन सरकारकै सहयोगमा तातोपानीको लार्चामा निर्मित अत्याधुनिक सुक्खा बन्दरगाह नेपाललाई आन्तरिक रुपमा हस्तान्तरण भइसकेको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशकको कार्यभारसमेत सम्हालिरहेका प्रवक्ता ढकालले जानकारी दिए। उनका अनुसार बन्दरगाह निर्माणमा संलग्न चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वे १४औं ब्यूरोले इन्टरमोडल यातायातल (बन्दरगाह हेर्ने नेपालको निकाय¬¬) लाई नवनिर्मित संरचना हस्तान्तरण गरेको हो।

करिब एक अर्ब २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा झण्डै ९० रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बन्दरगाह,    लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मको अरनिको राजमार्ग स्तरोन्नति, बन्दरगाह स्थलमा पुग्ने भोटेकोसी नदीमा मोटरेबल पुल निर्माण गत वैशाखमा एकै प्याकेजमा सकिएको थियो। मितेरी पुल भने चीन सरकारको छुट्टै परियोजनाअन्तर्गत बनेको हो। भूकम्पले पुरानो मितेरी पुल क्षतिग्रस्त बनाएको थियो। गत वर्ष बेइजिङ पुगेका सभामुख कृष्णबहादुर महराले त्यहीँबाट यो पुलको शिलान्यास गरेका थिए। पहिलेको भन्दा फराकिलो दुई पंक्ति (लेन) क्षमताको मितेरी पुल बनेको हो।

ऊन बोकेर भित्रिने कन्टेनर हालको तातोपानी भन्सारमा ‘इन्ट्री’ गराएर बन्दरगाह पुग्नेछन्। यहीँबाटै जाँचपास हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले बताए। उनका अनुसार जाँच र मुख्य कारोबार बन्दरगाहबाट हुने भए पनि हालको कार्यालय छोटी भन्सारको रुपमा सञ्चालनमा आउने छ। नाका सञ्चालनमा आउने भएपछि दुई साताअघि नै भन्सार कर्मचारी तातोपानी पुगेका थिए।

अध्यागमन कार्यालय कोदारी पनि सञ्चालनमा आइसकेको छ। सोमबार कन्टेनर सामान लोड गर्न खासा जाँदा त्यसका चालक र मजदुरलाई अध्यागमनले प्रवेश अनुमतिपत्र (पास) उपलब्ध गराएको थियो। सोही पासका आधारमा सामान लोड गर्न १० नेपाली मजदुर खासा पुगेका थिए। आवागमनका लागि नभएर सामग्री ढुवानी गर्ने प्रयोजनको रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो। सुरक्षा कारण दर्शाउँदै चीन आवागमन बन्दै गराउने अडानमा छ। आवागमन बन्द गराउने र नाकाको सुरक्षा मजबुत बनाउने सर्तमा चीन गत असोजमा नाका खुलाउन तयार भएको थियो।

प्रकाशित: १५ जेष्ठ २०७६ ०४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App