८ वैशाख २०८१ शनिबार
समाज

मधेसले के पायो ?

लहान - २०६२/६३ को जनआन्दोलनसँगै राजतन्त्र फालियो। र, सात दशकदेखि गणतन्त्र र संघीयताका लागि संघर्षरत मधेसको सपना पूरा भयो। यस अवधिमा डेढ सयभन्दा बढी मधेसीले बलिदान दिए। बलिदानीपूर्ण संघर्षको यात्राले संघीयता र गणतन्त्र व्यावहारिक रूपमै संस्थागत भयो।

मधेस संघीयताको जननी हो। मधेस राजनीतिका विश्लेषक तुलानारायण साह भन्छन्, ‘बलिदानीपूर्ण संघर्षबाट मधेसले धेरै उपलब्धि प्राप्त गरेको छ।’ मधेसीको संघीयता र गणतन्त्रको सपना एक हदसम्म साकार भएको छ। हरेक आन्दोलनको आफ्नै उद्देश्य थियो। साह भन्छन्, ‘२०६३ को पहिलो ‘माघे लहान विद्रोह’ले देशमा संघीयता र गणतन्त्र संस्थागत ग-यो। २०६४ को दोस्रो मधेस विद्रोहले समावेशिता, निर्वाचन प्रणालीमा संशोधन र आरक्षणको व्यवस्था ग-यो। यो व्यवस्थामा मधेसले आफ्ना माग अझ परिष्कृत रूपमा समावेश गराउन अझै संघर्षरत रहेको साहको भनाइ छ।

‘बलिदानीपूर्ण संघर्षबाट मधेसले केही पाएन, केबल गुमायो मात्र भनेर जुन धारणा प्रचार गरिँदै छ, त्यस्तो बिल्कुल होइन,’ विश्लेषक साह प्रश्न गर्छन्, ‘२०६३ सालभन्दा पहिला कति मधेसी युवायुवती लोकसेवा परीक्षामा सहभागी हुन्थे ? कतिजना मधेसी अफिसरमा नाम निकाल्थे ? कतिजना मधेसीको अनुहार लोकसेवा तयारी कक्षामा देखिथ्यो ?’
मधेसको बलिदानीपूर्ण संघर्षका कारण देशमा गणतन्त्र, संघीयता, मधेसीलगायत जातीय समूहलाई आरक्षण, समावेशितालगायत उपलब्धि प्राप्त भएको साह बताउँछन्।

मधेस मामिलाका विश्लेषक डा. विजयप्रसाद मिश्रको विश्लेषणमा एक दशकमा भएका तीन आन्दोलनमा मधेसले केही उपलब्धि हासिल गरे पनि अपेक्षाकृत उचाइ लिन सकेको छैन।
सहिद परिवारको पिरलो

मधेस आन्दोलन (२०६३) भएको ११ वर्षपछि संघीयता कार्यान्वयनको चरणमा छ। सँगै परिवर्तनका बदिलानीपूर्ण आन्दोलनका सहिद परिवारमा ‘खुसी थोरै दुःखेसो बढ्दो’ छ। ‘देश संघीयतामा गयो, खुसी छु,’ राज्यको बेवास्तामा परेका सहिद परिवार मिर्जापुरका बालेश्वर सदाले भने, ‘सरकारले सहिद परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गरेबाहेक बेवास्तामा परेका छौं।’ मधेस आन्दोलनका क्रममा बालेश्वरका छोरा प्रमोद सदाको माघ ८ गते लहानमा मृत्यु भएको थियो। भूमिहीन सुकुमबासी बालेश्वर परिवारले राहत रकमबाट १४ कट्ठा जग्गा किनेर गुजारा चलाएका छन्। बालेश्वरका दुई छोरा प्रमोद र मनोज थिए। प्रमोदले सहादत प्राप्त गरेपछि उनीहरूको बुढ्यौलीको सहारा कान्छा छोरा मनोज मात्र छन्।

सहिद प्रमोदका बुबा बालेश्वरले राहत रकमबाट किनेको जग्गाको उब्जनीले जसोतसो गुजारा चलाए पनि कान्छो छोरा मनोजलाई रोजगारी व्यवस्था मिलाइदिन प्रदेश सरकारसँग आग्रह गरे। ‘मधेसीको अधिकार र पहिचानका लागि अब पनि बारम्बार मेरा छोराजस्ता अन्य छोराले मधेसमा रगत बगाउन नपरोस्, नेतालाई सहिदको रगतलाई शिरमा राखेर काम गर्न आग्रह गर्छु,’ बालेश्वरले भने, ‘सहिदको सपना साकार पारे हामीलाई त्यही गर्व हो।’

सरकारबाट १० लाख रुपैयाँ राहत पाएका परिवारले क्षतिपूर्ति र सुविधा प्राप्तिभन्दा छोराको नाम अमर रहने गरी मधेसीको अधिकार, पहिचान र संघीयतालाई निष्कर्षमा पु¥याउन मधेसी नेतालाई आग्रह गरे।

प्रकाशित: १५ जेष्ठ २०७६ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App