१२ औं गणतन्त्र

'देशका निम्ति एक छिन सोचेनन्'

बुधबार, १५ जेठ २०७६, १० : ०८ नागरिक

कुलबहादुर गुरुङ नेपाली राजनीतिमा चिनाउने पर्ने नाम होइन। शिक्षण पेसा हुँदै लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेता गुरुङ नेपाली कांग्रेसका पूर्व महामन्त्रीसमेत हुन्। संविधानसभाको पहिलो बैठकले दुई सय ४० बर्से राजतन्त्र अन्त्यसहित मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गर्ने व्यक्ति पनि हुन् उनी। २०६५ जेठ १५ गते बसेको पहिलो संविधानसभा बैठकमा जेष्ठ सदस्यका हैसियतमा सभाध्यक्षको भूमिका निर्वाह गरेका उनै गुरुङसँग गणतन्त्र स्थापनाको १२ वर्ष प्रवेशको अवसरमा नागरिकका लागि बालकृष्ण अधिकारी र वसन्त खड्काले गरेको कुराकानीको सम्पादित अंश


– गणतन्त्र स्थापना भएको ११ वर्ष भयो, तपाईकै अध्यक्षतामा संविधानसभाको पहिलो बैठकबाट गणतन्त्रको घोषणा गरिएको थियो, त्यो सम्झिँदा कस्तो अनुभूत हुन्छ ?
अहिले गणतन्त्र स्थापना गरेको ११ वर्ष पुगिसक्यो भन्दा नै अर्कै अनुभूति भयो, ११ वर्ष कति छिट्टै पुगिसकेछ। म त्यतिबेला गणतन्त्रमा पहिलो सभाध्यक्ष बनेर गणतन्त्र घोषणा भएको थियो, त्यो हिजोजस्तै लाग्छ। गणतन्त्र स्थापना भएको ११ वर्षको अवधिमा उल्लेख्य काम भएको देखिएको छैन। गणतन्त्र घोषणा गर्ने दिन मैले यो विषयमा बहस हुनुपर्छ भनेको थिएँ। यो पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक–दुई महिनासम्म गणतन्त्रका विषयमा बहस चलोस् भन्ने मेरो चाहना थियो। तर त्यस्तो भएन, अहिलेको अहिल्यै घोषणा गरेर निस्किहाल्नुपर्छ भनियो। त्यतिबेला गणतन्त्र घोषणाको काम हतपतमै भएकाले अहिले पनि हामी अन्योलमै छौं र कतिपयलाई त्यसको महसुस भएको पनि हुनुपर्छ।

– प्रक्रिया पूरा नगरी हतारहतारमा गणतन्त्र घोषणा भयो भन्न खोज्नुभएको हो ?
यसमा बहस होस् न भन्ने लागेको थियो। त्यहाँ कसैले पनि बहस हुनै दिएनन्। बहस भएको भए राम्रो नराम्रो थुप्रै कुराहरू आउँथ्यो तर अहिले कसैले भन्दैमा केही हुने अवस्था छैन। यस विषयमा प्रशस्त बहस नभएकाले अहिले पनि मान्छेहरूले राजा आउँछन् कि भन्ने आशंका गरिरहन्छन्। राजा हिँड्दा पनि सशंकित हुने अवस्था आइरहेको छ। त्यतिबेला राजा यो कारणले चाहिँदैन भनेर बहस गरिएको भए अहिले त्यस्तो अवस्था आउने थिएन। त्यतिबेलै प्रक्रिया पु¥याएको भए निमिट्यान्न हुन्थ्यो।

– त्यतिबेला तपाईं त महत्वपूर्ण भूमिकामा हुनुहुन्थ्यो नि ?
म महŒवपूर्ण भूमिकामा थिएँ तर मसँग अधिकारसम्पन्नता थिएन। मलाई कुर्सीमा बसेर तैंले यो कुरा भन् भन्दा मैले भन्नुपथ्र्याे। गणतन्त्र घोषणा गर्दा स्टेजमा उफ्रिँदै गरेका दुई–तीनजना मानिसहरू, उनीहरूको चरित्र र उनीहरूको हतारोलाई हेर्दा उनीहरू सबै त्रसित छन् भन्ने मलाई लागेको थियो। पहिलो संविधानसभा संविधान नबनाई भंग भयो, त्यो सभामुखले भंग भएको घोषणा गर्नुपथ्र्याे, सभामुखले पछिबाट मात्र थाहा पाएका हुन्। कसरी भंग भयो ? त्यो कुरा सुवास नेम्वाङले सबैका अगाडि प्रष्ट गर्नुपथ्र्याे। एकैपटक कहाँबाट भंग भयो भनेर आयो ? यो नियमपूर्वक भयो ? त्यतिबेला राजावादी भन्नेहरूले यो संविधानसभाले राजामात्र फालेको कुरा मिल्दैन किन भनेनन् ? संविधान बनाउने भनेर गठन भएको संविधानसभाले राजामात्र फाल्न पाउँदैन राजा आउनुपर्छ भनेर आन्दोलन गरेको भए के हुन्थ्यो ? उनीहरूले आन्दोलन गर्न सकेनन् र अर्काे संविधानसभाको निर्वाचन भयो।

हिजो बम पड्काउनेहरूले आज बम पड्काउनेहरूलाई गाली गरिरहेका छन्, आज बम पडकाउनेहरूले हिजो बम पड्काउनेलाई हेर्लास् भनिराखेका छन्। किन ?

– गणतन्त्र घोषणा गर्दैगर्दा अहिलेको अवस्थाको परिकल्पना गर्नुभएको थियो ?
त्यतातिर कसैले पनि अनुमान वा परिकल्पना गरेको थिएन। अब चाहिँ यो विषयमा बहस हुन्छ भन्ने लागेको थियो। तर भोलिपल्टदेखि बहस नै भएन। त्यसै दिन सकियो। त्यति मात्र होइन, दुई वर्षसम्म संविधानसभाका विषयमा बहस भए पनि निचोड निस्किन सकेन। संविधानको प्रारूप खडा नगर्दै संविधानसभा भंग गरियो। दोस्रो पटक संविधान जारी गर्दासमेत संविधान बनाउन बसेका मान्छेहरूले नै संशोधनको प्रस्ताव राख्नुले संविधान निर्माणको प्रक्रिया सकिएको रहेनछ भन्ने देखायो।

– गणतन्त्रसँगै आएका संघीयता, धर्म निरपेक्षताजस्ता विषय पनि पछिल्लो समय बहसको विषय बन्ने गरेका छन् नि ?
जति पनि बहसहरू भइरहेका छन्, ती सबै बाहिरबाहिर मात्र छन्। यसमा गहिराइमा पुगेर बहस नै भएका छैनन्। बाहिरबाहिर बहस हुँदैमा कुनै कुरा हुन्छ भन्ने मलाई लाग्दैन। २००७ सालमा प्रजातन्त्र चाहिन्छ भन्ने कुरा गल्लीगल्लीमा बहस थियो।

– गणतन्त्रमाथि कुनै चुनौती देख्नुभएको छ ?
गणतन्त्रका सम्बन्धमा राजाबाट कुनै चुनौती छ भन्ने मलाई लाग्दैन। कतिपयले बाहिरबाट छ कि पनि भन्छन् तर मलाई त्यसमा विश्वास छैन।

– गणतन्त्रबाट पनि सन्तुष्टि हुने ठाउँ देखिएन भन्नुभयो, गणतन्त्रमा चुनौती पनि छैन भन्नुभयो, अब मुलुक हिँड्ने बाटो कुन हो त ?
२००७ सालमा आन्दोलन भइसकेपछि २०१५ सालमा मात्रै त्यो पनि विपीजस्तो मान्छेले एउटा गोरेटो दिने कोसिस गरेका थिए। तर त्यो गोरेटोलाई तुरुन्त भत्काइयो। अहिले गणतन्त्र स्थापना भएको ११ वर्ष पुग्दा पनि गोरेटो दिने मान्छे देखेको छैन। अहिलेको सरकार बहुमतको छ, यसले पनि प्रजातान्त्रिक पद्धतिअनुसार गर्नुपर्ने काम गरेको छैन। प्रधानमन्त्रीको कामबाट उनकै मन्त्रिमण्डलका सदस्य र पार्टीका मान्छेहरू सन्तुष्ट छैनन्। सरकार प्रजातान्त्रिक प्रणालीमा जान नखोज्नुको कारण के हो त ? निरंकुश हुनका लागि वरिपरिको बन्धन राम्रो हुनुपर्छ। बन्धन त खासै बलियो देखिएको छैन।

– गणतन्त्र, संघीयता र संविधानलाई स्थायित्वतर्फ लैजान के गर्नुपर्छ त ?
सबैले मिलेर एउटा प्रजातान्त्रिक बाटोमा जाऊँ भन्नुपर्छ। तर त्यो भन्ने र जानेको पार्टी कुनै पनि छैन। यो मुलुकमा रहेको कुनै पनि पार्टीले देशका निम्ति वा प्रजातन्त्रका निम्ति र स्थायित्वका निम्ति यसरी अघि बढ्न सकिन्छ भन्ने कुरा एक शब्द, एक छिन पनि सोचेका छैनन्। चाहे त्यो कांग्रेस होस् वा कम्युनिस्ट।

– किन नसोचेका होलान् ?
नेताहरूको मानसिकता नै त्यस्तो भएन। कतिलाई सम्पत्ति लुकाउन र कतिलाई आफ्नो व्यवहार मिलाउनमै ठिक्क छ। पहिलो पटक संविधानसभाबाट प्रधानमन्त्री बनेका प्रचण्डले बालुवाटारमा मेरो चिहान हुन्छ भनेको हो कि होइन ? किन भनेको ? आन्दोलनबाट आएको नेता तथा निर्वाचित बहुमतको प्रधानमन्त्रीले बालुवाटारमै मेरो चिहान हुन्छ भन्नुपर्ने कारण के थियो ? यस विषयमा कसैले सोध्यो ? अहिले पनि त्यो किसिमको प्रश्न उठिरहेको छ। किन भन्ने उत्तर कतै आएको छैन। यस्तो किसिमको वातावरण हाम्रो नेताहरूको मन–मस्तिष्कमा चाहे शेरबहादुर देउवा वा रामचन्द्र पौडेल, पुष्पकमल दाहाल हुन् वा केपी ओली हुन्, लोकतान्त्रिक गणतन्त्रलाई स्थायी बनाउने सोच कसैमा भए जस्तो देखिँदैन।

– उनीहरूलाई जुन किसिमको त्रास छ, त्यो पार्टीभित्रैबाट छ कि बाहिरबाट ?
बाहिरबाट छ वा पार्टी भित्रबाट छ भन्ने मैले भन्ने कुरा होइन। बेलाबेलामा उनीहरूले भनेका कुरा बाहिर आइ नै रहेका छन् नि।

– सरकारलाई स्थायित्वतर्फ लैजाने, खबरदारी गर्ने दायित्व त प्रतिपक्षको पनि हो नि ?
प्रतिपक्षमा पनि त्यो किसिमको गुण, त्यो खालको कार्यक्रम मैले देखेको छैन।

– त्यसोभए पार्टीहरूभित्र पनि स्थिरता छैन र गणतन्त्र, संविधान, संघीयताजस्ता विषयमा पनि स्थिरता छैन ?
संविधान जारी भएपछि तीन तहको निर्वाचनबाट सरकार बनेको यतिका समय हुँदा लोकतान्त्रिक गणतन्त्र, संघीयतासहितका विषयमा यति काम गरे अब यो गर्दैछु भन्दा सुख पाउँथ्यो तर अहिलेसम्म त्यो बाटो समाएको छैन। अहिले पनि धेरैजसो मन्त्रालय प्रधानमन्त्रीको मातहतमा छन्, त्यो कति ठिक हो कति बेठिक हो, विपक्षीले पनि सरकार बनाइरहेको छ, उसले केही भन्ला, कुनै विवादविनै अघि बढ्यो भने त्यसलाई मान्नुपर्छ।

– गणतन्त्र १२ औं वर्षमा पुग्दैगर्दा तपाईंले एउटा नागरिकका रूपमा हेर्दा केके हुनुपथ्र्याे, के के हुन सकेन ?
२०१५ सालको निर्वाचनभन्दा पहिले जाँदा विपी कोइरालाले निर्वाचनपछि २०१६ सालसम्म जेजति गरेका थिए, अहिले त्यति पनि हुन सकेको छैन। गणतन्त्रले मुलुक राम्रो बाटोमा जाने संकेत अहिलेसम्म गर्न सकेको छैन। तर अहिले बजेट जुन ढंगले विनियोजन हुँदै छ त्यो राम्रो ढंगले अघि बढ्यो भने र राम्रो गरेछ भने अघि जाला भन्ने विश्वास गर्न सकिन्छ। तर अहिले पनि नेतृत्वमा स्थिरता छैन, उनीहरूको विचारमा स्थिरता छैन। उनीहरूमा केही गर्न सक्छु भन्ने विश्वास छैन। सत्तामा रहेको प्रधानमन्त्रीसरहको व्यक्ति जंगल जान्छु भन्छन्। राजनीतिको सबैभन्दा ठूलो दुर्गुण भनेको यही हो। प्रधानमन्त्रीले महŒवपूर्ण मन्त्रालय आफैसँग राखेका छन्, किन ? विश्वास नभएर ? साथीहरूसँग विश्वास नभएर ? पार्टीका मान्छेसँग विश्वास नभएर ? मन्त्रीहरूसँग विश्वास नभएर ?

– यसअघि राजाका कारण स्वतन्त्रता खोसियो भनेर पटकपटक आन्दोलन भए, अहिले राजतन्त्र अन्त्यपछि स्वतन्त्रताका लागि लड्नुपर्दैन होला भन्ने लागेको थियो होला, त्यो बाटोमा देश अझै हिँडेन नि ?
२०४७ सालपछि यो देशमा आन्दोलन गर्नुपर्दैन होला भन्ने मलाई लागेको थियो। त्यसको दुई वर्षपछि फेरि आन्दोलन गर्नुप¥यो। फेरि अर्काे संविधानसभाको निर्वाचन भइसकेपछि संविधान बनिसकेपछि अब आन्दोलन गर्नुपर्दैन होला भन्ने लागेको थियो। अहिले फेरि सबैतिर आन्दोलन भइरहेको छ। बमहरू पड्कन थालेका छन्। मान्छेहरू मरेका छन्। यो स्थायी रूपले किन बन्द हुँदैन ? हिजो बम पड्काउनेहरूले आज बम पड्काउनेहरूलाई गाली गरिरहेका छन्, आज बम पडकाउनेहरूले हिजो बम पड्काउनेलाई हेर्लास् भनिराखेका छन्। किन ?

यी दुवै बम पड्काएर आएका मान्छेहरू हुन्। दुवैले देशका निम्ति, प्रजातन्त्रका निम्ति, विकासका निम्ति हामी अगाडि बढ्नुपर्छ भन्नुपर्ने हो नि ? अहिले भइरहेकोले विश्वास गराउन सकेनन्, पहिलेकोलाई विश्वासमा ल्याउन सकेनन्। किन ? हिजो, दुवै पार्टी बन्दुक बोकेर बम बोकेर घरघरमा बम पड्काउँदै प्रहरी चौकी फाँड्दै गएका मान्छेहरू होइनन् ? हिजो एक भएर गएका थिए, के मिलेन ? त्यसो भएदेखि कहिले मिल्ने त ? कोसँग मिल्ने ? आज नेत्रविक्रम अलग भए, भोलि म पनि जंगल पस्छु भनेर प्रचण्ड हिँडिदिए भने ? देशमा स्थायित्व त नआउने रहेछ नि। ओलीहरूले पनि झापा काण्ड मच्चाएका होइनन् र ? व्यक्तिगत हत्या गरेर भए पनि हामी प्रजातन्त्र ल्याउँछौं, समाजवाद ल्याउँछौं भन्या होइन र ? खोइ ल्याए त ?








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad