७ वैशाख २०८१ शुक्रबार
खेल

एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा

लन्डन – च्याम्पियनसिप प्लेअफको फाइनलमा डर्बी काउन्टीलाई सोमबार २–१ ले हराउँदै एस्टन भिल्ला प्रिमियर लिगमा बढुवा भएको छ।अघिल्लो सिजन फुलह्यामसँग प्लेअफको फाइनलमा पराजित भएको  एस्टन भिल्लाले इङ्लिस फुटबलको पहिलो डिभिजन बढुवा हुँदा २१ करोड ६० लाख अमेरिकी डलर कमाउन सफल भएको छ।

वेम्बलीमा भएको च्याम्पियनसिपको फाइनलमा एस्टन भिल्लालाई जित दिलाउन अनवर एल घाजी र जोन म्यागिननले समान एक गोल गरे। पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा घाजीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। ५९औं मिनेटमा एस्टन भिल्लाका लागि म्यागिननले गोल थप्दै अग्रता २–० मा पु-याएका थिए। एस्टन भिल्लाले दुई गोलको अग्रता बनाएको अवस्थामा फ्रान्क लाम्पार्डको प्रशिक्षणमा रहेको डर्बीले खेल सकिन ९ मिनेट बाँकी रहँदा गोल गर्दै खेलमा फर्किने संकेत देखाएको थियो। तर बाँकी समयमा गोल गर्न सकेन र उपविजेतामा सीमित बन्यो।

कप्तान ज्याक ग्रिलिसजस्तै बाल्यकालदेखि एस्टन भिल्लाका समर्थकसमेत रहेका प्रशिक्षक डिन स्मिथले डर्बी काउन्टीविरुद्धको जित आफ्ना डिमेन्सिया (बिर्सने रोग) रोगबाट ग्रसित पिताप्रति समर्पित गरेका छन्। ‘गत शुक्रबार बुबा भेट्न अस्पताल गएको थिएँ, उहाँसँगको भेट मेरा लागि निकै नै फलदायी बन्यो। टोली बढुवा भएको छ। अब मलाई प्रिमियर लिगको प्रशिक्षक भएको देख्न पाउनुहुनेछ,’ प्रशिक्षक स्मिथले बुबासँगको भेटलाई स्मरण गर्दै भने, ‘मेरा लागि यो निकै ठूलो सफलता हो।’

यस्तै कप्तान ग्रिलिसले बढुवाको सफलताले आफू निकै हर्षित भएको प्रतिक्रिया दिए। ‘म सफलतामा निशब्द छु। निकै कठिन खेल थियो। अनुभवी म्यागगिन, एल घाजीजस्ता समकक्षी साथमा रहँदा मेरो मनोबल बढेको थियो,’ कप्तान ग्रिलिसले भने, ‘प्रिमियर लिगमा फर्किनु हाम्रा लागि निकै ठूलो सफलता हो।’

यसअघि एस्टन भिल्लाले डर्बीलाई लिग चरणका होम एन्ड अवे खेलमा ७–० ले स्तब्ध बनाएको थियो। १९९२/९३ बाट सुरु भएको प्रिमियर लिगमा एस्टन भिल्ला यसअघि २०१६ मा पहिलो पटक रेलिगेसनमा परेको थियो। यसअघि च्याम्पियनसिपमा पहिलो र दोस्रो भएका नर्विच सिटी र सेफिल्ड युनाइटेड सीधै प्रिमियर लिगमा बढुवा भएका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App