coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चार वर्षपछि यसरी खुल्दैछ तातोपानी नाका

नेपाल–चीन जोड्ने नाका तातोपानीमा नवनिर्मित मितेरी पुल। बुधबार यही पुलमा समारोह गरेर नाका सञ्चालनमा ल्याइँदैछ। तस्बिरः नागरिक

सिन्धुपाल्चोक– चार वर्षदेखि बन्द उत्तरको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ। उक्त नाका व्यापारिक कारोबारसहित पुनः सञ्चानमा आउन लागेको हो।

‘बुधबार औपचारिक रुपमा नाका सञ्चालनमा आएको घोषणा हुन्छ। र, त्यसपछि निरन्तर सञ्चालनमा आउँछ,’ उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले नागरिकन्यूजसँग भने। २०७२ वैशाख १२ को विनासकारी भूकम्पपछि र त्यसपछिकाे भाेटेकाेशी बाढीले नेपाल–चीन व्यापार ‘ट्रान्जिट’ सबैभन्दा पूरानो तातोपानी नाका बन्द हुँदै आएको थियो।

उद्योग तथा वाणिज्यमन्त्री मातृका यादव तथा चीनको भन्सार हेर्ने उपमन्त्री झाङ जिवेनले संयूक्त रुपमा नाका सञ्चालनको घोषणा गर्दैछन्। उनीहरुले नवनिर्मित मितेरी पुलमा रिबन काटेर त्यस (पुल) को उद्घाटनसँगै नाका खुलेको घोषणा गर्नेछन्। साथै उनीहरुले ऊन बोकेर तिब्बतको खासाबाट आउले ६ वटा मालबाहक कन्टेनरलाई नेपाल प्रवेश गराउँदै व्यापारिक कारोबार पनि सञ्चालनमा ल्याउने छन्।

नेपाल–चीन जोड्ने मितेरी पुलमा बिहान साढे ११ देखि दिउँसो १ बजेका लागि औपचारिक कार्यक्रम राखिएको छ। मितेरी पुलमा रिबन काटेर बन्द नाका खुलेको घोषणासँगै मालबाहक कन्टेनर नेपाल भित्र्याउने तयारी छ। बेइजिङबाट आउने भन्सारमामला उपमन्त्री झाङका साथमा तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्षलगायत अधिकारी औपचारिक कार्यक्रममा सहभागी हुने छन्।

नेपालबाट भने उद्योगमन्त्री यादव, गृह जिल्लाका संघीय सांसदद्धय अग्निप्रसाद सापकोटा, शेरबहादुर तामाङ, मन्त्रालयकै उद्योग सचिव, वाणिज्य सचिव, सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव र भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गाल नाका खुलाउन तातोपानी आउने छन्। मन्त्री यादव नेतृत्वको नेपाली टोली बुधबार बिहान साढे ७ बजे काठमाडौँबाट हेलिकप्टरमा आउने कार्यक्रम छ। नेपालस्थित चिनियाँ राजदुतावासका अधिकारी मंगलबारै तातोपानी पुगिसकेका छन्।

ऊन बोकेर भित्रिने कन्टेनर हालको तातोपानी भन्सारमा ‘इन्ट्री’ गराएर बन्दरगाह पुग्ने छन्। यहीँबाटै सामग्री जाँचपास हुने तातोपानी भन्सार प्रमुख कृष्ण बस्नेतले बताए। उनका अनुसार जाँच र मुख्य कारोबार बन्दरगाहबाट हुने भए पनि हालको कार्यालय छोटी भन्सारको रुपमा सञ्चालनमा आउने छ। नाका सञ्चालनमा आउने भएपछि दुई साताअघि नै भन्सार कर्मचारी तातोपानी पुगेका थिए।

अध्यागमन कार्यालय कोदारी पनि सञ्चालनमा आइसकेको छ। सोमबार कन्टेनर सामाग्री लोड गर्न खासा जाँदा त्यसका चालक र मजदुरलाई अध्यागमनले प्रवेश अनुमतिपत्र (पास) उपलब्ध गराएको थियो। सोही पासका आधारमा सामग्री लोड गर्न १० नेपाली मजदुर खासा पुगेका थिए। आवागमनका लागि नभएर सामग्री ढुवानी गर्ने प्रयोजनको रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको हो।

 

 

प्रकाशित: १४ जेष्ठ २०७६ १३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App