सन्दर्भ गणतन्त्र दिवस

गणतन्त्रमा राजाको 'कपी' गरेको जनतालाई मन पर्दैन : रामकुमारी झाँक्री (अन्तर्वार्ता)

मङ्गलबार, १४ जेठ २०७६, १९ : ०१ नागरिक

रामकुमारी झाँक्री नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन्। गणतन्त्र स्थापनाका लागि निर्णायक मानिएको विद्यार्थी आन्दोलनमा उनी अग्रणी भूमिकामा थिइन्। त्यसक्रममा राज्यको दमनमा परी रगताम्य समेत भइन्। उनीलगायत आम जनताको संघर्षको परिणामस्वरुप देशमा गणतन्त्र स्थापना भयो। आज गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको छ। गणतन्त्रका लागि भएका आन्दोलन, गणतन्त्रको घोषणा र व्यवस्था परिवर्तनपछि नागरिकको असन्तुष्टिका विषयमा सांसद झाँक्रीसँग गणतन्त्र दिवसको सन्दर्भमा नागरिकन्यूजका कमलराज भट्टले गरेको कुराकानीः

तपाई गणतन्त्रको आन्दोलनमा कसरी लाग्नुभयो?

मेरो राजनीति नै गणतन्त्रका लागि थियो। मैले सानो समाजमा धेरै असमानता देखें। धनीले गरिबलाई दबाएको, गरिबलाई धनीले सित्तैमा काम लगाएको, ज्याला कम, चर्को ब्याजमा पैसा लगाउने, गरिबको घरमा भएको लैनो भैँसी भाडाँकुडा लैजाने, एकप्रकार लुटपाटजस्तो व्यवहार थियो त्यो। पञ्चायतकालिन व्यवस्था थियो, म एकदम सानो थिए, बालसुलभ मनस्थितीमा मलाई यो थितोमिचो किन हुन्छ भन्ने लाग्थ्यो। तर, मैले त्यसको जवाफ कहीँ पनि पाउँदैनथें। बहुदल आयो। ६/७ कक्षामा पढ्थे। २०४६ चैत २६ गते बहुदल आयो। वैशाख ३/४ गते ठूलाठूला जुलुस निकाल्यौं। त्यसो गर्दा बाहिरबाट केही सिनियर विद्यार्थी नेतासँग चिनजान भयो। उहाँहरुले पञ्चायती व्यवस्था किन भंग गर्नुपर्छ, प्रजातन्त्र पुनर्स्थापना किन भनेर सम्बोधन गर्नुभयो।

मेरो मनमा एउटा व्यवस्था फाल्दा परिवर्तन हुन्छ त? प्रश्न थियो। त्यही क्रममा एकदलीय व्यवस्था समाप्त भएर पञ्चायत आयो। दोस्रो संगठन झनै जागरुक बनायो। अनेरास्ववियुका सिनियर नेता आउनुभयो। पहिलोपटक अखिलको सम्पर्कमा पुगे। एउटा प्रशिक्षणमा भाग लिए। समाज व्यवस्था असमानतामा आधारित छ, यसलाई बदल्न सकिन्छ। असमान हुनुका पछाडि ऐतिहासिक कारण छन्, त्यसलाई हटाउने निश्चित विधि छन्, त्यो विधिबाट न्याय र समानतामा आधारित बनाउन सकिन्छ भन्ने सुन्दा मैले खोजेको कुरा त्यही हो जस्तो लाग्यो। त्यसपछि म विनाशर्त अनेरास्ववियुमा संगठित भए।

अस्ती सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो सरकार भन्नुभएछ। यो परम्परा कहाँबाट आयो, कति वैध छ? बहस गर्न चाहन्न्। तर हिजो राजतन्त्र र राजाले जेजे रजगज गरे, भाषाशैली प्रयोग गरे, तामझामपूर्ण अभिव्यक्ति भए, त्यो नेपाली जनतालाई मन पर्दैन।

एसएलसीपछि पढ्न काठमाडौं आए। काठमाडौं आएपछि सिनियर नेतासँग भेट भयो। मेरो विचारलाई फराकिलो, अलि खदिलो बनाउन सहयोग गर्नुभयो। विभिन्न प्रशिक्षणमा भाग लिए, अन्तरक्रिया गर्ने मौका पाए। आफ्ना विचारहरु कति ठिक थिए, थिएनन् जाँच्ने, अध्ययन गर्ने मौका पाए। मेरो बुझाईको दायरा बढ्दै गर्दा देशको संसदीय व्यवस्था अलिकति बद्नाम हुँदै गयो, २०५१, ५६ मा। माओवादीले संचालन गरेको जनयुद्धको प्रभाव विस्तार हुँदै थियो। त्यहीँबेला दरबार हत्याकाण्ड भयो। यी घटनाले हामीले सोचेजस्तो सरल दिशामा राजनीति गएन। बदलिनु भनेको केही थान मान्छेमात्र हो कि समाज व्यवस्था? समग्र जनतामा आउने परिवर्तन हो कि केही थान मान्छे भन्ने मेरो अनुत्तरित प्रश्न आज पनि छ।

दरबार काण्डपछाडि २०५९ सालको असोज १८ मा राजाले दलहरुको सुविधाको सहमतिमै आंशिक प्रत्यक्ष शासन लिने काम भयो। सीमित अधिकार पनि खोसियो भन्ने रुपमा हामीले बुझ्यौं। यो कस्तो व्यवस्था हो? एकातिर जनयुद्धको प्रभाव छ, संसदीय मोर्चाका आफूलाई प्रजातान्त्रिक भन्ने पार्टीहरु सदरमुकाम र सहरमा मात्रै खुम्चिएका छन्। सरकारको उपस्थिती पनि जहाँजहाँ त्यस्ता पार्टी छन् त्यहीँ छ। अर्कोतिर राजाको प्रत्यक्ष शासन छ। हामी दोहोरो मारमा पर्यौं संसदीय राजनीतिक मोर्चामा गएका विद्यार्थीहरु। हामीले निर्वाध रुपमा गाउँटोलका स्कुलमा संगठन गर्न पनि गाह्रो। सहरमा पुलिस प्रशासनको दबदबा पनि त्यतिकै थियो। राजाको कदम असंवैधानिक र गलत हो भन्नेमा दुईमत नै रहेन।

राजाको कदमको भोलिपल्टै हामीले अनेरास्ववियुको नेतृत्वमा कालोझण्डासहित जुलुस निकाल्यौं र निरन्तर असंवैधानिक कदम सच्याउन माग गर्यौं। असंवैधानिक शाही घोषणा खारेज गर भन्ने नरम नाराबाट सुरु भएको आन्दोलन हिड्दा हिड्दै नारायणहिटी दरबारको ५ सय मिटरको दुरीमा गणतन्त्र जिन्दावाद, राजतन्त्र मुर्दावादसम्म पुर्यायौं। त्यतिबेला दलहरुभित्र पनि लोकतान्त्रिक अभ्यास सहि ढंगले नभएको, समाजलाई लोकतान्त्रिकरण गर्ने परिपाटीमा पनि कमी भएको, सुशासनको अभाव, भ्रष्टाचार बढेको यी सबै कारणले राजाले प्रत्यक्ष शासन लिनलाई सहयोग गर्यो।

अर्कोतर्फ माओवादी जनयुद्ध ग्रामीण क्षेत्रमा विजयकै अवस्था थियो। यी कुराहरुले डेमोक्र्याटिक स्पेस खुम्चियो। हामी कलेजमा पढ्ने विद्यार्थीका लागि भने प्रजातन्त्र भनेको धेरै ठूलो कुरा थियो। यो खुला ठाउँबाट हामी अन्त जान सक्छौं भन्ने थियो, त्यसकारण प्रजातन्त्रमा गणतन्त्रको ऐजेण्डालाई पहिलो प्राथमिकतामा राख्यौं। यद्यपि हामीले शैक्षिक आन्दोलनबाट गणतन्त्रको नारा लगाएका हौं। म त्यतिखेर अनेरास्ववियुको ११ जनाको सचिवालयमा एउटा सदस्य एवं विभागीय प्रमुख थिए। अनेरास्ववियुमात्र होइन नेपाल विद्यार्थी संघ, अन्य वाम विद्यार्थी संगठन, प्रजातान्त्रिक विद्यार्थी संगठन, ७ विद्यार्थी संगठनको अलायन्स थियो। विद्यार्थी राजनीतिमा हामीहरुको राम्रो अण्डरस्ट्याण्डिङ थियो। एजेण्डाहरु साझा थिए।

गणतन्त्र त माओवादीको एजेण्डा भनिन्छ, तपाईहरु पार्टी (एमाले) ले स्वीकार गरेपछि लाग्नुभयो कि विद्यार्थी आन्दोलनबाट दबाब दिनुभयो?

खासमा कम्युनिस्टहरु जन्मजातै गणतन्त्रवादी हुन्। रणनीतिक हिसाबले जन्मजातै भयो। कार्यगत हिसाबले दलहरुले भन्दा छिटो हामीले उठायौं। हामीले गणतन्त्र किन भन्यौ भन्दा राजाको असोज १८ को असंवैधानिक कदमबाट प्रजातन्त्रमाथि भएको सेन्सरसीप, अतिक्रमण र बन्देजको कुरा सैह्य थिएन। २०४७ सालको संविधानलाई कुण्ठित गर्न पाइँदैन भन्ने थियो। झन २०६१ माघ १९ प्रत्यक्ष शासन लिएर २०१७ पुस १ गते फर्किनेजस्तो अवस्था आयो। त्यसपछि हामीसँग दुइटा विकल्प थिए। राजाको दमन चुपचाप स्वीकार गर्ने, पलायन हुने। अर्को त्यसका विरुद्ध लड्ने।

त्यसोहुँदा हामीले गरेको प्रयत्न के थियो भन्दा दललाई यो नारामा सहमत गरायौं। गणतन्त्र एजेण्डा क्लियर नगरी हुँदैन भन्ने कुरा। दलहरुले त प्रस्थान बिन्दु विघटिन प्रतिनिधिसभा पुनर्स्थापना र निकास बिन्दु संविधानसभा भनेका थिए। कहीँ न कहीँ गणतन्त्रको कुरा गरिएन, सहभागिताको कुरा गरिएन, पहिचानको कुरा गरिएन भने आन्दोलनले ओज लिँदैन भन्यौं। लामो गन्तव्यको कुरा तोकौं भनेर मुल पार्टीहरुलाई सहमत गरायौं। अनेरास्ववियु, नेविसंघ लगायत ७ विद्यार्थी संगठन जसले साझा मुद्दा, माग तय गरेको थियो, हामीले पार्टीको नेतृत्वलाई कन्भिन्स गर्यौं।

गणतन्त्रको उत्कर्षको लडाईमा तपाईमाथि रगताम्य हुनेगरी आक्रमण भयो, त्यो क्षणलाई कसरी सम्झिनु हुन्छ?

त्यतिखेर दमन, जेल, हिरासत हाम्रो लागि समान्य थियो। सानातिना लाठी, अश्रु ग्याँस,  रबरका गोली यी पनि हामीले पचाएकै हो। यी घटना बारम्बार दोहोरिरहे। तर, कुनै घटनामा गम्भीर घाइते हुनु दुर्भाग्य हो। खासगरी २०६२/०६३ को १९ दिने आमहड्तालको कुरा गर्दा त्यतिबेला जनता सबै सडकमा थिए, हामीले जितिसकेका थियौं। त्यतिखेर दमनको कुरा आएन, कति जनालाई दमन गर्ने?

 तर हामीमाथि सिरियस खालको दमन चाहीँ २०६९ सालको पुस माघदेखि ०६२ को पुसमाघसम्म भयो। 0६०/६१ मा हामी सबैभन्दा बढी गिरफ्तारीमा परेको, घाइते भएका थियौं। तर त्यसले हामीलाई हतोत्साहित बनाएन, हामी जित्दैछौं भन्ने भावना मनमा थियो। त्यतिबेला दमनको उत्कर्ष नै थियो। हामीले यो अन्तिम युद्ध हो भनेर गाउँ गाउँमा, टोल टोलमा कार्यक्रम गरेर नागरिकलाई जगाएर सडकमा ल्याउने काम गर्यौं। दल र दलको केही नेतृत्वसँग जनताको तमान असहमति थियो। उहाँहरुलाई त्यतिकै सुधार्ने अवस्था थिएन। हामीले पार्टी र जनताको पुलको काम गर्यौं। हाम्रो पुस्तालाई विश्वास गरेर जनता सडकमा आयो।

नेताहरुको प्रतिक्रिया के थियो?

कस्तो प्रेसर थियो भने, एक त राजाको शासन (उहाँहरु त बाहिर फालिुन भएको थियो), बाहिर माओवादीको दबदबा थियो। ७ दल र माओवादीसँग १२ बुँदे समझदारी नबन्दासम्म समस्या थियो। १२ बुँदे समझदारी बन्दै गएपछि उहाँहरुले बोकाले दाई गरेर हुँदैन भनेजस्तै दलनै अगाडि लाग्यो, एजेण्डा सेटिङ गर्यो। दलहरुले जनतालाई आश्वान गर्नुभयो। हामीले २०६२/०६३ को ऐतिहासिक क्रान्तिको १९ दिनमा लाखौं घरबाट, बस्ती टोलबाट निस्किने आधार नेपालको विद्यार्थी आन्दोलन नै हो। दियो जगाइरहने काम विद्यार्थी आन्दोलनले गरेको हो।

आन्दोलनका क्रममा तपाई रगताम्य भएको दिनको वर्णन गरिदिनुस् न?

त्यो २०६० साल पुस २३ गतेको घटना हो। त्यो बेला विद्यार्थी आन्दोलनको त्यो चरणको कार्यक्रमको अन्तिम दिन थियो। हामी विरोध कार्यक्रम सम्पन्न गरेर त्यही दिन बैठक बसेर नयाँ कार्यक्रम घोषणा गर्ने योजना थियो। तर, सात दल ७ तिर फर्केका थिए। विद्यार्थीको संयुक्त आन्दोलन पहिलेदेखि चलिरहेको थियो। त्यो दिन हामीले सांकेतिक रुपमा राजतन्त्रको मुर्दा बनाएर सहर परिक्रमा गरेर दोहन गर्ने कार्यक्रम थियो।

दोहन गर्दा रत्नपार्कमा भएको आक्रमण हो त्यो। हामी सडकमा आन्दोलन व्यवस्थापन गर्ने, नेतृत्व गर्थ्यौं। त्यो दिन रणमैदान भयो। म सख्त घाइते भए। बगबजारको रेष्टुरेन्टमा राखेको कोलाकोला, ड्युको बोतलले प्रहरीलाई हान्ने, प्रहरीले टियर हान्ने क्रमम भयो। भोलिपल्टबाट के कार्यक्रम गर्ने भन्ने थियो, म घाइते भए, यस्तो रणमैदान भयो कि त्यही नजिकैको मोडल अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल जान सक्ने अवस्था नै रहेन। मलाई रगत धेरै बगेको र टाउको फुटेको हुनाले एम्बुलेन्समा राखेर ओम अस्पतालमा लगिएको थियो। त्यो बेला सबै पार्टीको नेता भेट्न आउनुभएको थियो। गिरिजाप्रसाद कोइराला, केपी ओली, माधव नेपाल, झलनाथ खनाल, सीपी मैनाली, अमिक शेरचन सबै आउनुभयो।

त्यो दिन खाली जगाएर भएन, राजतन्त्रको सान्दर्भिकता कति छ जनमत बुझ्नुपर्छ भन्ने बहस हुनेवाला थियो। खाली गणतन्त्र भनेर भएन, किन हामी राजतन्त्रको विरुद्धमा छौं? किन गणतन्त्र चाहन्छौं, जनतालाई बुझाउनुपर्छ भनेर भोलिपल्ट हाम्रो कार्यक्रम थियो अब नेपालमा राजतन्त्रको सान्दर्भिकता कति भनेर। सिनियर नेता राखेर २४ गते त्रिचन्द्रबाट सार्वजनिक सुनवाई सुरु भयो। हामीले देशका ठूला सहरहरुमा कार्यक्रम गर्दै जाँदा पुस २३ गते ७ दलको गठबन्धन भयो। पार्टी त मिसए तर पार्टीको आन्दोलन प्रभावकारी भएन। विद्यार्थीकै प्रभावकारी थियो। जब माघ १९ को घटना भयो त्यसपछि मात्रै दलहरु प्रतिबद्ध भएर एजेण्डासहित तल आए।

तपाईहरुलाई नेतृत्वबाट दबाब आएन?

सुरुमा गणतन्त्रको कुरा गर्दा खिसिट्युरीकै भाषा ज्यादा आउँथ्यो। ए असनको गल्लीमा कराएर गणतन्त्र आउँछ भन्ने कुरा अझ ज्यादा सुनियो। पछि हाम्रो आन्दोलनको विरुद्धमा कोही बोल्न सक्ने अवस्था थिएन। हामीमाथि दोहोरो दबाब थियो, राज्यको दमन एकदमै धेरै थियो। साथीभाईहरु समूहमा सम्पर्कमा बस्नुपर्थ्यो।

गणतन्त्र घोषणा भएको दिनलाई कसरी लिनुहुन्छ?

गणतन्त्र त धेरै पछाडि घोषणा भएको हो, २०६३ जेठ १५ मा। यो स्वभाविक थियो, आन्दोलनले निम्त्याएको परिस्थिती हो। हामीले जितिरहेका थियौं। नियमित कार्यसूची थियो। तर, गणतन्त्रपछि के हुन्छ, गणतन्त्रमा के हुन्छ, यसको व्यवस्थापन कसरी हुन्छ भन्ने चुनौतीबारे सोच्थें। नयाँ संरचना, व्यवस्था कसरी स्थापित हुन्छ? कसरी सबैलाई मान्य हुन्छ भन्ने डर मनमा थियो। तर, जब राजाले पत्रकार सम्मेलन गरेर नारायणहिटीबाट बाहिरिने दृश्य देखियो, जनताको शक्ति यहाँ छ, शान्तिपूर्ण आन्दोलनले जितेको यही हो भन्ने लाग्यो। कुनै रक्तपातविना राजाले शान्तिपूर्ण रुपमा सारा जनचाहनालाई स्वीकारेर बाहिरिने निर्णय गरे, यसले हामी नेपाली मिलेर बस्न सक्छौं भन्ने सन्देश दियो।

व्यवस्था परिवर्तन त गर्नुभयो, तर नागरिकमा असन्तुष्टि अझै कायम छ नी?

यो गणतन्त्रको असन्तुष्टि होइन व्यवहारको असन्तुष्टि हो। असन्तुष्टि सबभन्दा बढी गणतन्त्रकै लागि लडेका हाम्रो पुस्ताको छ। यो व्यवस्थापछि फेरि अर्को कुन व्यवस्था  ल्याउने? फेरि राजतन्त्र स्थापित गर्न त खोज्या छैनौं। यो गणतन्त्रप्रतिको असन्तुष्टि होइन, गणतन्त्र प्राप्त गरिसकेपछिको व्यवहारप्रतिको असन्तुष्टि हो।

राजतन्त्र जनताले चाहेनन् भनेर फालिएको हो नी। गणतन्त्रमा संस्थाहरु हामीले बढीभन्दा बढी जनताप्रति उत्तरदायी, जनताले चाहेको जस्तो हुनुपर्थ्यो। राष्ट्रपति संस्था बनायौं, तर कस्तो बनायौं भन्दा पटक पटक विवादमा गिजोलिरहने। राष्ट्रपति व्यक्ति होइन संस्था हो, यो कसैले प्रश्न नठाउने खालको हुनुपर्थ्यो।

राष्ट्रपति संस्था विवादमा आउनुलाई कसरी हेर्नुहुन्छ?

मलाई एकदमै दुःख लाग्छ। त्यो संस्था हो व्यक्ति गौण कुरा हो। व्यक्तिले त संस्थाको प्रतिनिधित्व मात्रै गरेको हो। कहिले के नाममा राष्ट्रपति पटक पटक विवादमा आउने, राजतन्त्रको भन्दा बढी वैभवपूर्ण बनाउन खोज्ने, राजा र प्रजाजस्तो दर्जा देखाउन सक्ने बनाउन खोज्दा दुःख लाग्छ। बाटोमा हिड्ँदा ए तेरो गणतन्त्र राजतन्त्रभन्दा भिन्न मात्र होइन जनतासँग अलग थलग भएको छ नी भनेर सोध्दा जवाफ दिने ठाउँ रहेन।

सुधारका लागि के गर्नुपर्छ?

संवैधानिक हिसाबले राष्ट्रपति यो देशको संरक्षक र कानुन परिपालक हो। संरक्षक र परिपालकको भूमिका कार्यकारीजस्तो हुँदैहुँदैन्। उ लो प्रोफाइलमा बस्नुपर्छ। जति लो मा बस्यो समाजमा त्यति धेरै सम्मान पाउँछ। राजा वीरेन्द्रको परिवार किन प्रिय थियो? हत्या भएर मात्र होइन, वीरेन्द्र लोकप्रिय हुनुहुन्थ्यो, उहाँका छोराछोरी सबै प्रिय थिए। किन थियो भन्दा हाम्रो राजतन्त्र ज्यादै लो प्रोफाइलमा थियो। जब राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर बाहिरिँदै गर्दा त्यसपछि उहाँले असोज १८ र माघ १९ को कदम नलाचेको भए नेपालको लोकतन्त्रमा राजतन्त्रको स्पेश पनि हुन्थ्यो। उहाँले जब २०४७ सालको संविधान मासमुस गरेर नयाँ हिसाबले अघि बढ्न खोज्नुभयो, त्यसपछि राजतन्त्रको स्पेश गुम्यो। गणतन्त्रको प्रतिक राष्ट्रपति संस्था लो प्रोफाइलमा बस्नुपर्छ। तामझाम गर्ने, सैन्य घेरामा राख्ने, जनताबाट अलग बनाउने काम गर्नैहुँदैन।

दशैंमा लम्पसार परेर टिका लगाउने हो राष्ट्रपति संस्थाबाट। यो त राजा र प्रजाभन्दा पनि अझ बढी भयो। बागबजारमा एउटा फोटो स्टुडियो थियो, त्यहाँ जनताले राजाकहाँ गएर टिका लगाएको फोटो खिचेपछि ल्याएर राख्नुहुन्थ्यो। चाहिने फोटो अर्डर गरेर, ठूलो बनाएर लैजानुहुन्थ्यो। त्यहाँ त राजा वीरेन्द्रले उभिएर टिका लगाएका थिए। अनि हाम्रो गणतन्त्रमा जनता लम्पसार, प्रधानन्यायाधीश लम्पसार, आर्मी, पुलिसको चिफ सारा लम्पसार भएर टिका लाउने हो? यो भन्दा लाजमर्दो कुरा के हुन्छ?

अस्ती सरकारले ल्याएको नीति तथा कार्यक्रममा मेरो सरकार भन्नुभएछ। यो परम्परा कहाँबाट आयो, कति वैध छ? बहस गर्न चाहन्न्। तर हिजो राजतन्त्र र राजाले जेजे रजगज गरे, भाषाशैली प्रयोग गरे, तामझामपूर्ण अभिव्यक्ति भए, त्यो नेपाली जनतालाई मन पर्दैन। त्यो कुरा गणतन्त्रका संस्थाबाट गराउनु हुँदैन। मेरो सरकार, तेरो सरकारमा बहस नै जरुरी छैन। यो जनतालाई मन पर्दैन्। मन नपरेरै व्यवस्था फेरेको हो नी। त्यसकारण यो प्रयोग गर्न मिल्दैन।

रुवाण्डामा जातीय नरसंहार भयो। हुतु र अर्को जातिबीच युद्ध भयो। यो भएपछि राज्यले थर लेख्न बन्द गरे। सबैको नाम लेखियो, थर लेख्न  छोडियो। यो किन भन्दा युद्धको इम्प्रेसन हटाउन, जातीय घृणा हटाउन गरियो।

हाम्रो राष्ट्रपति संस्थालाई पनि स्थापित गर्न जनताको बीचमा प्रिय बनाउन लो प्रोफाइलमा राख्ने, राजकीय तामझाममा राजतन्त्र झल्किने काम गर्दै नगर्ने, अनावश्यक राजकीय भ्रमण पनि नगर्ने। स्कुल, व्युटीपार्लर, पसल उद्घाटन, बिहे भोज, पास्नी राष्ट्रपति भनेको यस्तो उपलब्ध संस्था हो? भोलि यस्तो ठाउँमा पुर्याइदिन्छन्। त्यही भएर राष्ट्रपति आफ्नो पदीय दायरामा बस्नुपर्छ। आफ्नो दायित्वअनुसार स्वनियम हुनुपर्छ।

यसका अलावा सामाजिक न्याय, समाजको पिधमा रहेको जनतालाई परिवर्तनको अनुभूति हुनुपर्छ। ति जनतालाई केन्द्रमा राखेर नीति, कानुन बनाउनुपर्छ।







यसमा तपाईको मत


अन्य समाचार

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

इजरायलबाट ‘मेगा रेमीट’ सेवा

‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।