६ वैशाख २०८१ बिहीबार
राजनीति

सरकारविरुद्ध खनिए नेकपाकै सांसद, अटेरी गरेको भन्दै संसदीय समितिमा चर्काे आलोचना

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन्।

नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमिप्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढीगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका हुन्। 

मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै नेकपाकी सांसद एवम् पूर्व उर्जामन्त्री ज्ञवालीले सरकारले १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाको काम अहिलेसम्म पनि अघि बढाउन नसकेकोमा असन्तुष्टि जनाइन्। उनले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि सरकारसँग माग गरिन्।

त्यसैगरी सत्तारुढ दलकै सांसद त्रिपाठीले पनि जलविद्युत आयोजनाहरुको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे। उनले मुलुकको आर्थिक समृद्धिमा योगदान दिनसक्ने जलविद्युत आयोजनाको कामलाई प्राथमिकताका साथ अघि बढाउन किन नसकेको भन्दै सरकारलाई प्रश्न पनि गरे।

सरकारले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यहरुको असन्तुष्टि छ। समितिका सदस्य पाल्देन छेपाङ गुरुङले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गरे। उनले बुढीगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न पनि सरकारलाई सचेत गराए।

सरकारले राष्ट्रिय गौरवको बुढी गण्डकी जलविद्युत आयोजनाको काम हालसम्म पनि अघि बढाउन नसकेपछि सत्तारुढ दलकै सांसदहरु सरकारविरुद्ध खनिएका हुन। उनीहरुले नलसिङ गार्ड जलविद्युत आयोजनाको कामलाई अघि बढाउन पनि सरकारलाई दबाब दिएका छन्।

प्रकाशित: १४ जेष्ठ २०७६ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App