८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्राजिलको कारागारमा झडप, १५ को मृत्यु

साओ पाउलो – ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ। अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समय अनुसार आइतबार बिहान ११ बजेबाट झडप सुरु भएको थियो।

कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रसलगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयले चक्कुको प्रयोग गरेको जानकारी दिएका छन्। उनले सो घटनाको अनुसन्धान सुरु भइसकको पनि बताएका छन्।

यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो। विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रूपमा रहेको देशमध्ये ब्राजिल पनि पर्दछ। सरकारी तथ्याङ्कअनुसार ब्राजिलमा सन् २०१८ को जुन महिनामा सात लाख २६ हजार सात सय १२ जना कैदीबन्दी रहेका थिए।

ब्राजिलमा कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन्। सन् २०१८ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो। निकै भिडभाड देखिने ब्राजिलका कारागारमा समूह–समूहबीच भीडन्त हुने गरेको छ। ब्राजिलमा कारागारभित्र दंगा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन्।
अमेजन जंगल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App