coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीलंकामा संकटकाल नलम्बिने

श्रीलंकाको सुरक्षा अवस्थालाई सुधार गर्नका लागि सुरक्षा फौजले संचालन गरेको अभियानको प्रगतिबारे छलफल गर्नका लागि राष्ट्रपतिको आधिकारिक निवासमा सोमबार भेला भएका केही कूटनीतिज्ञसँग वार्ता गर्दै राष्ट्रपति मैथ्रिपला सिरिसेना। तस्बिर ः एजेन्सी

कोलम्बो – अप्रिल २१ मा श्रीलंकामा गराइएको आत्मघाती आक्रमणहरुपछि लगाइएको संकटकाल थप नलम्बिने भएको छ। दुई सय ५० जनाभन्दा बढीको ज्यान जाने गरी गराइएका आक्रमणपछि जारी गरिएको कडा संकटकालीन कानुनलाई एक महिनाभित्र विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैथ्रिपला सिरिसेनाले सोमबार बताएका छन्। राष्ट्रपति सिरिसेनाले इसाई धर्मावलम्बीको धार्मिक पर्व इस्टरका बेला गराइएका ती बम आक्रमणपछि हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब संकटकालीन कडा कानुनको औचित्य समाप्त भएकाले संकटकाल थप नलिम्बने जिकिर गरेका हुन्।

श्रीलंकाको कानुनअनुसार एक पटकमा बढीमा एक महिनाका लागि संकटकाल घोषणा गर्न सकिन्छ

कोलम्बोस्थित अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका, बेलायत र युरोपेली मुलुकका कूटनीतिज्ञहरुसँग कुरा गर्दै राष्ट्रपति सिरिसेनाले भने, ‘श्रीलंकाको सुरक्षाकर्मीले गत अप्रिल २१ गते इस्टर पर्वका समय गरिएको आक्रमणमा सहभागी तथा जिम्मेवार सबैलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउन सफल भएको छ।’ राष्ट्रपति सिरिसेनाले गत महिनाको बम आक्रमण, जसमा दुई सय ५८ जनाको मृत्यु र पाँच सय घाइते भएका थिए, उक्त घटनाका दोषीलाई पक्राउ गर्न र दोषीलाई जेल चलान गर्नका लागि सम्पूर्ण शक्ति सेनामा नीहित गरेको थियो।

तीन छुट्टाछुट्टै गिर्जाघर र सुविधा सम्पन्न होटेलमा एकै दिन गराइएका आत्मघाती आक्रमणमा स्थानीय जिहादी समूह नेसनल तोहित जमात (एनटिजे) लाई दोषी ठहर गर्दै आक्रमणपछि उक्त समूहलाई श्रीलंकामा प्रतिबन्ध लगाइएको छ। ‘संकटकाल तत्कालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै घोषणा गरिएको थियो,’ राष्ट्रपतिको कार्यालयले सिरिसेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ। ‘तर, थप समय संकटकाल लम्ब्याउनुपर्ने अवस्था नरहेको देखिएको छ,’ उनको भनाइ उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

श्रीलंकाको कानुनअनुसार एक पटकमा बढीमा एक महिनाका लागि संकटकाल घोषणा गर्न सकिन्छ। राष्ट्रपतिले संकटकालको अवधिलाई गत  मे २२ मा पुनः एक महिनाका लागि भन्दै थप गरिसकेका छन्। रक्षा र कानुन मन्त्रालयको कार्यभार पनि आफैंले सम्हालिरहेका श्रीलंकाली राष्ट्रपति सिरिसेनाले सुरक्षा बललाई पुनः संरचना गरिएको र अब मुलुकमा आतंकवादी आक्रमणको सम्भावना नरहेको कूटनीतिज्ञहरुसमक्ष दाबी गरेको बताइएको छ। ‘आक्रमणमा संलग्न रहेको भेटिएका दोषी कि त मारिएका छन् कि पक्राउ परिसकेका छन्,’ उनले बताए। श्रीलंकाली प्रहरीका अनुसार घटनामा संलग्न रहेका १० महिलासहित सयभन्दा बढी जेल चलान भइसकेका छन्। सुरक्षाकर्मीले अरोपित थप सय जनालाई गत बिहीबारदेखि सुरु भएको चारदिने ‘कर्डन–एन्ड–सर्च’ सुरक्षा अपरेसनमा पक्राउ गरिएको बताएको छ।
 

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०५:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App