coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बजारको तरकारी उपभोग गर्दैनन् उस्ताका बासिन्दा

लमजुङ - केही अघिसम्म सदरमुकाम बेसीसहर वा नजिकैका बजारहरु खुदी, भुलभुले र ङादीबाट हरिया तरकारी र फलफूल किनेर उपभोग गर्दै आएका उस्ता गाउँका बासिन्दा हिजोआज गाउँबाटै त्यस्ता वस्तु बिक्री गर्न सक्ने भएका छन् । मस्र्याङ्दी गाउँपालिका–७ उस्ता गाउँका बासिन्दाले गाउँमै सामूहिक रुपमा हरिया तरकारी फलाउन थालेपछि उनीहरु बिक्री गर्न सक्ने अवस्थामा पुुगेका हुन् । उस्ता र उस्ताबेंसी क्षेत्रका जनजाति, दलित, बिपन्न परिवारका २१ जना कृषकले समूह बनाएर सामूहिक खेती गरेका छन् । गाउँबेंसी पौरखी कृषक समूह गठन गरेर ३५ रोपनी क्षेत्रफलमा मौसम अनुसारका तरकारी फलाउन थालिएको समूहकी अध्यक्ष उमा घले बताउँछिन् । उनका अनुसार, कृषकले काउली, बन्दा, फर्सी, काँक्रो, गोलभेंडा, बोडीलगायत तरकारी र फलफूल खेती गरिएको छ ।

उनीहरुले गत वर्षदेखि आलु खेतीबाट सामूहिक खेती गर्न थालेका हुन् । गएको वर्ष २० रोपनीमा आलु लगाइएको र उत्पादन राम्रो भएपछि यस वर्ष १५ रोपनी थप गरिएको समूहकी अध्यक्ष घलेले बताइन् । यस वर्ष करिब ४० क्विन्टल आलु उत्पादन भएको छ भने अन्य तरकारी उत्पादन गरेर बिक्री गरिँदै आइएको सो समूहकी कोषाध्यक्ष नितादेवी घलेले बताइन् । तरकारी खेतीबाट स्थानीयको आयआर्जनमा निकै टेवा पुगेको र घर व्यवहार चलाउन सहज भएको उनले बताइन् ।

तरकारीको हेरचाहका लागि समूहका सबै सदस्य पालैपालो खट्ने गरेका छन् । समूहको कोषमा प्रत्येक सदस्यले मासिक ५०–५० रुपैयाँका दरले संकलनसमेत गर्दै आएका छन् । यसअघि गाउँका उपभोक्ताले बजारबाट तरकारी खरिद गरेर उपभोग गर्दै आएकामा अहिले त्यसको ठीक विपरीत भइरहेको छ । विगतमा उपभोक्ता बन्दै आएकाहरु अहिले स्वयं तरकारी उत्पादक र बिक्रेतासमेत बनिसकेको समूहका सचिव लिलिजङ घले बताउँछन् । गाउँमा उत्पादित तरकारी र फल ङादी, भुलभुले, खुदीजस्ता बजारसम्म पु¥याउने गरिएको छ । अहिले उनीहरु बजारबाट तरकारी ल्याउनुको सट्टा गाउँबाटै तरकारी बजारसम्म पु¥याउने उनले बताए । न्यूनतम मासिक एक लाख रुपैयाँबराबरको कारोबार गर्ने लक्ष्यका साथ सामूहिक खेती थालिएकामा आफूहरु आशावादी रहेको कृषकको भनाइ छ ।

उस्ताबेंसीको सिस्नेरी फाँटमा दुई वर्षअघि तत्कालीन जिल्ला सिँचाइ डिभिजन कार्यालयले सिँचाइको व्यवस्था गरेपछि त्यहाँ खेतीबाली लगाउन सजिलो भएको मस्र्याङ्दी गाउँपालिका–७ का अध्यक्ष युवा घले बताउँछन् । सिँचाइकै व्यवस्था भएकाले स्थानीय कृषकलाई निकै सजिलो भएको छ । सामूहीक तरकारी खेतीका लागि मस्र्याङ्दी गाउँपालिकाले दुई लाख रुपैयाँ अनुदान उपलब्ध गराएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । सामूहिक तरकारी खेतीलाई थप व्यवसायिक बनाउन र कृषकलाई उत्प्रेरित गर्न सहयोग गरिएको उनको भनाइ छ ।

 

प्रकाशित: १४ जेष्ठ २०७६ ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App