८ वैशाख २०८१ शनिबार
समाज

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

पोखरा सहर । फाइल तस्बिर: नागरिक

पोखरा - स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ। लामो समयपछि स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरले कुर्सीमा मेयर मानबहादुर जिसीलगायत पदाधिकारी पाउँदा त्यो बेला नगरवासीमा निकै उत्साह छाएको थियो।

स्थानीय तहमा ‘आफ्ना नेता’ पाउँदा विकासका पूर्वाधारले गति लिनेमा नगरवासी निकै आशावादी र उत्साहित भए। त्यो उत्साहलाई स्थानीय तहका पदाधिकारीले पनि बडो जिम्मेवारीपूर्ण तरिकाले अपनत्व लिने संकेत देखाए र जनतालाई ठूलै आश्वासन पनि बाँडे। तर दुई वर्ष पुगिसक्दा पनि स्थानीय तहले सोचेजति गर्न नसकेको भन्दै जनतामा व्यापक असन्तुष्टि देखिन थालेको छ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने जनताको इच्छा, आकांक्षा र भावनाअनुसार काम नभएको बताउँछन्। ‘जनताले राज्यको पुनर्संरचना भौगोलिक रूपमा मात्र होइन, व्यवहारमा पनि परिवर्तन चाहेका थिए,’ लामिछानेले भने, ‘तर यहाँ भौगोलिक रूपमा राज्यको पुनर्संरचना भयो।

जनताका भावना समेटिएका छैनन्।’ पदभार सम्हाल्दा उनीहरूले पोखरालाई नमुना सहर बनाउने वाचा बाधे पनि त्यसअनुसार नभएको लामिछानेले बताए। ‘पोखरालाई तारले कुरूप बनाइएको छ, सडकमा खाल्डाखुल्डी छन्, पानी प्रदूषित बनेको छ। कोत्रे कटेपछि पोखराको सडक कस्तो छ भन्ने थाहा हुन्छ,’ उनले भने, ‘यी समस्या समाधान नहुँदा जनताले आस मारेका छन्।’

यी समस्या मेयरले समाधान गर्न सकेनन् भनेर आरोप लगाउन पनि नमिल्ने उनले बताए। किनकि राज्यका सबै निकाय चलाउने सामथ्र्य मेयरसँग छैन। ‘स्थानीय सरकार शक्तिशाली छ भन्दैमा पनि भएन,’ लामिछाने भन्छन्, ‘सडक, खानेपानी, विद्युत् र दूरसञ्चार क्षेत्रलाई मेयरले सञ्चालन गर्न सक्दैनन्। ती निकाय संघीय सरकारमातहत छन्।’ साथै कर्मचारीतन्त्र पुरानो हुँदा पनि काममा परिवर्तन आउन नसकेको उनको धारणा छ।

मेयर मानबहादुर जिसी भने पहिलो वर्ष कानुन बनाउन बितेको र दोस्रो वर्ष कामको प्रक्रिया अघि बढेको बताउँछन्। आफूले नेतृत्व लिएपछि गरेका कामको फेहरिस्त सुनाउँदै मेयर जिसीले कार्यसम्पादनको अधिकार वडालाई दिएको बताए। अनलाइनमार्फत जनताको काम गर्न थालेको बताउँदै उनले विकटलाई निकट बनाउन महानगरभित्रका २ सय १९ किलोमिटर सडक स्तरोन्नति भइरहेको जानकारी दिए। उनका अनुसार फेवाताल संरक्षण गर्न सर्वाेच्च अदालतको फैसलापछि पाँचवटा खोलामा सिल्टे«सन ड्याम बनाउन टेन्डर आह्वान गरिएको छ।

१५ महिने अवधिमा ३४ करोड रुपैयाँको लागतमा तालको सिल्टे«सन ड्यामको काम भइरहेको उनले जनाए। ‘महानगरभित्रको सार्वजनिक जग्गाको लगत संकलन भइरहेको छ,’ उनले भने, ‘आफूले मेयर पद सम्हालेपछि पोखरा सहरभित्र खानेपानी वितरण व्यवस्थित गर्न फिनल्यान्ड सरकारसँगको सहकार्यमा मास्टर प्लान बनाउन थालिएको छ।’

    महानगरमा यो काम सुरु भएको छ, पाँच वर्षमा त्यसको परिणाम देखिन्छ भन्ने आधार नै सुरु भएन।

दुई वर्षमा महानगरभित्रका कामलाई केही व्यवस्थित गरिएको र विस्तारै परिणाम देखिँदै जाने उनले बताए। उनका अनुसार अहिले पोखरालाई जोड्ने गरी विजयपुर, कालिखोला, तालबेंसी, फिर्के र स्याङखुदीमा पुल बनिरहेका छन्। सडक फराकिलो बनाउने काम पनि भइरहेको छ। राजमार्गको समस्या समाधान गर्ने तयारी पनि भइरहेको उनले सुनाए। ‘यो वर्ष मात्र १ सय ७५ वटा आयोजनाको टेन्डर भएको छ। धेरै आयोजना १५ महिने अवधिका छन्,’ उनले थपे, ‘ती काम पूरा भएपछि बल्ल महानगरले काम गरेको रहेछ भन्ने जनताले थाहा पाउनेछन्।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी महानगरले आधारभूत सुविधा नै पूरा गर्न नसकेको बताउँछन्। उनले भने, ‘महानगरले सानातिना काम भुलेको छ। महानगरमा यो काम सुरु भएको छ, पाँच वर्षमा त्यसको परिणाम देखिन्छ भन्ने आधार नै सुरु भएन।’ पोखरा व्यवस्थित र व्यावसायिक सहर बन्नेमा अपेक्षा रहे पनि पूरा हुन नसकेको उनको भनाइ छ।

‘पोखराबारे बौद्धिक बहस नै हुन सकेन। पोखरेलीलाई उत्साही बनाउने संकेत कतै मिलेको छैन,’ मुल्मी भन्छन्, ‘महानगरभित्र हुन नसकेका कामको जिम्मा मेयरले लिनुपर्छ। आफैंले गर्नसक्ने कामलाई कसैको मुख ताक्न जरुरी छैन।’

प्रकाशित: १४ जेष्ठ २०७६ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App