coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अप्रेसन छाडेर साथी भेटन जाँदा घाइते

सुनिल सापकोटा

काठमाडौं - आइतबार सिलिन्डर बम विस्फोटमा परेर गम्भीर भएका छोटु ठाकुरलाई आसियुमा राखिएको छ। राष्ट्रिय ट्रमा सेन्टरको इमर्जेन्सीको रेड जोनमा राखेर उपचार भइरहेका ठाकुरको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आइसियुमा राखेर थप उपचार गर्नुपरेको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवालले जनाए।

प्रवक्ता भेटवालका अनुसार सुकेधारामा बम विस्फोट हुँदा घाइते भएका ठाकुरको अवस्था गम्भीर रहेकाले आसियुमा नै राखेर विशेष उपचार गर्नुपरेको हो। ठाकुरको उपचारका लागि वरिष्ठ चिकित्सकहरूसमेतको विशेष टोली खटिएको उनले बताए। घाइते ठाकुरलाई आइसियुको २०४ नम्बर शड्ढयामा राखिएको छ। उनी सुकेधाराका सेलुन सञ्चालक हुन्।

त्यस्तै घट्टेकुलो बम काण्डमा घाइते भएका रविन केसी र शम्भु लामाको भने स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने तयारी भइरहेको प्रवक्ता भेटवालले बताए। सो बम विस्फोटमा घाइते भएका केसीले आफूलाई बम विस्फोटको विषयमा कुनै जानकारी नभएको तर एक्कासी विस्फोट भएपछि मात्र चाल पाएको बताए। उनले आमाको अप्रेसन छाडेर साथीलाई भेट्न जाँदा बम विस्फोटमा परेर घाइते हुनुपरेको गुनासो पोखे। ‘साथीले यस्तो प्लान छ भनेको भए जाँदिनथिएँ,’ केसीले भने, ‘तर उसले यो विषयमा कुनै जानकारी नदिँदा बम विस्फोटमा परियो।’

घाइते केसीको अनुहार खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। चिकित्सकको सल्लाहबमोजिम आफू डिस्चार्ज भएर घर जाने तयारीमा रहेको उनले सुनाए। केसीले अहिले पनि आफूलाई बमको त्रास रहेको र मुटु ढुकढुक भइरहेकोे बताए। उनले आफू पार्टीको कार्यकर्ताको हिसाबले भन्दा पनि साथीको हिसाबले गएको स्पष्ट पारे। ‘भाइहरूलाई आमालाई हेर्न लगाएर साथी भेट्न गएको थिएँ, आमाको अप्रेसनका बेला आफ्नो अवस्था पनि यस्तो हुन पुग्यो। दशा लागेपछि यस्तै हुँदो रहेछ। साथीले पनि झुक्यायो भन्नुपर्ला,’ घाइते केसीले भने।

प्रहरीका अनुसार केसी विप्लव माओवादीनिकट विद्यार्थी संगठनको त्रिचन्द्र कलेज एकाइ अध्यक्ष हुन्। तर केसी भने सो कुरालाई इन्कार गर्छन्। आफू विद्यार्थी संगठनमा सक्रिय अवस्थामा नरहेको केसीको दाबी छ। केसीसँगै राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत बम विस्फोटमा परेर घाइते भएका लामा भने घटनाको विषयमा खुल्न चाहेनन्।

सुकेधारामा बम विस्फोटमा घाइते भएका तीनजना बिरामीको ओम अस्पतालको सघन उपचार कक्ष उपचार भइरहेको छ। तीमध्ये एकजनाको टाउकोमा गम्भीर चोट लागेको र अन्यको पनि अवस्था अत्यन्तै गम्भीर रहेको ओम अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी श्रेष्ठले बताए। श्रेष्ठले तीनैजनालाई अप्रेसनपछि सघन उपचार कक्षमा राखेको बताए। उनका अनुसार घाइतेहरूको विषयमा कसैले आफ्नो मान्छे हो भनेर दाबी गर्न नआएकाले ‘पहिचान’ खुल्न सकेको छैन। उपचारका क्रममा मृत्यु भएका एकजनाको नाम दीपेन्द्र विक भएको श्रेष्ठले जनाए। सुकेधारामा बम विस्फोटमा परी घाइते भएका एकजनाको अस्पताल लाने क्रममा र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो।

‘अस्पतालमा उपचाररत घाइतेहरूको पहिचान खुल्ने कुनै कागजात नरहेको उनीहरूले पनि आफ्नो अवस्था खुलाउन नसकेको र घाइतेका पारिवारिक सदस्य तथा आफन्त पनि दाबी गर्न नआएकाले उनीहरूको नाम, थर, ठेगानाको विषयमा रेकर्ड राख्न सकिएको छैन। प्रहरीलाई सोध्दा पनि कहिले एउटा त कहिले अर्को नाम बताउने गरेका छन्,’ उनले भने।

‘उपचाररत घाइतेहरूको विषयमा यस्तो हुन्छ भनेर भन्न सक्ने अवस्था छैन,’ श्रेष्ठले भने, ‘एकजनाको टाउकामा गम्भीर चोट लागेको छ भने अन्यको अवस्था पनि गम्भीर रहेको छ। एक–दुई दिन उनीहरूको स्वास्थ्य अवस्था हेरेपछि मात्र थप भन्न सकिन्छ।’ उनीहरू बोल्न सक्ने अवस्थामा नरहेकाले थप बुझ्न कठिनाइ भइरहेको उनको भनाइ छ।

प्रकाशित: १४ जेष्ठ २०७६ ०१:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App