७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजधानीमा बम आतंकपछि विप्लव समूहलाई ‘प्रचण्ड’को चेतावनी

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

अध्यक्ष दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य पूरा हुन्छ भन्ने नसोच्न पनि चन्द नेतृत्वको नेकपालाई चेतावनी दिए। सोमबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुले काठमाडौंमा गरिएको श्रृखंलावद्ध बम विष्फोटको घटनापछि उत्पन्न राजनीतिक परिस्थितिबारे सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, राष्ट्रको आवश्यक्ता र जनताको चाहना पनि बम पड्काउने नभएकाले चन्द नेतृत्वको नेकपा अन्ततः सरकारसँग वार्तामा आउनुको विकल्प नरहेको तर्क पनि गरे। 

अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउँदै समाजवादको यात्रा तय गर्ने बाटोमा मिलेर काम गर्न पनि चन्द नेतृत्वको नेकपालाई आह्वान गरे। ‘हामी सबै मिलेर विकास, निर्माण र समृद्धिको कामलाई तीव्रता दिएर मुलुकलाई समाजवादको बाटोतिर नयाँ ढंगले अघि बढाउन जरुरी रहेको दाहालको भनाई थियो।

अध्यक्ष दाहालले संसदमा पेश गरिएको मिडिया काउन्सिल सम्बन्धि विधेयक आवश्यक परिमार्जनसहित पारित हुने पनि स्पष्ट पारे। उनले राष्ट्रिय एकता र समृद्धिमा केन्द्रित भएर कलम चलाउन पनि संचारकर्मीहरुलाई आग्रह गरे।

प्रकाशित: १३ जेष्ठ २०७६ ०९:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App