coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अझै उठेन लहानको फोहोर

लहानको मुख्य चोकमा थुप्रिएको फोहोर। तस्बिरः मिथिलेश यादव/नागरिक

लहान– आन्तरिक विवादका कारण दुई सातादेखि नगरपालिकाले फोहोर नउठाउँदा लहान बजार कुरूप बनेको छ। जताजतै फोहोरको डंगुर थुप्रिएपछि  नगरमा दुर्गन्ध फैलिन थालेको छ।

लहानमा पटक–पटक विभिन्न बहानामा फोहोर संकलन तथा व्यवस्थापन कार्य ठप्प हुँदा नगरवासी पिरोलिएका छन्। यसअघि साउन महिनामा पनि नगरपालिकाले फोहोर उठाउन छोडेपछि नगरमा दुर्गन्धसँगै महामारीको जोखिम बढेको थियो। त्यो बेला नेपाल विद्यार्थी संघ र तरुण दलका युवाहरू नगरको फोहोर उठाएर नगर कार्यपालिकाको परिसरभित्र फालेका थिए। त्यसपछि नगरपालिकाले फोहोर उठाउने कामलाई नियमित बनाएको थियो। अहिले नगरको फोहोर उठाउन नगरपालिकालाई घचघच्याउने काम कहींबाट भएको छैन। नगरवासीहरू सम्बन्धित वडा अध्यक्षलाई दबाब दिए पनि वडा अध्यक्षहरू नगर प्रमुख र वडा नम्बर ४ का अध्यक्षबीचको असमझदारीलाई कारण देखाउँदै पन्छिँदै आएका छन्।

नगरपालिकाले वैशाख ३१ गतेदेखि नगरको फोहोर उठाउन छोडेको छ। नगरको मुख्य चोकदेखि भित्री बजार, तरकारी बजारको फोहोर उठ्न छोडेपछि नगर फोहोरको डंगुरमा परिणत भएको छ। स्वच्छ वातावरणमा बाँच्न पाउने आशा पालेर बसेका नगरवासी फोहोरको दुर्गन्धमा बस्न बाध्य छन्।

चर्को गर्मीका कारण फोहोर भाफिएर दुर्गन्ध फैलिएको छ। तर, नगरपालिकाले फोहोर नउठाउने जिद्दी छाडेको छैन। वडा नम्बर ४ र नगरपालिकाबीच फोहोर व्यवस्थापनको विषयमा चैत महिनादेखि नै विवाद छ। वडा नम्बर ४ का स्थानीयले फोहोरमैला व्यवस्थापन केन्द्रलाई नगरपालिकाले भण्डारण केन्द्रको रूपमा विस्तार गरेको भन्दै विरोध गरेका थिए। मठमन्दिर र बस्ती नजिकै फोहोर थुपारिँदा बस्तीभर दुर्गन्ध फैलिएको भन्दै स्थानीयले विरोध जनाएका हुन्। नगरका महिलाले झाडु जुलुससहित नगर कार्यालयमा पुगेर विरोध जनाए। त्यसपछि वडाध्यक्षहरू र दलका प्रतिनिधि सहभागी समझदारी समितिले अर्को विकल्प नहुँदासम्म बलान र खुट्टी खोलाको दोभानमा फोहोर फ्याँक्न नगरपालिकालाई सुझाव दियो। नगरपालिकाका सरसफाइ इन्चार्ज शम्भु बस्नेतका अनुसार चैत महिनाबाट सोही ठाउँमा फोहार फ्याँक्ने गरिएको थियो।

वैशाख ३१ गते प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको पत्रपछि नगरपालिकाका सरसफाइ कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसहितको फौज नगरको फोहोर ट्याक्टरमा लिएर वडा नम्बर ४ मा रहेको फोहोर व्यवस्थापन केन्द्रमा फाल्न पुगे। फोहोर फ्याँक्न आएको फौज देखेर स्थानीयवासी आक्रोशित भए र प्रतिकारमा उत्रे। सरसफाइ इन्चार्ज बस्नेतका अनुसार गेटको ताल्चा फुटाएर चार वटा ट्याक्टरमा रहेको फोहोर फ्याँकेर बाहिरिन लाग्दा स्थानीय झाडु कुचो लिएर हामीमाथि जाइलागे। ‘प्रहरी दर्शक बनिदिँदा स्थानीयले हामीमाथि हातपात गरे, फोहोर फाल्ने ठाउँमा भौतिक क्षति पनि भयो,’ बस्नेतले सुनाए। आक्रोशित स्थानीयले फोहोर व्यवस्थापन केन्द्रको बाउन्ड्रीसमेत भत्काइदिएका छन्।

‘त्यो घटनापछि पनि हामी सडकको फोहोर बढारेर एक ठाउँमा जम्मा गर्दै थियौं’ बस्नेतले भने। तर, जम्मा गरेको फोहोर फाल्ने स्थान निश्चित नहुँदा सरसफाइका कर्मचारीले सफाइ गर्न छाडेको उनले बताए।

‘यो दुर्गन्ध सहेर बस्नै गाह्रो छ तर, के गर्ने पेट पाल्ने  सवाल छ खतरामा बस्नुपरेको छ, ‘सडक पेटीमा लिची बेचेर गुजारा गर्ने दुखनी मण्डलले भनिन्, ‘तर, जनप्रतिनिधिलाई जनताको भन्दा आफ्नै हठ प्यारो छ।’

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार गाउँ वा नगर सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, सरसफाइ तथा स्वास्थ्य क्षेत्रबाट निष्कासित फोहोरमैलाको व्यवस्थापन र स्थानीयस्तरमा सरसफाइ तथा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी गाउँपालिका तथा नगरपालिकाको कर्तव्यभित्र पर्छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०८:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App